Comments Add Comment

हामीले नगरेरै हो, गरे देश बनाउन सकिन्छ

dhurmus-suntali-giranchaur-2

मेरा लागि दशैं, तिहार र छठ सबै हिजै हो, जुन दिन मैले राष्ट्रप्रमुखलाई आफुले बनाएको बस्तीको साँचो हस्तान्तरण गरें । त्यो क्षण मलाई कति खुसी लाग्यो, शब्दमा व्याख्या गर्न गार्‍हो हुन्छ । बस्ती निर्माणमा खटिएकाहरुले निकैबेर एक-आपसमा हक गर्‍यौं । हर्षका आँशु पनि आए ।

भूकम्पपछि मस्तले निदाएको पनि हिजै हो । बेलुका टेलिभिजन पनि त्यति हेरिनँ । आज एउटा सपना पूरा भयो भनेर बेलैमा सुतेँ । तर, लागेको बानी के छुट्थ्यो ? बिहान तीनै बजे नै निन्द्राले छोड्यो ।

Dhurmus Suntali work at Giranchaur (11)बस्ती निर्माण गर्दा म गिरानचौरमै बस्थेँ । पाँच सयको हाराहारीमा काम गर्ने मान्छेहरु थिए । म तीनै बजे उठ्थेँ, सबैलाई उठाउथेँ । शौचालय सीमित थियो, त्यसकारण पनि तीनै बजे उठ्नुपथ्र्यो । सबैजना एकैपटक उठे भने शौचालयको समस्या पथ्र्यो । चिया खाजा खाएर पाँच बजे त काममा जुटिसक्थ्यौं । तीन बजे उठेको बानीले छाडेन । हिजो पनि तीनै बजे ब्युझिएँ ।

राष्ट्रपतिले भन्नुभयो-अभियान देशब्यापी बनाउनुपर्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै घरहरु अवलोकन गर्नुभयो । नमूना काम गरेको भन्दै बधाइ दिनुभयो । यस्तो काम देशव्यापी गर्नुपर्ने भन्दै अभियानलाई सफल पार्न सरकारसँग सल्लाह गरेर सहयोग गर्ने कुरा गर्नुभयो ।

बस्ती घुम्नेक्रममै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सोध्नुभयो- ‘तपाईलाई कसरी यस्तो महान काम गर्ने सोच आयो ?’ मैले भनेँ-भूइँचालोपछि यस किसिमको सोच आयो ।’

dhurmus-suntali-giranchaur-4नेपालको विकासका लागि सामुहिक आवास अनिवार्य निर्माण गर्नैपर्छ भनेर मैले जानकारी गराएँ । उद्योगमन्त्रीले पनि आगामी दिनमा यही स्टाइलमा काम गर्ने वचन दिनुभयो । र, यसलाई बृहत बनाउने कुरा गर्नुभयो ।

प्रकृतिले निकै दुःख दियो

नेपालको कानुन अनुसार असार, साउन र भदौमा खोलाको ढुंगा निकाल्न पाइँदैन । तर, हाम्रो पुनर्निर्माणको काम बर्षायाममै सुरु भएको थियो । त्यसकारण नजिकै खोलामा भएको ढुंगा छाडेर  निकै पर गएर ल्याउनुपर्‍यो ।

यो वर्ष प्रकृतिले पनि निकै सतायो । पानी अत्यधिक पर्‍यो । हामी निकै दुःख गरेर गिटी बालुवा जम्मा गथ्यौर्ं । आकाशबाट परेको पानीले हामीले जम्मा गरेको बालुवा र गिटी बगाएर लान्थ्यो । त्यो देख्दा मलाई सार्‍है नरमाइलो लाग्थ्यो ।

Dhurmus Suntali work at Giranchaur (8)घर बनाउन सुरु गरिसकेकाले बनाउनैपर्ने हाम्रो वाध्यता थियो । तर, प्रकृतिले हाम्रो समस्या बुझ्ने कुरो भएन । हामी आफैंले प्रकृतिको समस्य बुझ्ने प्रयाश गर्दै काम गर्‍यौं ।

चार वृद्धलाई गुमाउनु पर्दाको पीडा

बस्तीमा चारजना बृद्ध हुनुहुन्थ्यो । उहाँहरु चारै जना काम गर्न सक्नु हुन्थेन । तर, सँधै मसँगै हिँड्नुहुन्थ्यो । म जता काममा जान्थें, उहाँहरु उतै जानुहुन्थ्यो ।

धुर्मुस र सुन्तली त हाम्रा बा-आमा हुन् भन्नुहुन्थ्यो । यस्तो घरमा बस्न पाइन्छ भनेर त हामीले सपनामा पनि देखेका थिएनौं तर, बस्न पाउने भयौं भनेर निकै खुसी हुनुभएको थियो । नयाँ घरमा बस्ने उहाँहरुको निकै ठूलो चाहना थियो ।

giranchaur_dhurmus-suntali-basti-17चारमध्ये दुईजना बृद्धको बस्ती निर्माण हुँदै गर्दा निधन भयो भने अरु दुईजनाको घर निर्माण भएपछि निधन भयो । उहाँहरुले हामीले बनाएको घर हेर्न त पाउनुभयो, तर बस्न पाउनुभएन ।  अहिले पनि मलाई उहाँहरुको यादले सताइरहन्छ । बस्तीमा पुग्यो कि उहाँहरुको अनुहार झल्झली याद आउँछ ।

उहाँहरुलाई नयाँ घरमा बसाउन पाएको भए म साँच्चै आभारी हुने थिएँ । उहाँहरुले मलाई आर्शिवाद दिनु हुने थियो । तर, मलाई आर्शिवाद दिन नभ्याउँदै उहाँहरुले संसार छाड्नुभयो ।

सास्ती कति भयो, क्रमशः भन्ने छु

भर्खर बस्ती बनेको छ । अहिले नै मलाई यस्तो समस्या पर्‍यो भन्दा कतिलाई नपच्न सक्छ । कति दुःख भएको छ, त्यो मलाई मात्रै थाह छ । दुःखका कथा क्रमशः भन्दै जाने छु ।

सुरुमा स्थानीयलाई कन्भिन्स गर्न निकै गार्‍हो भएको थियो । धुर्मुसेले पैसा उठाउन आएको हो, यसले घर बनाउँदैन भनेर भन्नेहरु धेरै थिए । यो सस्तो लोकपि्रयता खोज्दै आएको पनि भने । तर, म आफ्नो योजना पूरा गर्ने सोचमा थिएँ ।

जब बस्ती निर्माणले गति लियो, सहयोगी हातहरुको ओइरो लाग्यो । कतिले यस्तो पनि भने ‘धुर्मुसजी तपाई सहयोग स्थगित नगर्नुस् । जति उठ्छ उठाउनुस् । यहाँ कामै नगरी खाने त छन् । तपाईले त काम गर्नुभएको छ । तपाई पनि खानुस् ।’ तर, मेरो उद्देश्य पैसा कमाउने थिएन । मैले बस्ती निर्माणलाई पुग्ने पैसा उठेपछि सहयोग बन्द गरेँ ।

नगरेरै देश नबनेको हो, गरे बनाउन सकिन्छ

Dhurmus Suntali work at Giranchaur (12)म कलाकारिता क्षेत्रको मान्छे । मलाई घर कसरी बनाउने, के गरेमा सभ्य बस्ती निर्माण गर्न सकिन्छ भन्ने थाहा थिएन । तर, मैले प्रयाश गरेँ । सफल भइयो । मेरो अनुभवले भन्छ- हाम्रो देश नबनेको, हामीले नगरेरै हो, गरे देश बनाउन सकिन्छ ।

यदि राजनीतिक दलका नेताहरुले चाहने हो भने सबै सम्भव छ । अहिले राजनीति व्यवसायजस्तो बनेको छ । त्यसकारण पनि राजनितिज्ञहरु देश बनाउने कुरामा चासो दिँदैनन् ।

केहीलाई राम्रो काम गर्दा रोजीरोटी गुम्ला कि भन्ने डर छ । तर, म ठोकुवा गर्छु, जनताको साथ, समर्थन र नेतृत्वको दुरदर्शिता भयो भने देश बन्छ । बन्नैपर्छ । नबनेर सुःखै छैन ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्

नयाँ नेपाल बनाउन कति जोडी धुर्मुस-सुन्तली चाहिएला ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment