३ कात्तिक, काठमाडौं । डा. विनोदकुमार साह शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रवृत्ति पाएर सन् २००० मा टर्की पुगे । उनले त्यहाँ एमबीबीएस गर्नुका साथै पेड्रियाटिक (बालबालिका) तथा नियोनेटर (नवजात शिशु) मा विशेषज्ञता हासिल गरे । अहिले उनी नेपाल फर्केर बिरामीको सेवा गरिरहेका छन् । झण्डै १६ वर्ष टर्कीमा रहेर त्यहाँको अस्पतालमा काम गर्नुका साथै पुरस्कृतसमेत भएका डा. विनोद अब नेपालका ग्रामीण भेगका वालवालिकाको सेवा गर्न इच्छुक छन् ।
टर्कीमा नेपालको शान
सुरुका झण्डै ८ महिना टर्कीमा टर्कीस् भाषा सिकेर एमबीबीएस अध्ययन सुरु गरेका डा. विनोदले टर्कीकै बालरोग अस्पतालबाट सन् २०१३ मा पेड्रियाटिकमा विशेषज्ञता हासिल गरे ।
त्यसपछि पुनः नियोनेटल विषयमा अर्को विशेषता हासिल गरेका उनलाई यस क्षेत्रमा योगदान पुर्याएवापत टर्कीस सरकारले ‘वर्ष चिकित्सक-२०१५’ को उपाधिसमेत प्रदान गर्यो । त्यसअघि सन् २०११ मा पनि उनले आफू कार्यरत अस्पतालबाट सर्वोकृष्ट वर्ष चिकित्सकको उपाधि हात पारेका थिए ।
विदेशी भूमिमा रहेर झण्डै २०५ देशका वरिष्ठ चिकित्सक एवं विभिन्न पदाधिकारी सामु टर्कीस सरकारले प्रदान गर्ने यस्तो उपाधि पाउनुु उनका लागि पनि कम गर्वको विषय थिएन । डा. विनोद सम्झन्छन्- ‘मैले करोडौं रुपैयाँ कमाएको भए पनि यो दिन देख्न पाउदैनथें होला । तर, जे देख्न पाएँ, एउटा नेपाली भएर देश-विदेशका झण्डै ५० हजारभन्दा बढी चिकित्सक तथा अन्य पदाधिकारीको उपस्थितिमा देख्न पाएँ । एउटा नेपाली भएर त्यो पुरस्कार हात पार्नु मेरा लागि ठूलै गर्वको कुरा थियो ।’
टर्कीको स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने चिकित्सकीय सर्वेक्षणमा बालरोग तथा नवजात शिशुको उपचारका क्षेत्रमा विशेष योगदान पुर्याएवापत साहलाई टर्की सरकारले सम्मान गरेको हो । टर्कीका राष्ट्रपति तथा प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँको स्वास्थ्य मन्त्रालयले पदान गर्ने उक्त पुरस्कारलाई त्यहाँ सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ठ सम्मानको रुपमा लिने गरिन्छ ।
हरेक वर्ष ‘मे १४’ तारिखका दिइने यो पुरस्कार स्वास्थ्यका क्षेत्रमा विशेष योगदान पुर्याएवापत टर्की सरकारले यो उपाधि देश विदेशका चिकित्सहरुको उपस्थितिमा एकजनालाई दिने गर्छ, जुन नेपाली नागरिकले पाए ।
सन् १९७६ मा सिराहाको विकट गाउँ गोलबजारमा जन्मेका डा. विनोदकुमार साहको त्यति बेला घर नजिकै न त कुनै अस्पताल थियो, न कुनै स्वास्थ्य चौकी । भएको एउटा अस्पताल पनि धेरै टाढा थियो ।
गाउँमा अस्पताल नभएकै कारण त्यतिबेला धेरै मानिसहरुले ज्यान गुमाउनु परेकको उनी आफैंले देखेका थिए ।
त्यतिमात्र हैन, ज्वरो आउँदा र झाडापखाला लाग्दा के गर्नु पर्छ भनेर सामान्य उपचारबारे बताइने मानिस समेत नहुँदा उनका दुई दिदीले ज्यानै गुमाउनु परेको थियो । एक दिदीको करिब साढे दुई वर्षको उमेर सामान्य ज्वरोका कारण मृत्यु भएको थियो भने अर्की दिदीको डेढ वर्षको उमेरमा झाडापखालाका कारण ज्यान गएको थियो ।
‘त्यतिबेला झाडापखाला हुँदा पानी पिउनु पर्छ भनिदिने एक जनामात्रै मानिस हुन्थ्यो भने शायद मेरी दिदीहरुले ज्यान गुमाउनु पर्दैनथ्यो होला,’ डा. विनोद भन्छन् ।
उनले त्यतिबेला गाउँमा अज्ञानताका कारण थुप्रै मानिसहरु विरामी हुदाँ स्वास्थ्यचौकीमा नगई धामीझाँक्रीकहाँ जाने गरेको बताउँदै सामान्य जानकारीको अभावमा कैयौं मानिसको मृत्यु भएको स्मरण गरे ।
उनले भने, ‘त्यतिबेलाको दृश्य देख्दा लाग्थ्यो, यस्तो रोगका लागि कसैले औषधि मात्रै बनाइदिएको भए यतिका मानिसले ज्यान त गुमाउनु पर्दैनथ्यो ।’
विनोद गाउँबाट थप अध्ययनका लागि बिराटनगरस्थित सेन्ट जोसेफ स्कुलमा कक्षा आठमा भर्ना भए । उनी त्यहाँ होस्टेलमै बसे । उनले सात कक्षासम्म गाउँकै जनता माविमा अध्ययन गरेका थिए ।
उनले ०५० मा सेन्ट जोसेफ स्कुलबाटै प्रथम श्रेणीमा एसएलसी पास गरे । त्यसपछि अस्कल क्याम्पसमा आइएस्सीका लागि भर्ना भए । लगत्तै ०५४ सालमा आईएस्सी पनि राम्रो अंक ल्याएर पास गरे । त्यसपछि उनले एमबीबीएस पढ्ने निधो गरे ।
साहले डाक्टरी शिक्षा रोज्नुको कारण थियो, आफ्नो गाउँमा बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको दृश्य । जसमा उनका आफ्नै दिदीहरु पनि परेका थिए ।
अन्ततः उनी एम्बीबीएसमा भर्ना भए । लगत्तै शिक्षा मन्त्रालयको छात्रवृत्ति मेरिट लिस्टमा नाम निस्कियो र चिकित्साशास्त्र अध्ययनका लागि उनी टर्की पुगे । टर्कीमा उनको एउटै ध्याउन्न थियो । ‘जसरी हुन्छ, राम्रो चिकित्सक बनेर विकट गाउँका मानिसहरुको सेवा गर्ने ।’
यही लगन र मेहनेतका साथ टर्कीमा आफ्नो पढाइ पूरा गरेका उनी अब नेपालमै बसेर काम गर्न चाहन्छन् ।
चक्रराजले नेपाल फर्काए
‘तर यसका लागि नेपालमा बसेर काम गर्ने वातावरण आवश्यक थियो । जुन अहिले ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले मिलाइदिएका छन् ।
टर्की सरकारबाट यति ठूलो उपाधिबाट सम्मानित भएका डा. विनोद अब आफ्नै देशमा योगदान पुर्याउने सोचाइका साथ नेपाल फर्केका छन् । र, उनी हालैमात्र धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा आवद्ध भएका छन् ।
डा. विनोदका अनुसार गत वर्ष उपाधि लिने क्रममा टर्की सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुुर्याउने ४/५ जना चिकित्सकलाई कार्यक्रममा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणालाई स्वीकार गर्दै डा. पाण्डे पनि कार्यक्रममा भाग लिन टर्की पुगेका थिए ।
तर, त्यो कार्यक्रमको प्रमुख व्यक्तित्व तथा उपाधि विजेता डा. विनोदलाई यसबारे कुनै ज्ञान थिएन । यतिसम्म कि टर्की सरकारले दिन लागेको उक्त उपाधिका लागि आफू छनौट भएको जानकारी समेत उनले अघिल्लो दिनमात्रै पाएका थिए । जुनबेला उनी टर्कीस्थित अन्कारा अस्पतालमा कार्यरत थिए ।
उपाधि लिने कार्यक्रममा डा. पाण्डेसित विनोदको भेट भयो । त्यहीँबाट डा. पाण्डेले उनलाई नेपाल ल्याउन पहल थाले ।
ग्रामीण वालवालिकाको सेवा गर्ने इच्छा
टर्कीमा हुँदा डा. विनोदलाई लाग्थ्यो, विदेशमा गएर त फरक-फरक ठाउँमा थुप्रै काम गरियो, तर आफ्नो देशका लागि भने केही गर्न सकिएन । अझ नेपाल सरकारकै छात्रवृत्तिमा विदेश पुगेका उनले मनन गरे, ‘अब आˆनै देशमा गएर केही गर्नुपर्छ ।’ लगत्तै, उनी नेपालतिर हानिए ।
हाल नेपाल मेडिकल काउन्सिलमा समेत आफ्नो नाम दर्ता गराइसकेका डा. विनोदसित अनलाइनखबरको प्रश्न थियो- नेपाल सरकारले पढ्न पठाएको तपाईले सरकारी अस्पताललाई नछानेर निजी अस्पतालमा जानुको कारण के हो ?
जवाफमा उनले भने, ‘कुनै पनि कुराको सुरुवात गर्न एउटा निकासको आवश्यकता पर्छ । त्यो निकासको व्यवस्था अहिले ग्राण्डीले सिर्जना गरिदिएको छ । तत्कालका लागि ग्राण्डी अस्पतालमा काम गरे पनि आवश्यकता अनुरुप विकट जिल्लाहरुमा पनि आफ्नो योजनाअनुरुपको बाँकी कार्य गर्दै लैजाने मेरो सोचाइ छ ।’
डा. विनोद थप्छन् – ‘मेरो मुख्य उद्देश्य भनेको कुनै पनि बालबालिकाले सामान्य उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हो । यसका लागि कटिवद्ध छु ।’
डा. विनोदले विकट जिल्लाहरुमा निशुल्क शिविर चलाउन आफु तत्पर रहेको जानकारी दिए । उनले अनलाइनखबरसित भने, ‘म निजी अस्पतालमा छु भन्नका लागि यहाँ आएको हैन । जहाँ-जहाँ आवश्यकता हुन्छ, पैसाका लागि हैन, अब म आˆनो देशका लागि काम गर्नेछु ।’
पढाइमा अब्बल अनि विदेशमा नेपालको शान राख्न सफल यस्ता प्रतिभालाई नेपाल सरकारले पनि कुनै ठोस भूमिका दिएर जनताको पक्षमा सदुपयोग गर्नेबारे सोच्ने हो कि ? प्रश्न राज्यतिर फर्किएको छ ।
प्रतिक्रिया 4