Comments Add Comment

गृह मन्त्रालयबाट २५ सिडिओको सरुवा र पदस्थापन

सामान्य प्रशासन मन्त्रालय भन्छ- हामीलाई थाहा छैन

ministry-of-home-810

९ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नियम विपरित २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई काज सरुवा गरेको छ । मन्त्रालयले सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनसकेकाले सरुवाको निर्णय गोप्य राखेको छ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘हामीलाई अधिकारीक रुपमा त्यसको जानकारी छैन । मन्त्रालयको सहमति लिएको पनि छैन । अहिले काज सरुवा गरेर पछि उनीहरुलाई सोही स्थानमा सरुवा गर्ने सहमति माग्न सक्छ ।’

उनले अघि भने, ‘प्रक्रिया पूरा गरेर सरुवा भएको छ की छैन, त्यसका आधारमा गृह मन्त्रालयको संवेदनशिलता हेरेर मन्त्रालयले आवश्यक निर्णय लिन्छ ।’

नियमअनुसार कर्मचारीहरुको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्छ ।

को कहाँ ?

गृह मन्त्रालयले सरुवा गरेकामध्ये मन्त्रालयका ७ जना बरिष्ठ उपसचिवलाई विभिन्न जिल्लामा कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । अनलाइनखबरसँग कुरा गर्दै गृह मन्त्रालयले स्रोतले भन्यो, ‘बाहिर १९ जनाको सरुवा भनिएको रहेछ, २५ जनाको सरुवा भएको हो, त्यसमध्ये ७ जना वरिष्ठ उपसचिव रहेका छन् ।’

गृह मन्त्रालयले झापामा उत्तरकुमार खत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ भने मोरङमा यज्ञराज कोइरालालाई पठाएको छ ।

सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लोकनाथ पौडेलले पाएका छन् ।

यस्तै गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई नवलपरासी सरुवा गरिएको छ ।

गुल्मीमा भने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण ढुंगानालाई पठाएको छ ।

यस्तै मन्त्रालयले बाराको प्रमुख जिल्ला अधिकारीमा यसअघि सिरहामा प्रमुख जिल्ला अधिकारी रहेका बिजय मानन्धरलाई पठाएको छ ।

सिरहामा भने मन्त्रालयका वरिष्ठ उपसचिव श्रीकृष्ण श्रेष्ठलाई कायम मुकायम प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।
यसैगरी मन्त्रालयका बरिष्ठ उपसचिव उमेश ढकाललाई धादिङको कायममुकायम प्रमुख जिल्ला अधिकारी बनाइएको छ । यसअघि धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई भने मध्यमाञ्चल क्षेत्रीय प्रशासनमा पठाइएको छ ।

मन्त्रालयले गोरखाका नारायण भट्टलाई चितवनको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेर गोरखामा मन्त्रालयका सहसचिव उद्धवबहादुर थापालाई पठाएको छ ।

यस्तै मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा नारायणप्रसाद दवाडीलाई नियुक्त गरिएको छ ।

यसैगरी कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा रुपन्देहीका विष्णु ढकाल र रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा चितवनका विनोद प्रकाश सिंहलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ ।

मन्त्रालयले डोटीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयमा उपसचिव गोकर्ण शर्मालाई खटाएको छ ।

सिन्धुपाल्चोकमा कार्यवहाक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई नै कायम मुकायम प्रमुख जिल्ला अधिकारी तोकेको छ ।

यस्तै मन्त्रालयले नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई सुर्खेतमा र वरिष्ठ उपसचिव प्रदिपराज कँणेललाई सर्लाहीको कायम मुकायम प्रमुख जिल्ला अधिकारीको तोकिएको छ ।

काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शिव सिंखडालाई तोकिएको छ ।

यसअघि गृह मन्त्रालयले जेठ २७ गते ५३ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment