Comments Add Comment

माइतीघरबाट टाढिए तीजको गीत गाउने कलाकार

गीतको बोलजस्तो रमाइलो छैन वास्तविक जीवन

shova tripathi२० भदौ, काठमाडौं । आमा र दिदीबहिनी सँगै बसेर दर खाएको निकै रमाइलो लाग्छ गायिका शोभा त्रिपाठीलाई । सानो छँदा राति उठेर आमासँगै दर खाने गरेकी शोभा तीजको दिन केही घण्टा आमा दिदी बहिनीसँगै लाइनमा बसेर पूजा गर्थिन् । तर, अहिले ती दिनहरु टाढा भएका छन् ।

पुराना दिन सम्झिँदा आफैंलाई अचम्म लाग्छ शोभालाई । ‘खै त्यसरी लाइनमा बसेर पूजा गर्न त अझै केही वर्ष पाइएलाजस्तो छैन’ शोभाले अनलाइनखबरसँग भनिन् ‘देश विदेशका दिदीबहिनीसँग तीज मान्दा मान्दै आफ्ना माइतीहरु त साँच्चै बिरानो जस्तै हुने भए ।’

सानो छँदा मलेखु बजार (घर नजिकै) को मन्दिरमा गएर पूजा गरेकी शोभाले मन्दिर घुमेर पूजा गर्न नपाएको केही वर्षै भयो । शनिवार मात्रै तीज विषेश कार्यक्रमका लागि मुम्बई गएकी शोेभा गत वर्ष पनि तीजमा जापानमा थिइन् । नेपालमै हुँदा पनि विभिन्न ठाउँवाट जानै पर्ने निम्तो आउँछ, जसले गर्दा उनले माइतीसँग बसेर तीज मनाउन पाएकी छैनन् । ‘माइतीघर नगएको त ६/७ वर्ष भयो, ‘माइती घरमा दर खान नखाएको त धेरै वर्ष भयो’ शोभाले भनिन् ।

Rashmi tamangमाइतीसँग बसेर तीज मनाउने नपाउने पीडा त्रिपाठीको मात्रै होइन । यस वर्ष ३२ वटा तीज गीतमा मोडलिङ गरेकी रश्मी तामाङलाई  पनि त्यस्तै समस्या छ ।

रश्मीलाई राम्ररी थाहा छ, तीज महिलाको आफ्नै पर्व हो । यो पर्वमा साथीभाइसंगै बसेर दर खाँदा उनलाई निकै रमाइलो लाग्छ । तर, यसपालि उनले पनि आमा दिदी बहिनीसँगै बसेर रमाउन पाइनन् ।

घरमै तीज मनाउन पाएको भए घरका मान्छेसँगै केही रमाइलो गर्ने योजना थियो । तीज विशेष कार्यक्रमका लागि हङकङ गएकी रश्मी तीज सकिएपछि मात्रै काठमाडौ आउँदैछिन् । ‘काठमाडौंमै तीज मनाउन पाएको भए छुट्टै मज्जा आउँथ्यो’ रश्मीले भनिन् ।

त्यसैगरी पार्वती राईलाई पनि माइतीसँगै बसेर तीज मनाउन निकै मन पर्छ । आमा दिदी बहिनी र साथीहरुसँगै बसेर दर खाँदा मज्जा आउँछ भन्ने पार्वतीले यसपालि पनि आफ्नो घरमा तीज मनाउन पाइनन् ।

Parbati Rai at Teej shoot 2072 (5)‘कति वर्ष भैसक्यो, घरमा तीज मान्नै पाएको छैन’ उनको भनाइ छ । मुम्बईमा हुने तीज कार्यक्रमका लागि गएकी पार्वती तीज सकेर मात्रै काठमाडौ आउनेछिन् । तीज मान्न नपाए पनि दसैं चाहिँ घरमै मान्ने योजना छ उनको ।

त्यसैगरी तीज आउनु एक महिनाअघि नै तीज विषेश कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन्, मञ्जु पौडेल । तर, जुन मुलुक पुगे पनि माइतीघरको रमझम कहिल्यै बिर्सन सक्दिनन् उनी । मञ्जु भन्छिन्-‘आफ्नो माइतीघरको जस्तो रमाइलो त कहीँ पनि हुन्न ।’

चर्चितकलाकार कोमल वलीले पनि धेरै वर्षदेखि तीज विदेशमै मान्ने गरेकी छिन् । विदेशमा रहेका नेपाली दाजुभाइवीच तिज मनाउँदा रमाइलै हुन्छ भन्ने कोमलले जन्मघर दाङमा हुने जस्तो रमाइलो चाहिँ अन्त कतै नपाइने अनलाइनखबरलाई बताइन् ।

devika-kcपछिल्लो समय आधा समय नेपाल र आधा समय विदेशमा बिताउँदै आएकी देविका केसीले पनि यसपालिको तीज कार्यक्रम कतार, बेलायत लगायतका मुलुकमा गीत गाएर मनाइन् । उनले भनिन्- ‘आमासँगै बस्न नपाए पनि आमाजस्तै माया गर्ने विदेशमा बस्नुहुने आमाहरुसँग तीज मनाएँ, रमाइलै भयो । तर, सिन्धुपाल्चोक बाँडेगाउँको रौनक कुनै पनि विदेशी मुलुकमा पाइँदैन ।

विदेश जाने होड

पछिल्लो समय धेरै गायक गायिकाको तीज विदेशमै बित्यो । सुनिता दुलाल, मुना थापा मगर, राधिका हमाललगायत धेरै गायिकाहरु अहिले विदेशी शहरमै छन् ।

त्यसैगरी पशुपति शर्मा, खुमन अधिकारीलगायतका पुरुष गायकहरु समेत अहिले विदेशमा बस्ने नेपालीहरुसँगै तीज पर्वमा रमाउँदैछन् ।

आफ्ना परिवारका सदस्यसँग घरैमा तीज मनाउन रमाइलो लाग्ने बताए पनि उनीहरु यो पर्वको अवसरमा विदेशमा आफ्ना गीतहरु विक्री गर्न, ‘च्यारिटी शो’ हरुमा पैसा कमाउन र अर्थोपार्जन गर्नका लागि विदेश डुल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment