४ माघ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिएर मात्र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव टुंगो लगाउने भएको छ ।
समितिले मंगलबार छलफलका लागि बोलाएका विज्ञहरुले दिएको सुझावअनुसार महान्यायाधिवक्ताको सुझाव लिएर मात्रै कार्की विरुद्धको महाअभियोग प्रस्तावको टुंगो लगाउने निर्णय गरेको हो ।
छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानालाई बोलाइएको थियो ।
तर, तत्कालीन अन्तरिम मन्त्रिपरिषद सदस्य र कार्कीलाई सिफारिस गर्ने संवैधानिक समितिको समेत सदस्य रहेकाले आफूले राय दिन नमिल्ने उनले बताए । कानुन सचिव टेकनारायण ढुंगानाले आफू पनि कानुन आयोगको सदस्य भएर काम गरिसकेकाले कार्की विरुद्धको महाअभियोग प्रकरणमा राय दिन उचित नहुने तर्क गरे ।
बैठकपछि समिति सदस्य अमनलाल मोदीले महान्यायाधिवक्ताले दिने रायका आधारमा समिति अघि बढ्ने जानकारी दिए ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई बुधबारको बैठकमा बोलाइएको छ ।
यसअघि सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चको फैसला मात्र पूर्ण नभएकाले अख्तियार प्रमुखको हैसियतमा कार्कीले गरेका निर्णयहरु समेत अध्ययन गर्नुपर्ने अडान राखेपछि समितिमा विवाद भएको थियो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले भने अख्तियारले कार्कीको सिफारिस र नियुक्तिदेखि नै अयोग्य रहेको भन्दै पदमुक्त गरेपछि त्यसैलाई आधार मानेर प्रतिवेदन बनाउनु पर्ने मत राखेका छन् ।
प्रतिक्रिया 4