+
+
Shares

सिन्धुपाल्चोकका ७० माओवादी नेताले राजीनामा दिए, जम्बो केन्द्रीय समिति घटाउन नैतिक दबाव

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १९:५१

sindhupalchok-maobadi
१२ माघ, सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक समितिमा कार्यरत ७० जना केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा केन्द्रीय सदस्यका साथै पोलिटब्युरो सदस्यसमेत छन् । उनीहरु सबै सिन्धुपाल्चोक जिल्लाका माओवादी नेता हुन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोकले बुधबार सदरमुकाम चौतारामा आयोजना गरेको प्रथम एकता भेलामा उपस्थित सयौं कार्यकर्तामाझ केन्द्रीय आयोजक समितिमा रहेका ७० जनाले संयुक्त राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै केन्द्रीय सदस्य युवराज दुलाल शरदले पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति भद्दा भएका कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न आयोजक समितिमा रहेका ७० जनाले राजीनामा पत्रमा हस्ताक्षर गरेको बताए ।

‘हामी यो अभियानलाई निरन्तरता दिन्छौं, सबै साथीहरुलाई राजीनामाका लागि बाध्यकारी बनाइने छैन, ईच्छुक अरु पनि साथीहरुले राजीनामा पत्रमा हस्ताक्षर गर्नुहुन्छ,’ नेता दुलालले अनलाइनखबरसँग भने ।

दुलालका अनुसार सिन्धुपाल्चोकका ७० जना केन्द्रीय नेतामध्ये अधिकांशले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । र, यो प्रक्रिया सकिएसँगै एक/दुई दिनमै पार्टी केन्द्रमा सो राजीनामा पत्र बुझाउने कार्यक्रम छ ।

पार्टीको मूल मर्म, नीति, उद्देश्य र विचारसँग आफूहरुको कुनै मतभेद नरहेको दुलालले बताए ।

तर, केन्द्रले तय गरेको सांगठनिक कार्ययोजनालाई चुस्त दुरुस्त बनाउन केन्द्रलाई नैतिक दबाव दिने हिसावले राजीनामाको प्रस्ताव ल्याएको अर्का युवा नेता माधव सापकोटा ‘सुवोध’ले अनलाइनखबरलाई बताए ।

केन्द्रबाट राजीनामा दिए पनि स्थानीय तहमा निर्वाचन लगायत केन्द्रका निर्णय र सिन्धुपाल्चोक पार्टीले गर्ने अन्य काम कारवाहीमा निरन्तरता रहने सापकोटाले बताए ।

उनले भने- ‘यो राजीनामा पार्टी परित्याग वा पार्टी केन्द्रको अन्य काममा बाधा पुर्‍याउने हिसावले आएको होइन, पार्टी केन्द्रलाई नै सहयोग पुर्‍याउने हिसावले हामीले यो निर्णय गरेका हौं ।’

एकता भेलामा सिन्धुपाल्चोकका पार्टी जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्यसमेत रहेका कृष्णप्रसाद सापकोटाले माओवादीलाई एकतावद्व र सुदृढ बनाउन आफूहरुले यसरी सामुहिक राजीनामा दिनुपरेको बताए । उनले भने, ‘हामी पदलाई महत्व दिनुभन्दा पनि पार्टीलाई सुदृढ बनाउन चाहान्छौं, यसकारण यो राजीनामा स्वाभाविक छ ।’

माओवादी पार्टीलाई अब सिन्धुपाल्चोकबाट नमूना पार्टी बनाउनका लागि राजीनामा गर्नुपरेको माओवादी केन्द्रका जिल्ला संयोजक दावा तामाङले बताए । उनले भने, ‘हामी जिल्लामा नै रहेर पार्टी मजबुत बनाउन चाहान्छौं, हामी सबैको हैसियत बराबरी हो, यसैमा हामी सन्तुष्ट छौं, पार्टी केन्द्रले यसबाट शिक्षा लियोस् ।’

सबैले आफूलाई केन्द्रीय सदस्य चाहियो भन्दै झगडा गरिरहेका बेला सिन्धुपाल्चोकका माओवादी नेताहरुले पाइरहेको पद त्यागेर उदाहरण देखाउने प्रयास गरेका हुन्

पार्टीको उक्त निर्णय पछि हलमा उपस्थित कार्यकर्ताहरुले उल्लासपूर्ण तरिकाले तालीद्वारा हौसला दिएका थिए । भेलामा जिल्लाभरिका झण्डै ५ सय बढी नेता कार्यकर्ताहरु उपस्थित थिए ।

माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति ३९९९ सदस्यीय बनेको थियो । कमिटी ठूलो भएको भन्दै सर्वत्र आलोचना हुँदै आइरहेको छ । यसैवीच पुसको अन्तिम साता बसेको बैठकले केन्द्रीय समितिलाई १५१ सदस्यमा झार्ने निर्णय गरे पनि कार्ययान्वयन हुन सकेको छैन ।

सबैले आफूलाई केन्द्रीय सदस्य चाहियो भन्दै झगडा गरिरहेका बेला सिन्धुपाल्चोकका माओवादी नेताहरुले पाइरहेको पद त्यागेर उदाहरण देखाउने प्रयास गरेका हुन् ।

केन्द्रीय समितिबाट राजीनामा दिइसकेपछि अब आफूहरु स्थानीय पार्टी कमिटीबाट चुनिएर जुनसुकै कमिटीमा काम गर्न तयार रहेको बताएका छन् ।

सिन्धुपाल्चोकका नेताहरुको यस्तो निर्णयबाट देशभरिका पदलोलुप माओवादी नेताहरुमाथि नैतिक दबाव सिर्जना भएको छ । पार्टीको केन्द्रीय समितिबाट राजीनामा दिइसकेपछि माओवादी नेता सरल सहयात्रीले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका छन्-

लामो समयदेखि हामी युवाहरुले पार्टी संगठनलाई बैज्ञानिक विधिमार्फत अगाडि बढाउन निकै नै संघर्ष गर्यौं । तर परिणामतः सफल भएन। बरू संगठन अत्यन्तै भद्रगोलतातिर उन्मुख हुँदासमेत नेतृत्व यसप्रति उदासीन रहिरह्यो र पद बाँड्ने दानवीर हुनुमा उत्साहित भइरह्यो ।

आजको भेलाबाट ती सारा दानमा प्राप्त पद (केन्द्र र पोलिटब्युरो) संस्थागत रूपमै सिन्धुपाल्चोकबाट सबैले फिर्ता (राजीनामा) गर्ने निर्णय लिइयो । जसको मूल उद्देश्य हालसालै केन्द्रीय कार्यालयबाट पारित कार्यविधि कार्यन्वयन गर्न सहयोग पुर्याउनु हो । र, जिल्लामा दुई महिनाभित्र नयाँ कार्यविधि अनुसारको स्थानीय तहको सम्मेलन सम्पन्न गर्दै चुनाबमा नमुना जिल्लाको रुपमा स्थापित हुनु हो ।

यसको तत्कालै देखिएको अर्को महत्वपूर्ण परिणाम भनेको करिब तिन बर्षदेखि समानान्तर कमिटीको रुपमा, विभाजित पार्टीको रूपमा र असन्तुष्ट बनेर निस्कृय रहेका सम्पूर्ण कमरेडहरुको बीचमा अत्यन्तै राम्रो एकता कायम भएको छ।

साथै हामीले यो पनि प्रतिवद्धता गरेका छौँ कि उपल्लो कमिटिमा हामी केवल विधि र पद्दतिमा आधारित स्वस्थ प्रतिस्पर्धा मार्फत मात्र प्रवेश गर्नेछौं ।

(दिनेश दुलालको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?