Comments Add Comment

विप्लव माओवादीको महाधिवेशन उदघाटन खुलामञ्चमा, बन्दसत्र थवाङमा

जनसत्ता पुनर्गठनमा तिव्रता दिने निर्णय

Khadga Bahadur BK, Prakand
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)

२० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आउँदो फागुन पहिलो साता आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने जानकारी दिइएको हो ।

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले फागुन १ गते जनयुद्ध दिवसको दिन खुलामञ्चमा महाधिवेशन उदघाटन गर्ने र बन्दसत्र रोल्पाको थवाङमा गर्ने जानकारी दिए ।

थवाङ माओवादी जनयुद्धको उदगम थलो हो ।

महाधिवेशनको तयारीस्वरुप मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने विप्लव माओवादीले जनाएको छ ।

जनसत्ता पुनर्गठन गर्ने निर्णय

यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्णबैठकले महाधिवेशनको मिति निश्चित गरेको हो । बैठकले संघर्षका बिभिन्न कार्यक्रम पनि तय गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता विकले अब जनसत्ता पुनर्गठनमा तिव्रता दिने बताए ।

साथै जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने उनले बताए ।
विप्लव माओवादीले दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन सरकासँग माग गरेको छ ।

आफ्ना मागसहितको ज्ञापनपत्र सरकारलाई भदौ २२ गते बुझाउने निर्णय माओवादीले गरेको छ ।

भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment