२३ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य सावित भएको निष्कर्ष निकालेको छ । महाअभियोग सिफारिस समिति अन्तर्गतको उपसमितिले कार्कीमाथि छानबिन गरी प्रतिवेदन तयार पारिसकेको छ र, सो प्रतिवेदन समितिमा बुझाउने तयारी गरिरहेको छ ।
उपसमितिलाई कार्कीमाथि लगाइएको महाअभियोगबारे अध्ययण गरेर प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको थियो ।
उपसमितिका संयोजक रामनारायण बिडारीका अनुसार सम्बन्धित निकायसँग सोधपुछ गर्दा कार्की दोषी देखिएको बताए । एक हप्ताको समयसीमा माघ १९ गतेभित्रै प्रतिवेदन तयार गरिएको र अब उक्त प्रतिवेदन समितिमा बुझाइने उपसमितिले जनाएको छ ।
‘सीमित स्रोत, साधन र समय भित्र प्रतिवेदन तयार पार्नु पारिएको छ । हामी बुझाउने तयारीमा छौं,’ उपसमिति संयोजक विडारीले भने, ‘कार्कीका कसुर सत्य सावित भएका छन् ।’
कार्कीले अख्तियारमा रहँदा गरेका कसुरबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिले बिडारीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
उपसमितिले आफ्नो कार्यकालमा कार्कीले विभिन्न निकायमा अनुसन्धानका लागि भन्दै गरेको पत्राचारको सम्पूर्ण विवरण मगाएर छानविन गरेको थियो । उपसमितिले कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयसँग पनि परामर्श गरेको थियो ।
सर्वोच्च अदालतले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई अयोग्य ठहर गर्दै पदमुक्त गरिसकेको छ ।
कार्कीलाई अख्तियार दुरुपयोग गरेको, संसद र सर्वोच्च अदालतको मानहानी गरेको, समानान्तर सत्ता चलाउन खोजेको, संवैधानिक निकायका प्रमुखको हैसियत अनुसारको आचरण नगरेको, मेडिकल शिक्षामाथि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेकोलगायतका आरोप लगाउँदै पेश गरिएको महाअभियोग प्रस्ताव संसदमा विचाराधिन छ ।
प्रतिक्रिया 4