+
+
Shares

प्यूठानबासी भन्छन्- रगतको खोलो बगाउन तयार छौं तर ६ नम्बर प्रदेशमा जाँदैनौं

आन्दोलन गर्ने वातावरण नबनाइदिन सरकारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २५ गते १८:४०

pyuthan-pradesh-bibad

२५ कात्तिक, प्यूठान । पाँच नम्बर प्रदेशमा राखिएको प्यूठान जिल्लालाई ६ नम्बर प्रदेशमा राख्ने चर्चाले प्यूठानवासीमा आक्रोश बढेको छ । उनीहरुले प्यूठानलाई ६ नम्बर प्रदेशमा सारेर आन्दोलन गर्ने वातावरण नबनाइदिन सरकार र प्रमुख राजनीतिक दलहरुलाई अनुरोध गरेका छन् ।

प्यूठानबासीले बिहीबार प्रदेश परिवर्तन सम्बन्धि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम नै आयोजना गरे । उनीहरुले जिल्लामा क्रियाशील सम्पूर्ण राजनैतिक दलका नेताहरुले आ-आफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्ने निर्णयसमेत गरेका छन् ।

कार्यक्रममा बिभिन्न राजनैतिक दल, कार्यालय तथा संघसंस्थाका प्रमुख र स्थानीय प्रतिनिधिहरुको सहभागीता थियो । उनीहरुले कुनै पनि हालतमा प्यूठान जिल्लालाई प्रदेश नम्बर ५ बाट छुट्याउन नहुने बताए । ऐतिहासिक सम्बन्ध, व्यापार व्यावसाय, पर्यटन प्रवर्द्धन लगायत सबै हिसाबले प्यूठान जिल्ला प्रदेश नम्बर ५ मै उचित भएको उनीहरुको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अमर भण्डारीले प्यूठान र रोल्पालाई प्रदेश नम्बर ५ मै कायम राख्न जस्तोसुकै आन्दोलन गर्न नेपाली कांग्रेस तयार रहेको बताए ।

प्रमुख दलहरुले प्यूठान र रोल्पालाई प्रदेशनम्बर ६ मा राख्ने तयारी गरेको प्यूठानबासीको ठहर छ । सुरुदेखि नै शान्त रहेको प्यूठानलाई प्रदेश नम्बर ६ मा मिसाउने कुरा गरेर सरकारले आन्दोलनको बिउ रोप्न खोजेको उनीहरुको आरोप छ ।

त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष तुल्सीराम शर्माले प्यूठानवासी जनताको अहित हुने निर्णय नगर्न सरकारलाई चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका सहसंयोजक कृष्ण अधिकारीले सीमांकन हेरफेरको तयारीको विरोधमा काठमाडौंमा डेलिगेशन जाने बताए ।
‘मधेसी जनतालाई खुसी पार्ने बहानामा सरकारले जनताको धारणा विपरित काम गर्न हुँदैन,’ नेकपा माओवादी केन्द्रका सहसंयोजक कृष्ण अधिकारीले भने, ‘हावा नलागेर पात हल्लिँदैन । त्यसकारण हाम्रो पार्टीले प्रधानमन्त्रीलाई तत्कालै ज्ञापन पत्र बुझाउने र रोल्पा र प्यूठानको संयुक्त टिम काठमाडौंमा डेलिगेशन जाने सल्लाहसमेत भएको छ ।’

‘प्यूठानले धेरै चिज गुमाइसक्यो, अब गुमाउन चाहँदैन’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्णबहादुर खड्का, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य धनेश्वर पोख्रेल, अखण्ड नेपालका जिल्ला सचिव भरतमणी पौडेल लगायत राजनैतिक दलका नेताहरुले प्यूठानलाई प्रदेश नम्बर पाँचमै कायम राख्न जस्तोसुकै आन्दोलन गर्ने बताए । आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएमा सम्पूर्ण जिल्लावासीहरुलाई एक्यवद्धता जनाइदिन समेत उनीहरुले आग्रह गरे ।

अन्तर्क्रियामा सहभागी स्थानीयबासी दुर्गाप्रसाद श्रेष्ठले भने, ‘बरु हामी रगतको खोलो बगाउन तयार छौं तर प्रदेश नम्बर ५ बाट टुक्रिएर कतै जानेवाला छौनौं ।’

समाजसेवी अर्जुनकुमार कक्षपतिले पुरानो एतिहासलाई सम्झिँदै भने, ‘प्यूठान जिल्लाले धेरै चिज गुमाइसकेको हुँदा अब गुमाउन चाहँदैन । जनता सचेत बन्नुपर्ने आवश्यक छ ।’

कार्यक्रममा स्थानीय विकास अधिकारी इन्द्रप्रसाद बस्याल र उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने पनि सहभागी थिए ।

– राधिका भुसालको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?