३१ भदौ, काठमाडौं । सरुवाको माग गर्दै सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका करिब ३ हजार २ सय कर्मचारीहरुमध्ये शुक्रबार विभिन्न तहका ७९२ जनाको मात्रै सरुवा भएको छ ।
मन्त्रालयले एकै कार्यालयमा लामो समयदेखि बसेका कर्मचारीहरुलाई प्राथमिकतामा राखेर सरुवा गरेको हो ।
यसरी सरुवा हुने कर्मचारीहरुमा उपसचिवको संख्या ८४ जना रहेको छ । विभिन्न मन्त्रालय अन्तरगतका कार्यालयमा रहेर काम गरेका ती उपसचिवहरु मध्ये अधिकांशलाई स्थानीय विकास र गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यसपछि भूमिसुधार मन्त्रालय र भौतिक योजना तथा यातायात मन्त्रालयमा सरुवा भएर जानेको संख्या धेरै छ ।
यस्तै शुक्रबार सरुवा हुने अधिकृतहरुको संख्या ४१ छ । यसअघि बुधबार २५ अधिकृतहरुको सरुवा भएको थियो ।
नायव सुब्बा तहका २ सय ८० जनालाई मन्त्रालयले सरुवा गरेको छ । यस वर्ष सरकारले सुब्बा तहका कर्मचारीलाई सबैभन्दा बढी सरुवा गरेको हो ।
सुब्बापछि धेरै सरुवा हुने कर्मचारीमा खरिदारको संख्या बढी छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबारमात्र २ सय ४० जना खरदारको सरुवा गरेको छ । खरिदार तहका कर्मचारीहरुमध्ये हुलाक सेवामा रहेकालाई स्थानीय विकास, भूमिसुधार र भौतिक मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक, स्थानीय विकास र भूमिसुधार अन्तर्गत रहेर सरुवा हुने अधिकांशलाई हुलाक सेवामा सरुवा गरिएको छ ।
भौतिक योजना र भूमिसुधार मन्त्रालयमा सरुवा हुने खरिदारहरु अधिकांश यातायात कार्यालय, नापी विभाग र मालपोत कार्यालय जाने गर्छन् । उनीहरुलाई मन्त्रालयले असोजभरी सरुवा गर्नुपर्ने हुन्छ । संशोधित निजामती सेवा नियमावलीअनुसार भदौ महिनाभरी कर्मचारीको अन्तरमन्त्रालय र असोजभरी मन्त्रालय अन्तरगतका विभाग वा कार्यालयमा सरुवा गरिसक्नुपर्नेछ ।
यस्तै प्राविधिक सेवा तर्फका ८ खरिदारलाई पनि सरुवा गरिएको छ ।
मन्त्रालयले सामान्य प्रशासन समूह अन्तर्गत राजपत्रांकित प्रथम श्रेणीमा कार्यरत ३७ जनाको पनि विभिन्न मन्त्रालयमा सरुवा गरेको छ ।
यस्तै सरुवा हुने श्रेणीविहीन कर्मचारीहरुको संख्या ५० छ । श्रेणीविहीन कर्मचारीमा कार्यालय सहयोगी, सवारी चालक लगायत पर्छन् ।
हेर्नुहोस् सरुवा भएका कर्मचारीहरुको सूची
प्रतिक्रिया 4