९ असोज, काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय हित र स्वाधीनता विरुद्ध गतिबिधि गर्न थालेको आरोप लगाउँदै राजधानीमा प्रदर्शन गरेको छ ।
अखिल अध्यक्ष नविना लामाको नेतृत्वमा निस्केको जुलुसका सहभागीहरुले सरकार बिरुद्ध नारा लगाउँदै राष्ट्रियताको आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
रत्नराज्य क्याम्पसबाट निस्केको जुलुस बागबजारबाट प्रदर्शनीमा मार्गमा पुगेर सभामा परिणत भएको थियो ।
हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रधानमन्त्री र गृहमन्त्रीले प्रक्रिया अघि बढाएको र नेपाल सरकार तथा भारतीय दूतावासलाई समान स्तरको हैसियतमा राख्न खोजेको आरोप अध्यक्ष लामाले लगाइन् ।
अनेरास्ववियुले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति दिन खोजिएकोमा समेत आपत्ति जनाएको छ । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा राष्ट्रिय हित विरुद्धका सम्झौता गरेको आरोप लगाउँदै अध्यक्ष नविना लामाले अखिलले अब राष्ट्रियताको पक्षमा सरकार विरुद्ध आन्दोलन थाल्ने चेतावनी दिइन् ।
लामाले भनिन्, ‘राष्ट्रवादी सरकारलाई ढाल्न भारतको योजना अनुरुप प्रयोग भएका प्रचण्डले देशविरुद्ध एकपछि अर्को गद्दारी गर्दैछन् । अब अनेरास्ववियु सरकारको भण्डाफोरमा उत्रिनेछ ।’
प्रतिक्रिया 4