Comments Add Comment

संस्मरण: प्रसाद पाइने ‘स्वस्थानी’ कि ज्ञानको खानी ?

स्वस्थानी व्रत सुरु हुने शिशिर ऋतुको आसपास आँगनमा रहेका जाईका फूल पहेँलपुर हुन्थे । अर्कोतिर, नारायणपातीका फूल पनि कोपिला हाल्दै टुसाउँथे ।

दिउँसो चल्ने बतासले बोट हल्लाएर फूलहरूले बयेली खेल्दा मनै रोमाञ्चित हुन्थ्यो । घरमा स्वस्थानीको व्रत लिने चलन नभए पनि महिनाभरि कथा भन्ने चलन चाहिँ मैले थाहा पाएदेखि नै हुन्थ्यो । बेलुकी खाना पकाउनुअघि नै आमाले पूजाको थालीमा अबीर, अक्षता, जौ, तिल र जाईको फूल (वा नारायणपाती) राखिदिनुहुन्थ्यो ।

भात खाइवरी सुत्ने बेलामा बुबा स्वस्थानीको कथा भन्नुहुन्थ्यो । सानोमा स्वस्थानीको कथा बुझ्ने चेत आइसकेको थिएन, ध्याउन्न हुन्थ्यो त केवल प्रसाद खाने । आज बेलुकी स्वस्थानीका लागि के प्रसाद राखिएको होला भन्ने जिज्ञासा स्कूलबाट घर फर्किने बेलादेखि नै हुन्थ्यो !

सुन्तला, अंगुर र उखु पाइने मौसम हुनाले प्रसादमा तिनै फलफूल राखिएका हुन्थे । सधैं एउटै प्रसादले ‘मोनोटोनस’ हुने भएकोले कहिले नरिवल, कहिले मिश्री त कहिले छोकडा पनि हुन्थ्यो । माघे संक्रान्तिताका तिलमा सख्खर हालेर बनाइएको लड्डु पनि प्रसादको रूपमा प्रयोग हुन्थ्यो ।

रामप्रसाद धिताल

अरु पूजा सामग्रीसँगै प्रसाद पनि राखिने हुँदा कहिले खाना खाइसकिएला र स्वस्थानी सकेर प्रसाद खान पाउँला भन्ने चिन्ता हुन्थ्यो । प्रसाद खाने धुनमा बस्दाबस्दै कहिलेकाहीँ लामो अध्याय परेका बेला त निदाइसकिन्थ्यो । त्यस्तो बेला अघिल्लो दिनको प्रसाद भोलिपल्ट पो खाइन्थ्यो ।

बुबा स्वस्थानीको पुस्तक फुकाउन थाल्दा म ‘अटेन्सन’ को ‘पोज’ मा बस्थेँ । बुबाले धूप सल्काएर फूलपाती र प्रसाद आमा र मलाई दिनुहुन्थ्यो । स्वस्थानी र अरु देवी देवताको प्रार्थना गर्दा हामी दुई हात जोडर बस्थ्यौं । श्लोक पूरा भएपछि हातमा लिएको फूलपाती स्वस्थानी देवीको प्रतिमामा चढाएर कथा सुन्न बस्थ्यौं ।

बुबा सुरु गर्नुहुन्थ्यो- ‘कुमारजी आज्ञा गर्नुहुन्छ … … ।’

आफ्नो आँखा भने कथामा भन्दा प्रसादमा हुन्थ्यो । पुस्तकका पानातिर पनि आँखा चनाखो बन्थे । लामो अध्याय पर्दा पट्यार लाग्थ्यो । ‘…इतिश्री केदाखण्डे माघमाहत्म्ये श्रीस्वस्थानी व्रतकथायाम्…’ अध्याय सकी फेरि फूलपातीसहित स्वस्थानीलाई चढाएपछि प्रतीक्षाको घडी सकिन्थ्यो । प्रसाद हातमा पर्थ्यो । कुपुकुपु खायो, सुत्यो ।

अलि बुझ्ने भएपछि कथातिर पनि रस बस्न थाल्यो । त्यतिखेर नेपाल टेलिभिजनले धारावाहिक रूपमा हिन्दी सिरियल ‘रामायण’ देखाउँथ्यो । भाषा त्यति नबुझ्नेहरुबीच पनि त्यतिबेला खुब लोकप्रिय थियो । भाषा नजाने पनि धार्मिक आस्थाका साथै राम्रो प्रस्तुति र पात्रहरूको जीवन्त अभिनयका कारण हेर्नेहरूको लर्को लाग्थ्यो ।

टेलिभिजन कसै कसैकहाँ मात्र हुने त्यसबेला बालकदेखि वृद्धसम्म टेलिभिजन भएको घरमा पुग्थे । ढोका बाहिर चप्पलको रास हुन्थ्यो । कोठामा नअटाएर झ्याल र ढोकामा उभिएर हेर्नेहरूको घुइँचो हुन्थ्यो । रामायणको प्रभाव यतिसम्म थियो, हामी जस्ता केटाकेटीहरू काठको धनुष-वाण बनाएर रामपक्ष र रावणपक्ष भएर लडेको अभिनय गर्थ्यौं ।

यसैका कारण कतिपय ठाउँमा बालबालिकाहरूलाई चोटपटक लागेको खबर समेत सुनिन्थ्यो । रामायणको पात्रको प्रभाव स्वस्थानीको कथामा पर्दै गयो । स्वस्थानी कथामा आउने महादेव, पार्वती, विष्णु, गणेश, कुमार जस्ता देवता र जालन्धर, मय, तारकासुर जस्ता दानवहरूको स्वरूप रामायणका पात्र झैं मानसपटलमा बस्न थालिसकेको थियो । कथासँगै तिनका चलचित्र मस्तिष्कमा रामायणका दृश्य झैं खेल्न थाल्थे । यसकारण कथा झन् रमाइलो लाग्दै गयो । अब त प्रसादमा मात्र होइन, कथामा समेत रस बस्न थाल्यो ।
नेपाली अक्षर राम्ररी फोर्न सक्ने भएपछि बुवाले स्वस्थानी भन्न मलाई नै दिनुभयो । स्वस्थानी त पढ्ने तर अगाडि र पछाडि भएका संस्कृत श्लोक भन्न महाभारत नै आइलाग्थ्यो । बुवा अगाडि र पछाडिका श्लोक वाचन गरिदिनुहुन्थ्यो । म चाहिँ कथा भन्थेँ ।

प्रसादको रस बसेकै हुन्थ्यो । उखु साह्रै मीठो लाग्ने, तर आफूकहाँ नहुने । छिमेकीकहाँ भए पनि किन्न नपाइने । उपाय त लगाउनै पर्‍यो ! त्यत्तिकै माग्दा पनि दिने होइनन् । स्वस्थानीलाई प्रसाद लगाउन दिनूस् न भनेपछि दिइहाल्ने । स्वस्थानीको बहाना गरी उखु खाने रहर पनि पूरा गरिन्थ्यो ।

स्वस्थानीको व्रत पूरा हुने दिने अर्थात् माघशुक्ल पूर्णिमामा त प्रसादको थुप्रो हुन्थ्यो, खाएरै नसकिने । सिजनमा पाइनेजति फलफूल, नरिवल, छोकडा, पकाएका नैवैद्य । अरु के के हो, के के । कतिको नामै थाहा पाइन्नथ्यो । त्यस दिन भने धित मर्नेगरी प्रसाद खाइन्थ्यो । १२ वर्षको उमेरमा व्रतबन्ध गरेपछि त स्वस्थानी पूरै वाचन गर्ने जिम्मा मलाई नै आइपुग्यो । त्यसबेलासम्म संस्कृत भाषाका श्लोकहरू कनिकुथी काम चलाउने भइसकिएको थियो । नेपालीमा चाहिँ शुद्धसँग वाचन गर्ने भएकोले
बुबाआमाले तारिफ गर्नुहुन्थ्यो ।

हिउँदे बिदामा मामाघर गइन्थ्यो । त्यहाँ हजुरबाले मलाई नै पढ्न लगाउनुहुन्थ्यो । आफैंले कथा भन्ने भएपछि त झन् स्वस्थानीभित्र भएका कथाको अर्थ एक-एक गरी केलाउन थालेँ । महादेव सतीलाई माग्न दक्षको घर गएको, दक्षले हेला गरेको, विष्णुले झुक्याएर सती महादेवको हातमा पारिदिएको जस्ता प्रसंग ज्यादै रोमाञ्चक लाग्थे ।

महादेव र सतीको प्रेमप्रसंग, महादेवले सतीलाई लुकेर छक्याएको जस्ता प्रसंग रमाइला थिए । तर, दक्षको निन्दा सहन नसकी सतीले आत्महत्या गरेको, उनको मृत शरीर बोकेर महादेवले पृथ्वी भ्रमण गरेको जस्ता दुःखदायी क्षणहरूले मनै अमिलो पार्थ्यो ।

सतीको मृत्युपछि दक्षप्रजापतिको यज्ञमा मच्चिएको वितण्डा र महाकाली, वीरभद्र र तिनका सेनाबीचको बीभत्स दृश्य एउटा भयानक भावमा दिमागमा घुम्थ्यो । अन्त्यमा वीरभद्रको टाउको काटी बोकाको टाउको जोडेका जस्ता रोचक प्रसंगले पनि आश्चर्यमा पार्थ्यो ।

पार्वतीले महादेव पति पाउन गरेको संघर्ष, महादेव-पार्वती विवाह, गणेश-कुमारका प्रसंग पनि रोचक लाग्थे । कथाको उत्तरार्धमा आउने गोमाको प्रसंग ज्यादै कारुणिक छ । सानै उमेरमा श्राप पाएर सात वर्षे उमेरमा ७० वर्षको वृद्धसँग बिहे गरिदिनु र खकष्ट बेहोर्नु जस्ता प्रसंगले दुःखी बनाउँथ्यो । तर, तिनले गरेको संघर्ष ज्यादै प्रेरणादायी लाग्थे ।

अहंकारका कारण चन्द्रावतीले पाएको कष्ट, आमा-बाबुप्रति नवराजको कर्त्तव्यपरायणता साँच्चै अनुकरणीय लाग्थ्यो ।स्वस्थानीमा आउने ठाउँहरू यहीँ काठमाडौंकै पशुपतिनाथ वरिपरिका भन्ने थाहा पाएपछि बर्सेनिजसो ती क्षेत्रमा गइन्थ्यो ।
तर, कथामा  आउने प्रसंग र वास्तविकता मेल नखाने । मृगस्थली उजाड थियो, मृग नै देख्न नपाइने  । श्लेषमान्तक वनमा लप्सी नपाइने । पार्वतीले दिनहुँ स्नान गरेर व्रत बसेकी गौरीघाट (वागमती) को दूरावस्था देख्दा मन कटक्क खान्थ्यो ।

वागमती पछिल्लो समय सफा हुने क्रममा छ । तर, मानिसको बानी-व्यवहार परिवर्तन नभएसम्म पशुपति वरिपरि मात्र सफा पारेको जस्तो देखाएर के गर्नु ! उजाडै भए पनि मृगस्थलीमा केही वर्षयता भने मृग कुद्न थालेको देख्न पाइन्छ । स्वस्थानीको पुस्तक त्यही हो, कथा त्यही हो । तर, प्रत्येक वर्षपढ्दा, सुन्दा नौलो लाग्ने ।

हुन त सोझै अर्थमा लिँदा अहिलेको सर्न्दर्भमा कतिपय प्रसंग नमिल्दा पनि लाग्छन् । बालिकालाई अनाहकमा श्राप दिएको, सात वर्षीया गोमाले ७० वर्षको पति बेहोर्नुपरेको, नशाको सुरमा महादेवले रावणलाई आफ्नी पत्नी नै दिएर पठाएको जस्ता केही प्रसंग अव्यावहारिक लाग्छन् । तर, स्वस्थानीबाट सिक्न सकिने सकारात्मक पक्ष पनि धेरै छन्  ।

२६, २७ वर्षघिदेखि सुन्न र भन्न थालेको स्वस्थानीको कथा त्यही भए पनि मेरा लागि हिजो र आजको स्वस्थानी सन्दर्भमा आकाश-पातालको फरक छ । हिजो स्वस्थानी प्रसादका लागि हुने गर्थ्यो । आज आध्यात्मिक प्रयोजनका लागि । स्वस्थानी कथाबाट सिक्ने कुरा त धेरै पो रहेछन् । त्यसलाई गहिरेर अध्ययन गरेपछि पो पत्तो पाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment