Comments Add Comment

हेलिकोप्टरमा चुनवाङ पुगेका प्रधानमन्त्रीसँग ‘गुरिल्ला’ को जम्काभेट !

प्रधानमन्त्रीको टोली घर्तीगाउँ हुँदै दाङ झरेर पार्टी प्रशिक्षणमा सहभागी

prachanda-at-chunbang

९, पुस, दाङ । तस्वीरमा देखिने माला लगाएका व्यक्ति प्रधानमन्त्री प्रचण्ड हुन् । तर, यो तस्वीर जनयुद्धकालमा खिचिएको होइन, शनिबारै खिचिएको ताजा तस्वीर हो । प्रधानमन्त्रीको छेवैमा वायाँतिर लड्ठी लिएर उभिएका माओवादी ‘गुरिल्ला’ प्रचण्डका वर्तमान अंगरक्षक होइनन्, बरु प्रधामन्त्रीका अंगरक्षक त दायाँतिर उभिएका छन्, सुटमा सजिएर ।

तथापि माथिको तस्वीरले प्रधानमन्त्री प्रचण्ड र जनयुद्धका कमाण्डर प्रचण्डको दुई फरक भूमिकालाई कन्ट्रास्ट गराउँछ । तस्वीरको पृष्ठभूमिमा देखिएको घर र ढोका त्यही नै हो, जहाँ प्रचण्ड भूमिगत कालमा सेल्टर लिएर बसेका थिए । र, यो घरलाई शनिबारदेखि प्रधानमन्त्रीले ‘जनयुद्ध संग्रहालय’ बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार बिहानै माओवादीका बरिष्ठ नेताहरुसहित रुकुमको चुनवाङ पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्रहालय’ को उदघाटन गरेका हुन् ।

prachanda-at-chunbang-3

माओवादी जनयुद्धकालमा चर्चामा रहेको ऐतिहासिक चुनवाङ बैठकस्थलको प्रधानमन्त्रीले निरीक्षण गरे । र, सो बैठकस्थललाई जनयुद्ध संग्रहालय बनाउने घोषणा गरे ।

काठमाडौंबाट हेलिकोप्टरमा सीधै चुनवाङमा ओर्लिएका प्रधानमन्त्री प्रचण्डले भावुक हुँदै जनयुद्धकालमा आफूले सेल्टर लिएको घर र कोठाहरुको अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, टोपबहादुर रायमाझी लगायतका नेताहरु रुकुमको उक्त ऐतिहासिक घरमा पुगेका थिए । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत सरकारी कर्मचारी पनि माओवादी नेताका साथमा थिए ।

चुनवाङ बैठकबाटै माओवादी पार्टीले शान्ति प्रक्रियामा आउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो स्थलको ऐतिहासिक महत्व रहेको बताए ।

विगतमा लोकेन्द्र विष्टमगर पर्यटन तथा संस्कृतिमन्त्री रहेका बेला चुनवाङ बैठकस्थललाई सरकारले संरक्षण गर्ने निर्णय गरेको थियो । त्यसपछि यहाँ कम्पाउण्डसमेत गरिएको छ । बैठक बसेको घरलाई संरक्षण गरेर राखिएको छ, जसलाई शनिबार प्रधानमान्त्रीले जनयुद्ध संग्रहालयका रुपमा औपचारिक उदघाटन गरेका छन् ।

prachanda-at-chunbang-2

प्रधानमन्त्री प्रचण्डले यहीँबाट शनिबार गुरिल्ला ट्रेल अर्थात गुरिल्ला पदमार्गको समेत उदघाटन गरे ।

पर्यटकीय रुटका रुपमा परिकल्पना गरिएको गुरिल्ला टे्रकिङले रुकुम रोल्पाका साथै डोल्पालगायतका जिल्लालाई जोड्छ ।

गुरिल्ला पदमार्गबारे विस्तृतमा यहाँ पढ्नुहोस्: यो हो गुरिल्ला पदमार्ग (फोटोफिचर)

प्रधानमन्त्री प्रचण्डले गुरिल्ला पदमार्गको औपचारिक उदघाटन गरिसकेपछि रोल्पाको घर्ती गाउँ पुगेर शहीद मार्गको निरीक्षण गरे । सो क्रममा प्रधानमन्त्रीले बाटो निर्माणको काम चाँडो सक्न र बजेट आवश्यक परे आफूलाई भन्न आग्रह गरे ।

चुनवाङ हुँदै रोल्पाको घर्तीगाउँ पुगेर ‘शहीद मार्ग’ निरीक्षणपछि प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यकर्ताको प्रशिक्षणका लागि दाङको घोराही झरेका छन् ।

prachanda-at-chunbang-1

घर्तीगाउँबाट प्रधानमन्त्रीको टोली हेलिकोप्टर चढेर शनिबार मध्यान्ह दाङको घोराही झर्‍यो । त्यहाँ प्रधानमन्त्रीले जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यसपछि घोराहीमा ५ नम्बर प्रदेश स्तरीय नेकपा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र प्रधानमन्त्रीले पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले अनलाइनखबरलाई बतायो ।
प्रशिक्षण कार्यक्रम सकेर प्रधानमन्त्री आजै काठमाडौं र्फकने कार्यक्रम छ ।

तस्वीर स्रोत: प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment