Comments Add Comment

म यस्तो श्रीमानका लागि ब्रत बस्न चाहन्छु

म पनि नारी । अझ विवाहित नारी । साँच्चै भन्नुपर्दा विवाहपछि मैले तीजमा कहिल्यै ब्रत बसिनँ । यसो भनिरहँदा विवाहपूर्व भने म एकपटक ब्रत बसेकी छु । ब्रत बस्नुको कारण थियो, लहड, रमाइलो र अनुभवका लागि ।

logsari
लोग्शरी कुँवर

विवाहपछि तीजमा ब्रत नबस्नु मेरो आत्मनिर्णय हो । मलाई न त कसैले बस्नैपर्छ भनेर कर गरे, न त बस्नुहुँदैन नै भने ।

कहिलेकाँही ब्रत बस्दा स्वास्थ्यका लागि समेत राम्रो मानिने भनिए पनि तीजकै दिन ब्रत बस्नुलाई भने मैले कहिलेकाँही ब्रत बस्नुसँग तुलना गर्दिनँ ।

किनभने अरु बेला ब्रत बस्नु र तीजको दिन धार्मिक विश्वासका साथ ब्रत बस्नु बेग्लाबेग्लै कुरा हो । त्यसैले तीजमा ब्रत बस्दा मेरो श्रीमानको आयु लम्बिने कुरा मिथ्या हो भन्ने लाग्छ मलाई ।

श्रीमती भोको बसिदिएर श्रीमानको आयु लम्बिने कुरा मेरो दृष्टिमा धार्मिक र मानवीय दुवै रुपले गलत हो । किनकि यो कुरामा अन्धविश्वास बाहेक न त तर्क छ न त प्रमाण नै ।

हजुरआमा, आमाहरूले तीजमा पानीसमेत नपिएर ब्रत बस्नुलाई मैले अन्यथा ठान्दिनँ । तर, हालसालै विवाहित महिला अथवा अहिलेका युवा महिलाहरूले समेत निराहार ब्रत बसेर महङ्गो सारी र गरगहनामा सजिएर सार्वजनिक स्थलमा जानु त्यति शोभनीय लाग्दैन मलाई ।

करिब १२ वर्ष पहिले म एकपटक तीजको व्रत बसें । अनि आमा, भाउजूहरूले झैं व्रतका हरेक विधि र नियमहरू पूरा पनि गरे। घरमा सबै व्रत बस्नेहरूले तीजको अघिल्लो दिन पेटभरि विभिन्न परिकारका खाना (दर) खायौं ।

तीजको दिन दिनभरि पानीसमेत पिएनौं । राति करिब १०-११ बजेतिर बाहुनबाट पूजाआजा गराइसकेपछि मैले त पानी पिएँ तर भाउजूले दाइको खुट्टा धोएको अलिकतिमात्रै पानी पिउनुभयो । अर्को दिन विहान पनि पूजापाठ गरेर करिब ११ बजेतिरमात्रै भाउजूले पानी र खाना खानुभयो ।

त्यतिबेलाको पानी मलाई यति स्वादिलो र महत्वपूर्ण लाग्यो, जुन कुरा म अहिले पनि बिर्सन सक्दिनँ । दिनभरि निराहार व्रत बस्दा लठि्ठएको शरीरका कारण मलाई पूजाको बेलामा बाहुनले कर्मकाण्ड सक्ने हुन् र पानी पिउन पाइने हो भन्ने पर्खाइमा थिएँ म । अनि बाहुनले पूजामा तीजको ब्रत कथा पढेर सुनाउँदा मलाई यति धेरै रीस उठ्यो कि पूजा सकिएपछि मेरो र बाहुनको व्रत कथाका बारेमा विवाद नै भयो ।

कारण थियो, व्रत कथामा समेटिएको ‘तीजको व्रतको समयमा यदि महिलाले पानी पिएको खण्डमा नागको जन्म पाउँछे, दूध पिएमा बिरालो’………… लगायत यस्तै-यस्तै ।

बाहुन पनि बनारस पढेर आएका, नेपालमा पनि स्नातकको पढाइ गर्दै थिए । धर्म कर्मका बारेमा आफुलाई धेरै जानकारी छ भन्ने कुरामा उनलाई निक्कै घमण्ड थियो । हरेक कुरामा उत्सुकता राख्ने र यथार्थमा बाँच्न खोज्ने मेरो बानीका कारण उनीसँग पटक-पटक मेरो विवाद हुन्थ्यो ।

असल श्रीमान पाउँछु भनेर व्रत बस्नु अथवा श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्नु हामी महिलाहरू कमजोर र परनिर्भर छौं भनेर साबित गर्नुमात्रै हो

मेरी एकजना नातेदार बहिनी थिइन् । सानैदेखि आमाको सिको गर्दै उनी पनि हप्तामा दुईदिन त ब्रतमात्र बस्थिन् । त्यसका साथै हरेक तीज, एकादशी, माघे संक्रान्ती, शिवरात्री, श्रीकृष्ण जन्माष्टमी, दशै तिहार, साउने सोमबार लगायत हरेक तिथिहरूमा उनको व्रत हुन्थ्यो । यसरी व्रत बस्नुको उनको एउटै उद्देश्य हुन्थ्यो असल श्रीमानको कामना ।

विवाहको वर्ष दिन नपुग्दै तिनै नातेदारका श्रीमानले उनीमाथि कुटपिट गर्न थालेछ । कामको सिलसिलामा घर भन्दा अलि टाढा बस्ने उसको श्रीमान आफ्नै कार्यालयको एकजना महिला कर्मचारीसँग नै पल्केकाले आफुमाथि कुटपिट गर्न थालेको चाल पाएपछि उनले कुनै भगवानको व्रत गर्न छोडिनन् ।

व्रत गर्ने क्रममा अनुहारमा चाया पोतो बस्नुका साथै दाउरा जस्तै शरीर सुकेपछि पछि त श्रीमानले आफ्ना लागि श्रीमती योग्य नभएको समेत भन्न थालेछ । त्यही क्रममा उसले अहिले आफ्नै कार्यालयकी युवतीसँग दोस्रो विहे समेत गर्‍यो ।

पहिली श्रीमतीलाई श्रीमानले अर्की ल्याएपछि बहुविवाहको मुद्दा दर्ता गर भन्दा परिवारको बेइज्यत हुन्छ, म त्यसो गर्दिँन भन्छिन् । बरु टुनामुना लगायत के-के जाति गरेर श्रीमान फर्काउने बाटोमा उनी दिनरात लागेकी हुन्छिन् ।

मैले तीन थरि महिलाहरू देखेकी छु । एउटा चाँहि महिलाले व्रत गरे परिवारको दुःख कष्ट, पीर व्यथा हराउँछ र सोचेको कुरा पूरा हुन्छ भन्नेमा विश्वास गर्ने । दोस्रो, तीर्थ व्रतमा कुनै कुराको वास्ता नभएका । जस्तो पर्छ, त्यस्तै टार्ने । र, तेस्रो चाँही केही कुरा बुझेका । अर्थात भोको बसेर राम्रो हुन्छ भन्नेमा विश्वास नगर्ने ।

यी तीनथरिका महिलालाई हाम्रो अन्धविश्वासी समाजले हेर्ने दृष्टिकोण पनि त्यस्तै छ । पहिलो अर्थात तिथी मितिहरूमा व्रत बस्ने, पेट भोको राख्ने, मन्दिरमा दुई चार मुठी चावल, १०-२० अथवा सयौं पैसा चढाउने तर मन्दिर बाहिर पाँच पैसाका लागि हात थाप्नेहरूतर्फ नहेरेर जाने, आफ्नै दिदी बहिनी अथवा जेठानी देवरानी वा समाजका अन्य पीडितको दुःखको वास्तै नगर्नेहरू एकथरिका छन् ।

तर, तिनीहरू प्रायः परिवारभित्र राम्रो भनेर चिनिएका हुन्छन् । किनभने श्रीमान, छोराछोरी र परिवारको सुःख शान्तिका लागि भन्दै उनीहरू सधै व्रतको पछाडि हुन्छन् । आफ्नो पेट सुकाउन तयार हुन्छन् ।

दोस्रोथरी अर्थात जो तीर्थ व्रतको वास्तै गर्दैनन् । उनीहरूलाई समाज वा परिवार हा… त्यस्तै हो त्यो भनेर प्रतिक्रिया जनाउँछन् । अथवा राम्रो पनि भन्दैनन् र नराम्रै पनि भनिहाल्दैनन् ।

अब रह्यो तेस्रो थरिका महिलाहरूका कुरा । नेपाली समाजले उनीहरूलाई राम्रो मान्दैन । घर परिवार पनि उनीहरूप्रति खासै सन्तुष्ट हुँदैन । पेट भोको राखेर श्रीमानको आयु बढ्छ भन्ने कुनै वैज्ञानिक आधार नै नभएपछि पेटभरि खाएर आफ्नो काममा लाग्छन् ।

एकले अर्कोमाथि अन्याय गर्दा अन्याय गर्नेका बिरुद्ध बोल्छन्, त्यस्ता महिलाहरूलाई ढोंगी समाजले ‘पाखण्डी’ को उपमा दिन्छ । संस्कारविहीन आईमाई भनेर चिन्छ । समाज बिगार्ने महिला भन्ने आरोप लगाउँछ ।

हामी मूल्यांकन गरौं, असल श्रीमानको कामना गरेर वर्षमा सयौं पटक व्रत बस्ने मेरा नातेदारलाई श्रीमानले सौता उपहार दियो । एउटा महिलाको जीवनमा सौताजस्तो दुश्मन भित्र्याउने श्रीमानलाई अझ फर्केर आफुकहाँ आओस् भन्ने कामना गर्दै फेरि भोको पेट राखी व्रत बस्ने ती महिलामा अब चेतना कहिले आउला ?

उनले त बरु चाहेको र पाएको टन्न खाएर आफुलाई दुःख दिने र विवाहको केही समयमै अलपत्र पार्ने त्यो श्रीमानको विरुद्ध सशक्त भएर उभिनु पर्ने हो नि ! उल्टो पेट भोको राखेर आलश्यमा दिनरात काट्नु भनेको त उसको श्रीमानका अगाडि कमजोर छु भन्ने देखाउनु होइन र ?

असल श्रीमान पाउँछु भनेर व्रत बस्नु अथवा श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्नु हामी महिलाहरू कमजोर र परनिर्भर छौं भनेर साबित गर्नुमात्रै हो ।

विकसित देशहरूमा कुन महिलाले गर्छ र श्रीमानको लामो आयुको लागि व्रत ? अनि कुन अविवाहित युवतीले गर्छे असल श्रीमान पाऊँ भनेर ब्रत ? त्यहाँका महिलाहरू सक्षम छन्, आफ्नो खुट्टामा उभिएका छन्, राम्रो र नराम्रो के हो, छुट्याउन सक्ने क्षमता भएका छन् ।

त्यसैले अविवाहित युवतीहरू आफुलाई योग्य केटा रोज्छन् । सुःख दुःखमा साथ दिएसम्म रमाइलो तरिकालेसँगै जीवन बिताउँछन् र एक अर्काप्रति रीस, आवेग र दुःखको भावना जागृत भएमा सहजतापूर्वक स-सम्मान ढंगले कानुनीरुपमा छुट्टएिर अलग-अलग बस्छन् ।

हो, वास्तवमा मानिसमा हुनुपर्ने गुणहरू पनि तिनै हुन् । सम्मान त्यसलाई गर्न सकिन्छ जसले आफ्नो सम्मान गरेको हुन्छ । त्याग र तपस्या त्यस्तो कुरामा गर्नुपर्छ जुन कुरा वास्तविक हो । जसलाई पाउँदा आफ्नो लागिमात्र होइन, अरुका लागि पनि हितकर हुन्छ ।

मान्छे असल र खराब हुनुको एउटै कारण हो, उसले परिवार, समाज र विद्यालयबाट पाएको शिक्षा । जुन घरमा महिलालाई सम्मान गरिन्छ, हेयको दृष्टिले हेरिँदैन, त्यो घरको पुरुषले अरुका दिदी बहिनी वा आफ्नो जीवन साथीसँग कहिल्यै नराम्रो दृष्टिकोण राख्न सक्दैन । राम्रो र नराम्रो छुट्याउँछ । नराम्रो कुरा आफु पनि गर्दैन र अरुलाई पनि गर्न दिँदैन ।

कसैले भोको बसेर कसैको जीवन सुखी हुने र लामो जीवन बाँच्ने भइदिएको भए त संसारका कुनै पनि पुरुषहरू मर्ने थिएनन् होला

त्यसकारण संसारमा शिक्षा भन्दा ठूलो कुरा केही होइन । शिक्षाकै कारण मानिस असल र खराब हुन्छ । चेतना शुन्य मान्छेले असल र खराब कसरी छुट्याउन सक्छ र ? हाम्रोजस्तो मुलुकमा औपचारिक शिक्षामा डिग्री गरेकाहरूले समेत घर परिवारलाई वास्ता नगर्नु, श्रीमतीलाई दुःख दिनु, समाजको लागि भन्दा पनि आफ्नै स्वार्थका लागिमात्र काम गर्नु, अरुले नराम्रो काम गर्दैछ भन्ने थाहा पाउँदा पाउँदै पनि त्यसलाई रोक्ने तर्फ पहल नगर्नु भनेकै अव्यवहारिक शिक्षाको कमाल हो ।

कसैले भोको बसेर कसैको जीवन सुखी हुने र लामो जीवन बाँच्ने भइदिएको भए त संसारका कुनै पनि पुरुषहरू मर्ने थिएनन् होला । अनि महिलाहरू त झन् जन्मिदै मर्ने थिए होलान् । छोरी, बुहारी र श्रीमतीको स्वास्थ्य लाभ र लामो लायुको लागि कुनै बुबा र श्रीमानले पेट भोको राखेर व्रत बसेको देखेका छौं र हामीले ? यदि त्यसो होइन भने त महिलाहरूले जन्मिँदै मर्नु पर्दथ्यो होला । किनकि उनीहरूको लामो आयुको लागि कसैले पनि व्रत बसिदिँदैन् ।

आजको विज्ञान र प्रविधीको युगमा पनि महिलाहरू पुरुषमा निर्भर छन्, पुरुषको साथ र समर्थन बिना उनीहरूको जीवन सम्भव छैन भन्ने भ्रम तोड्न नदिनकै लागि पढेलेखेका, कानुन र  मानवअधिकारको कुरा जान्ने पुरुषले समेत आफ्नो आयुको लागि श्रीमानलाई दिनभर भोकै बसेको हेर्न चाहान्छन् । उनीहरू व्रत बस्नबाट रोक्न सक्दैनन् ।

व्रत बसेर, सकी नसकी ऋण निकालेर भए पनि महङ्गो सारी र गहना किनेर तीज मनाउनुको के नै अर्थ छ र ? यदि तीज हाम्रो परम्परागत पर्व हो भने पनि अब यसलाई परिमार्जन गर्न जरुरी छ

बरु उसको (श्रीमती) को ब्रत बस्न पाउने अधिकार मैले किन हनन् गर्ने भन्दै आदर्श पुरुषको स्थान लिन खोज्छन् । ब्रत बसेर राम्रो हुन्छ भन्ने अनाधार कुराको अनुशरण गर्नु स्वयं ब्रत बस्नेहरूकै लागि राम्रो होइन् । नराम्रो कुराका पछाडि दौडेर बेकारमा समय र शरीरको नष्ट गर्नु समग्र विकास निर्माणको पनि बाधक हो ।

त्यसैले व्रत बसेर, सकी नसकी ऋण निकालेर भए पनि महङ्गो सारी र गहना किनेर तीज मनाउनुको के नै अर्थ छ र ? यदि तीज हाम्रो परम्परागत पर्व हो भने पनि अब यसलाई परिमार्जन गर्न जरुरी छ ।

पेट भोकै छ भने शान्तपूर्वक सोच्नसमेत सकिँदैन । काम गर्ने कुरा त परै जाओस् । अनि व्रत बसेर पूजा गरिनुलाई मात्रै धर्मको नाम दिइन्छ भने महिलामात्रै कहाँका पापी हुन् जसले सधैंभरि अर्काकै हित र भलाइका लागि ब्रत बसिदिनुपर्ने । यो कस्तो धर्म हो, जसले पुरुष -श्रीमान) पनि महिला -श्रीमती) का लागि ब्रत बसेर दीर्घायुको कामना गर्नुपर्छ भन्दैन ।

धर्म त्यो होइन, जसले एउटाको भलाइ हुन्छ भन्ने आधारहीन कुरा गरेर अर्कोलाई दुःख दिन्छ । धर्म त त्यो हो, जसले सबैको समान हितका लागि काम गर्नुपर्छ भन्छ ।

यसरी डर देखाएको छ धर्मले

हिन्दु धर्म भन्छः जुन नारी भाद्र शुक्ल तृतीयाको दिन व्रत बस्दिन वा मनपरी खान्छे त्यो नारी सात जन्म सन्तानरहित बाँझी रहन्छे । उसले प्रत्येक जन्ममा विधवा पनि हुन्छे ।

धनहीन दरिद्र भई अनेक कष्ट भोग्नुपर्छ । सन्तान शोकले कहिल्यै सुखी हुनेछैन । हरितालिकाको व्रत त्याग्ने नारी मरेपछि पनि नरकमा जाकिने छे । व्रतमा अन्न खाए सुँगुर्नीको जन्म पाउनेछ । फल खाए बाँदर्नीको जन्म । पानी पिए जुका र दुध खाए विषालु सर्पिनी । माछामासु खाए बघिनी ।

दही खाए बिराली । मिठाई खाए कमिलाको जन्म पाउनेछे । जे पायो त्यो खाए झिंगाको जन्म पाउने छे । राति जाग्राम नबसी सुते अजिंगर्नी । पतिसित मिथ्या बोले वा ढाँटे कुखुरी हुनेछे । यसैकारण प्रत्येक नारीले प्रत्येक वर्ष व्रत गर्नुपर्छ । सुन, चाँदी, तामा वा बाँसको पत्रमा अन्न, फल, वस्त्र र भेटीसमेत राखी २५६ मुठी चामलको पूर्णपात्र दान गरी व्रत समाप्त गरेपछि सारा पाप नष्ट हुन्छ ।

तीजको ब्रत कथामा समेटिएका यी कुरा पाँच सात सय अर्थात हजारौं वर्ष अगाडिका मान्छेले विश्वास गरे होलान् । तर, यो प्रविधिको युगमा आइसक्दा पनि मान्छेलाई यस्ताखालका तर्कहीन कुरा गरेर मूर्ख बनाउनु हास्यास्पद र लज्जास्पद बाहेक केही हुन सक्दैन ।

यस्तो श्रीमानका लागि ब्रत बस्न मन छ

मलाई ब्रत बसेर श्रीमानको आयु लम्बिन्छ भन्ने कुरामा रत्तिभर विश्वास छैन । र, ब्रत बसेर भगवानको आराधना गर्दा असल श्रीमान पाइन्छ भन्ने पनि विश्वास छैन । म ब्रत बस्न चाहान्छु त्यस्तो श्रीमानका लागि, जसले मेरो भावनाको खिल्ली उडाउन नसकोस् ।

मलाई जुन कुराले पीडा हुन्छ, बारम्बार त्यही कुरा दोहोर्याएर ममाथि बज्रपात नपारोस् । म के चाहान्छु, मलाई के कुराले खुसी दिन्छ, बस् त्यही कुरा पुर्ती गर्नेतर्फ ध्यान देओस् । मेरो आत्मसम्मानमाथि ठेस पुग्ने कुनै गतिविधि नगरोस् । माया गरोस् । सम्मान गरोस् । बस् यस्तै श्रीमानका लागि म मात्रै होइन, सारा श्रीमतीहरू ब्रत बस्न तयार छन् । यद्यपि मैले ब्रत बसिदिएर अर्कोको हित हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।

विवाह गरेको महिना नपुग्दै अर्की प्रेमिका बनाएर श्रीमतीलाई वास्ता नगर्ने, कुट्ने, पिट्ने, गाली बेइजती गर्दै अपमान गर्ने श्रीमानको बानी आगामी दिनमा राम्रो होस्, उसको मन आफुबाहेक अरु केटीमा नजाओस् भन्दै मन फर्काउन ब्रत बसिरहेका महिलाहरूको त्यो सबै भ्रम हो । यो भौतिक जगतमा पनि आचरण बिगि्रएका, संस्कारहीन लोग्नेहरूका लागि निराहार ब्रत बस्ने महिलाहरूले पनि अब त्यो भ्रम त्याग्न जरुरी छ ।

अन्तमाः तीजलाई सबै महिलाको पर्व, हर्ष र रमाइलोको पर्व बनाउन जरुरी छ । तीजसँग जोडिएका पाप, धर्म, विश्वासका अर्थहिन कुरा भन्दा बाहिर राखेर महिला मुक्तिको पर्व बनाउन सके यसले सार्थकता पाउने थियो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment