+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
सम्झनामा भूपी शेरचन :

हो, यो हल्लै-हल्लाको देश हो …

श्यामल श्यामल
२०७३ पुष १२ गते ११:५०

आज पनि नेपाललाई हल्लै हल्लाको देश भन्नेहरुको कुनै कमी छैन । र, यसो भन्नुको मुख्य कारण भूपी शेरचनको कविता ‘यो हल्लै-हल्लाको देश हो’ ले स्थापित गरेको मिथक नै हो । यो कविता भूपीले ५ दशक अगाडि लेेखेका थिए । भूपीले यो कविता कुन परिवेशमा लेखेका थिए र यो किन आजसम्म यति सान्दर्भिक जस्तो भइरहेको छ ? यस बारे हामीले कवि श्यामललाई सोधेका छौं । प्रस्तुत छ, भूपीको कवितामाथि श्यामलको समीक्षाः

shyamal-2

‘यो हल्लै-हल्लाको देश हो’ कविता ०२४ सालको रुप-रेखा पत्रिकामा छापिएको थियो । भूपी शेरचनले यो कविता ०२३/२४ सालतिर लेखेको हुनुपर्छ । जतिबेला पञ्चायती व्यवस्थामा समाज अलिक कठोर थियो, अहिलेको जस्तो खुलापन थिएन ।

उतिबेलाको बन्द समाजदेखि अहिलेसम्म हल्लामा आधारित समाजको गति र ताल उही देखिन्छ । यसैले अहिले पनि यो कविता उत्तिकै सान्दर्भिक छ । समाजमा कसैको जीवन नै धरापमा पर्ने गरी हल्ला चल्छ । समाजको हल्लाखोर चरित्रको त्यही गुढ रहस्यलाई उदांगो पार्ने कविता हो यो ।

यो कविता लेखिनुको पृष्ठभूमि के थियो भनेर हामी हेरौं । भूपिको जुन किसिमको परिमार्जित र प्राञ्जल भाषा छ, त्यसबाट उनी कुनै कुरामा एकैचोटि प्रभावित भएर तत्काल कविता लेख्थे भन्ने देखिँदैन । लामो चरणबाट नेपाली समाजको अध्ययन गरेपछि उनले यो कविता लेखे ।

उडन्ते समाज, झुटको साम्राज्य

कवितालाई सूक्तिमय बनाइएन भने त्यो जनमानसमा प्रचलित हुँदैन । केही न केही असाधारण अभिव्यक्ति भयो भने त्यो कविता हुने हो । त्यस कारण कविता भनेको भाषाको पनि भाषा हो । ‘यो हल्लै-हल्लाको देश हो’ कवितामा त्यो विशिष्टता छ ।

भिडियो

नेपाली समाजमा पहिल्यैदेखि चलिआएको उखान छ, ‘हावा नचली पात हल्लिँदैन ।’ उखानले हल्लाको पछाडि केही न केही वस्तुगत आधार हुन्छ भनेर पुष्टि गरेको छ । भूपिको कविता भनेे त्यसलाई खण्डन गर्ने हिसाबले आएको पाइन्छ । किनभने वस्तुगत आधार नभईकन पनि हल्लाहरु हुँदा रहेछन् र त्यसले झुटको साम्राज्य फैलाउँदो रहेछ भन्ने कुरा देखाइएको छ ।

यो कविता हेर्दा उनले नेपाली समाज र संस्कृतिको गहिरो अध्ययन गरेका थिए भन्ने कुरा बुझिन्छ । कविताभित्र एक ठाउँमा ‘खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा/त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ’ भनिएको छ । त्यसमा गहिरो अर्थ लुकेको छ ।

नेपाली समाजको जगमा पनि हल्ला छ भनिएको हो । अर्थात् समाजको इतिहासदेखि नै हल्ला अर्थात् झुट छ भन्ने अर्थ बोलेको छ । हल्ला भनेको सत्य होइन । झुटले सत्यलाई विस्थापन गरिदिएको छ । जुन असतमाथि उनले प्रहार गरे, त्यो नेपाली समाजको आधारभूत गलत चरित्र हो ।

घरको जग भनिए पनि व्यक्तिको जीवन प्रणालीको जगतर्फ पनि संकेत गरिएको छ । हाम्रो जीवनप्रणालीमा हल्लाको स्थान एकदम बढी भयो । जीवनमा सत्य, योग्यता र सही सूचनाले अझै ठाउँ लिन सकेको छैन ।

यो कविता किन यतिविघ्न लोकप्रिय भएर जनजिब्रोमा हल्लै-हल्लाको देश भनेर झुन्डियो भने हामी सबैलाई यो हल्लाले कतै न कतै केही फरक पारिदिएको छ । जीवनमा गलत सूचना फैलाएको छ । जे हुनुपर्ने हो, त्यो नभइदिएको र जे नहुुनुपर्ने हो, त्यो भइदिएको अवस्थामा पुर्‍याइदिएको छ ।

नेपाली समाजले हल्लामा विश्वास गर्ने, वस्तुगत आधार नखोज्ने, केही कुरामा तत्कालै प्रतिक्रिया जनाइहाल्ने चरित्र बाँच्दै आएको छ । हल्लाखोर प्रवृत्तिले हामीलाई खोक्रो र उडन्ते खालको जीवन बाँच्नका निम्ति मात्र प्रेरित गर्छ ।

हामी उडन्ते कुरामा विश्वास गर्छौं, त्यसको यथार्थ जान्नेतिर लाग्दैनौं । हिजो केपी ओलीले देशमा यसो गर्छन् रे भनिन्थ्यो, आज प्रचण्डले यसो भने रे भनेको सुनिन्छ । पछिल्लो समय त झन् अमेरिकामा डोनाल्ड ट्रम्पले यस्तो नीति लागू गर्दै छन् रे भनेर हल्ला चलेको पाइन्छ । भूपिको समयको कुरा गर्दा ०१९ सालमा राजा महेन्द्रले वर्ग समन्वयमा आधारित समाज निर्माण गर्ने कुरा गरेका थिए, त्यो पनि आखिर हल्लैमा सीमित भयो ।

भूपि ०१२ सालतिर बनारसमा बसेर पढे । त्यसै क्रममा कम्युनिष्टहरुको संगतमा लागेका थिए । ०१७ सालको राजनीतिक परिवर्तनपछि उनको जीवनसँगै नेपाली समाजको अध्ययनमा पनि उनमा परिवक्वता आउँदै गयो । उनी कम्युनिष्ट पार्टीमा लागे । त्यस क्रममा त्यहाँभित्र हुने अर्को खालका हल्लाहरू पनि उनले भोगे होलान् ।

समाजमा चल्ने विभिन्न खालका हल्ला र आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गरेको हल्लाको आधारमा पनि उनले त्यो कविता लेखेको हुन सक्छ ।

योग्यतामा प्रश्न, राज्यको पाखण्ड

हल्लै-हल्लाको देश कवितालाई आजको नेपालको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक लगायत सबै इन्डिकेटरमा लगेर तुलना गर्दा भूपि सही थिए भन्ने देखिन्छ । हाम्रो समाजलाई पढेर यहाँको कहिल्यै ननाशिने चरित्र र प्रवृत्ति खुट्याएका रहेछन् । उनी दूरदर्शी रहेछन् ।

shyamal-6त्यो बेला उनले लेखेका नेपाली समाजको विडम्बना अहिले पनि उस्तै अवस्थामा छ । यो कविता आज पनि सान्दर्भिक छ र अबको कयौं वर्षपछि पनि सान्दर्भिक हुन्छ भन्ने देखिन्छ । किनकि संस्कृति र चिन्तन भन्ने कुरा तत्काल फेरिने कुरा होइन । नियम बनाएर होइन, चिन्तन प्रणालीले सिस्टम बदलिने हो ।

विकास, पूर्वाधार, शिक्षामा पहुँच र हाम्रो जीवनशैलीमा केही फेरबदल आए पनि हाम्रो चिन्तनको धरातल फेरिन सकेको छैन । तपाईंले सूचनामा पहुँचको लाभ लिनुभो, तर त्यसले जीवनमा के फरक पार्‍यो त ? समग्रमा गुणात्मकमा त केही फरक आएन । अझै पनि हामी सही र गलत सूचना छुट्याउन नसक्ने अवस्थामा छौं ।

कवितामा भूपीले ‘कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु/जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्’ भनेर लेखेका छन् । यो पंक्तिले नै हाम्रो सिंगो राज्य संयन्त्रको धरातलतर्फ संकेत गर्छ । यो कविता अहिलेको समयमा जोड्ने हो भने राज्यका सञ्चालक, एकेडेमीका प्राज्ञहरुलाई हेर्दा सङ्गीत प्रतियोगिताका बहिरा जजहरु जस्ता छन् । अर्थात् जहाँ योग्यता र क्षमताको कदर हुँदैन ।

यस्तो देश हल्लाहरु अर्थात् असत्यमै बाँचिरहेको हुन्छ । हल्लाहरुमा रमाएर सत्यको खोज नगर्ने समाज त आखिरमा समाप्त हुन्छ ।

यो कविताले नेपाली समाजको दुइटा विपरीत स्थिति तथा विडम्बनालाई बुझाउँछ । देशमै एकातिर दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ, अर्कातिर खडेरी र अनिकालको समाचार पनि आइरहेको हुन्छ । एकातिर ५० किलोको फर्सी फलाउने किसानले सम्मान पाउँछ, अर्कातिर मान्छे खान नपाएर मरिरहेको हुन्छ । त्यो त राज्यको पाखण्ड हो । यो विडम्बनालाई उनले राम्रोसँग खोतलेका रहेछन् ।

भूपी दूधले नुहाएका छैनन् तर…

bhupi-serchan
भूपी शेरचन

कुनै पनि मान्छे दोषरहित हुँदैन । भूपी पनि दूधैदूधले नुहाएका थिएनन् । तर, उनका केही अवगुण र खोटलाई अगाडि ल्याएर उनले समाज र साहित्यमा पुर्‍याएको योगदान छायामा पार्ने काम गरिन्छ भने त्यो अत्यन्तै घातक हो । हामीले उनको सृजन क्षमता हेर्ने हो ।

 

हो, व्यक्तिको जीवनशैली र आनीबानी पनि सन्तुलित हुनुपर्छ । तर, त्यसकै बहानामा उसलाई विवादमा तान्ने र समग्र मूल्यांकनलाई खुइल्याउने काम असह्य हुन जान्छ ।

भूपीको जीवनशैली सुविधाभोगी खालको थियो, उनी स्त्रीको पछि लाग्थे, कम्युनिष्ट भएर दरबार पसे भन्ने जस्ता आलोचनाले घेरेको पाइन्छ ।

उनको जीवनशैलीको बारेमा आलोचन गर्नेहरुले के बुझ्नुपर्छ भने उनी मुस्ताङ थाकखोलाका नामुद व्यापारी हितमानका छोरा पनि थिए । त्यसबेलाका अर्बपति थिए हितमान । त्यति हुँदाहुँदै पनि थकाली परिवारका भूपी साहित्यमा लागेर संघर्ष गरे । कम्युनिष्ट भएर देश-दुनियाँको राम्रो सोचे । यो सकारात्मक कुरा हो । हामीले यसरी पो हेर्नुपर्छ ।

उनी नारीप्रति विशेष अनुराग राख्थे भने पनि त्यसलाई उनको सिर्जनासँग मिसाएर हेरिनु उचित हुँदैन । त्यसो गर्नु पूर्वाग्रह मात्र हो ।

सामाजिक यथार्थमा व्यङ्ग्य छेड्दै कविता लेख्ने स्वतन्त्र कवि पञ्चायती राजतन्त्रको बेला प्रज्ञा-प्रतिष्ठान छिरे । उनले त्यसो नगरेको भए राम्रो हुन्थ्यो । केशरजंग रायमाझीको कम्युनिष्ट पार्टीमा आबद्ध भएका भूपि एकेडेमीमा गएपछि कतिपयले उतिबेला रायमाझीले कम्युनिष्टलाई दरबार छिराए पनि भनेका थिए ।

त्यति हुँदाहुँदै पनि भूपीको योगदान भुल्न सकिँदैन । उनका केही दोष छन् भने पनि उनका गुणका अघि त्यो निकै कम हुन जान्छ । उनको गुण र सिर्जना शक्ति भारी छ ।

(कुराकानीमा आधारित)

हल्लैहल्लाको देश

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्

र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोका अगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बियर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिना उपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

(२०२४-रूपरेखा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?