Comments Add Comment

प्रचण्डसँग सन्तुष्ट छैनौं, संविधानविरोधी आन्दोलन जारी राख्छौं

 प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गर्ने टोलीमा मधेसी मोर्चाका सांसद लालबाबु राउत र जंगीलाल यादवसमेत सहभागी छन् ।

दिल्लीमा भेटिएका सांसद राउतलाई अनलाइनखबरले सोधेको छ, तपाईहरु प्रचण्ड सरकारसँग सन्तुष्ट हुनुभएको हो ? जवाफमा उनले प्रचण्ड सरकारसँग आफूहरु असन्तुष्ट रहेको बताउँदै संविधान विरोधी गतिविधि जारी राख्ने चेतावनी दिए । संघीय समाजवादी फोरमका नेतासमेत रहेका राउतसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यस्तो छः

lalbabu-rautमधेसी मोर्चाका सांसदसससमेत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनुलाई अब प्रचण्ड सरकार र मधेसी मोर्चावीच कुरा मिलेको अर्थमा बुझ्दा हुन्छ ?

यो रुपमा बुझ्दा हुँदैन । मधेसको मुद्दलाई भारतसँग कसरी सरकारले राखिरहेको छ, त्यसलाई हामीले अब्जर्भमात्रै गरेका हौं ।

कस्तो पाउनुभयो त यो भ्रमणमा ?

हामीले के पायौं भने यहाँको सरकारबाट हाम्रा मुद्दाहरुमा अहिल्यै पनि प्रचण्डजीको सरकारले जुन गम्भीरता देखाउनुपर्ने हो, त्यो देखाएको छैन । हुन त मधेसका मुद्दामा प्रधानमन्त्रीजीले ठाउँ ठाउँमा भन्नुभएको छ, थारुका मुद्दा मधेसका मुद्दा समाधान नगरिकन यो मुलुकको समस्या समाधान हुँदैन र मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्न सक्दैन । यी समस्याहरु समाधान गरेरमात्रै यो मुलुकको समस्या समाधान हुन सक्छ भनेर पटक पटक प्रधानमन्त्रीज्यूले दोहोर्याइराख्नुभएको छ ।

तर, दिल्ली त मधेसको नामसम्म पनि चर्चा भएन नि ?

प्रधानमन्त्री प्रचण्डजीले नेपाली दूतावासको कार्यक्रममा स्पष्टरुपमा भन्नुभयो कि थारुको समस्या, मधेसीको समस्या, जनजातिको समस्या समाधान गरेरमात्रै यो मुलुकमा स्थिरता हुन सक्छ । शान्ति हुन सक्छ । र, म यो समस्या समाधान गर्नका लागि तत्पर छु, म गर्छु । हामी विभिन्न बैठकहरुमा छौं, उहाँले यो कुरा दोहोर्याउँदै आइराख्नुभएको छ ।

उसोभए प्रचण्डसँग सन्तुष्ट हुनुहुन्छ ?

त्यस्तो केही भएको छैन । हाम्रो अहिले पनि यो सरकारसँग गुनासो छ । सरकारको अहिलेसम्मको गतिविधिले हामी अहिले पनि सन्तुष्ट हुन सकेका छैनौं । किनभने हाम्रा लागि हाम्रो मुद्दा नै प्रमुख हो । तर, अहिलेसम्म प्रचण्ड सरकारले जुन किसिमले पहल गर्नुपर्ने हो, त्यो गरेको छैन ।

हाम्रो विगतको अडान यथावत छ । र, हामी अहिले पनि भन्दैछौं कि मधेसको समस्या समाधान नगरिकन यो मुलुक अगाडि बढ्न सक्दैन । त्यसैले मधेसको समस्या समाधान गर्नका लागि सरकारले तत्परता देखाउनुपर्छ । मधेसी, थारु जनजातिहरुको समस्या समाधान नभई यो मुलुकमा स्थिरता हुन सक्दैन । मुलुकले विकास गर्न सक्दैन ।

तर, तपाईले यसो भनिरहँदा भारत सरकारसमेत नेपालका ठूला पार्टीहरुसँग, सरकारसँग सम्बन्ध सुधार गर्नेतिर लागिसकेको देखिन्छ, अब मधेसी दलहरु कोपभाजनमा परेका हुन् ?

यो त सानो बुझाइ हो । त्यस्तो छैन । हामीले पाए अनुसार अहिले पनि भारत मधेस मुद्दाप्रति गम्भीर छ । मधेसको मुद्दा, थारुको मुद्दा, जनजातिको मुद्दा समाधान गरेर मात्रै अगाडि बढ्न भारतले चाहेको छ ।

उसोभए तपाईको विचारमा भारतले नेपालको संविधानलाई अझैसम्म स्वागत गरेको छैन त ?

यो त पटक पटक त्यही कुरा दोहोर्याएकोजस्तो हो । पहिलेदेखि नै भन्दै आएको कुरालाई अहिले पनि त त्यही छ नि । कहाँ गर्न सकेको छ ? यो प्रचण्डजीले अहिले के गरिसक्नुभएको छ र भारतले स्वागत गर्ने ? केही पनि भएकै छैन ।

अब तपाईहरु के गर्नुहुन्छ ?

हाम्रो त आन्दोलन नै जारी छ नि । हामी त आन्दोलनमै छौं । हामी कहाँ आन्दोलनभन्दा बाहिर छौं र ? असोज २, ३ र ४ गते संविधान विरोधी गतिविधि गर्ने हाम्रो कार्यक्रम छ । मधेसी मोर्चाका सांसदहरु प्रचण्डसँगै दिल्ली भ्रमणमा आउँदैमा यो आन्दोलन रोकियो भन्ने नठाने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment