Comments Add Comment

कांग्रेसका २७ सांसदले भने- स्थानीय तह पुनर्संरचना जिल्लामा गरौं, हामी जान तयार छौं

२४ मंसिर, काठमाडौं । तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस सांसदहरुले स्थानीय तह पुनर्संरचनाको काम सम्वन्धित जिल्लाहरुमा नै गर्न माग गरेका छन् । साथै संक्रमणकालीन व्यवस्था अनुसार हालको गाविस र नगरपालिकालाई नै गाउँपालिका र नगरपालिका घोषणा गरी स्थानीय चुनाव गर्न माग गरेका छन् ।

Congress-Flagकांग्रेसका २७ सांसदहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सांसदहरुलाई केन्द्रमा बोलाएर सुझाव लिएकोमा आपत्ति जनाएका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगले सम्बन्धित जिल्लाहरुमा सुझाव दिनु पर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी काठमाडौंको होटलमा होइन जिल्ला जान तयार छौं । जिल्लामा नै गई समुदायका बिचमा एवं राजनीतिक दलहरुसँग सुझाव लिन स्थानीय तह पुनर्संरचना आयोगसँग हाम्रो आग्रह छ ।’

मधेस केन्द्रित दलहरुले अवरोध गरेको भन्दै आयोगले बुधबार र बिहीबार प्रदेश नम्बर २ का सांसदहरुलाई बोलाएर काठमाडौंमा छलफल गरेको थियो । र, चार दिनभित्र स्थानीय तहको पुनर्संरचना गरेर प्रतिवेदन बुझाउन प्राविधिक समितिलाई भनेको छ ।

कांग्रेसका सांसदहरुले भने जनसंख्या एवं भूगोललाई आधार मानेर गाउँपालिका र नगरपालिकाको सीमांकन गर्न माग गरेका छन् । ‘गाउँ, नगरलाई जनसंख्या छुट्याउँदा असमान वा अवैज्ञानिक जनसंख्या हामीलाई मान्य नहुने पनि प्रष्ट गर्न चाहन्छौं,’ उनीहरुले विज्ञप्तिमार्फत् भनेका छन् ।

साथै संक्रमणकालीन व्यवस्था अनुसार हालको गाविस र नगरपालिकाकै चुनाव गर्न माग गरेका छन् । ‘आयोगले सरकार समक्ष हाल भइराखेको गाउँ विकास समितिलाई नै गाउँपालिका र नगरपालिका घोषणा गरी सरकारको धारणाअनुसार चैत्र मसान्तभित्र स्थानीय निकायको निर्वाचन गरी देशलाई निकास दिन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस सांसदहरुले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको भन्दै मधेस केन्द्रित दलहरुलाई पनि स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment