Comments Add Comment

गोर्खा भूतपूर्व सैनिक संघ गेसोमा फेरि विवाद

साल्मेडाँडामा गेसोबाटै असहयोग भयोः पदमबहादुर गुरुङ

२४ माघ, काठमाडौं । बेलाबखत आन्तरिक विवादमा रुमलिँदै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) भित्र नयाँ विवाद देखा परेको छ । विशेष गरी स्याङ्जाको साल्मेडाँडामा बन्न लागेको गोरखा स्मारकको विषयलाई लिएर गेसोभित्र पछिल्लो विवाद सतहमा आएको हो ।

स्याङ्जाको साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारक पार्क निर्माणमा गोर्खा भूतपूर्व सैनिक संघ ‘गेसो’को वर्तमान नेतृत्व बाधक बन्न खोजेको संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले सोमबार पोखरामा पत्रकार सम्मेलनै गरेर गुनासो गरे ।

पत्रकार सम्मेलनमा गेसोका संस्थापक अध्यक्ष गुरुङले बृटिस सरकारले पहिलेदेखि नै रोक्न खोजेको गोर्खा स्मारक पार्क अहिले निर्माणको अन्तिम चरणमा आइपुग्दा गेसोलाई नै प्रयोग गरेर रोक्न खोजिएको दाबी गरे ।

गेसोको वर्तमान नेतृत्वले आफ्नो बुद्धि र विवेकले यसलाई रोक्न खोजेको नभई गोटीमात्रै बनेको गुरुङको ठम्याइ छ । चार महिनाअघि गेसोको अध्यक्षमा कृष्णकुमार राई आएदेखि गेसोको औचित्य नै समाप्त पार्ने षडयन्त्र भइरहेको गुरुङले आरोप लगाए ।

करीब ९ अर्बको लगानीमा निर्माण गरिन लागेको सो स्मारक बनाउनका लागि सहयोग गर्ने घोषणा गरेका गोर्खा सैनिकहरुलाई वर्तमान गेसो नेतृत्वले नै चन्दा नदिन आग्रह गर्ने गरेको गुरुङको आरोप छ ।

गोर्खा स्मारकमा प्रतिमहिना करीब ६ लाख खर्च हुँदै आए पनि गेसोको नयाँ नेतृत्वले सहयोगदातालाई भड्काएको र सहयोग आउन रोकिएको पदमबहादुरले पत्रकार सम्मेलनमा गुनासो गरे ।

यसरी सहयोग रोकिएका कारण कारण हाल ऋण खोजेर गोर्खा स्मारक निर्माणको काम भइरहेको गुरुङले जानकारी दिए ।

गेसोका संस्थापक अध्यक्ष गुरुङले गोर्खा स्मारक तत्कालीन भूतपूर्व गोर्खाहरुको यथार्थ चित्रण गर्ने र त्यसले बेलायती सरकारको नाङ्गो रुप र नेपालको सार्वभौमसत्ता कसरी लिलाम गरिएको रहेछ भन्नेबारेमा तथ्य बोल्ने दाबी गरे । यही कारणले गर्दा यो स्मारक निर्माणलाई रोक्न बृटिस र नेपाल सरकारको गोटी बनेर गेसो नेतृत्व अगाडि देखापरेको उनले ठाडै आरोप लगाए ।

पदमबहादुरले भने- ‘बृटिसका लागि गोर्खा स्मारक पार्क मुटुको क्यान्सर जस्तै हुन्छ, नेपाल सरकारका लागि पनि यो अप्ठेरो बनेर आउँछ, त्यसैले बृटिस र नेपाल सरकार यसको निर्माण रोक्न अन्तिम समयसम्म प्रयासरत छ, यसको अन्तिम अस्त्रको रुपमा गेसोको वर्तमान नेतृत्व नै गोटी बन्यो ।’

गेसो नेतृत्वले बेलैमा कुरा नबुझ्दा गेसो अभियानको भविष्यमाथि नै कालो बादल मडारिने वातावरण आएको भन्दै पदमबहादुरले यसबाट पार पाउन आफू नेतृत्वमा नभए पनि एक्लै अगाडि बढ्ने उद्घोष गरे ।

चेतावनीयुक्त भाषा प्रयोग गर्दै गुरुङले भने,-‘अहिले नै गेसोको नेतृत्व कोबाट सञ्चालित भनेर म नाम किटान गर्न चाहन्नँ, तर यो मेरो उद्घोषबाट हच्किनुभयो भने ठिकै छ, हैनभने म नाम किटानीसहित आउँछु, त्यतिबेला प्रयोग गर्ने र हुने दुबै नाङ्गो हुनेछन् ।’

६ बुँदे योजना सार्वजनिक

गेसोको वर्तमान नेतृत्व र बृटिस सरकारको कामबाट आक्रोशित बनेका गुरुङले गोर्खा स्मारक निर्माण र गेसो अभियान सफल पार्न ६ बुँदे योजनासमेत घोषणा गरे ।

उनले अघि सारेको योजनाको पहिलो बुँदामा बेलायत सरकारले २१ मे २००९ मा समानता दिने नीति घोषणा गरेअनुसार यसलाई कार्यान्वयन गराई गोरा सरह पेन्सन दिलाउन बेलायत तथा राष्ट्रिय क्षेत्रमा अभियान चलाउने उल्लेख छ ।

दोश्रो बुँदामा स्याङ्जाको साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारक समाधिलाई एक वर्षभित्रै सम्पन्न गर्ने प्रण छ । तेश्रो बुँदामा विश्व युद्धमा बिनाकारण होमिन बाध्य बनाएर मारिएका पूर्खाहरुका सम्बन्धमा क्षतिपूर्ति खोज्नका लागि अन्तरराष्ट्रिय क्षेत्रबाट अभियान शुरु गर्ने उनले घोषणा गरेका छन् ।

त्यस्तै चौथो बुँदामा बेलायती सेनामा भर्ना गर्दा गोर्खालीहरु आफूखुशी नगई दुई देशको सरकारको नीति अनुसार गएकाले नेपालमा जन्मभूमि र बेलायतमा कर्मभूमि भएकाले त्यसको अधिकार लिन अभियान सञ्चालन गरी एक वर्षभित्रै टुङ्गोमा पुर्‍याउने उद्घोष छ ।

पाचौंमा गोर्खामा भर्ती गरेर आफूहरुलाई संस्कारविहीन बनाउनुका साथै घर उजाडिदिएकाले यस विषयलाई राष्ट्रसंघीय सम्मेलनमा न्यायका लागि आवाज उठाउने कुरा उल्लेख छ । छैठौं बुँदामा हाल बेलायतमा भत्ता खाई बसेका बृद्धहरुलाई एक महिनाभन्दा बढी समय बेलायत बाहिर बस्यो भने भत्ता कटौती गर्ने गरेकाले यसलाई ३ महिनासम्म बेलायतबाहिर बस्दा भत्ता नकाटिने व्यवस्था ६ महिनाभित्रै दिलाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

पत्रकार सम्मेलनमा गोर्खा स्मारक पार्क निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले समाधिस्थल निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिए ।

गोर्खा स्मारक जतिसुकै जालझेल र षडयन्त्र गरेर रोक्न खोजे पनि निर्माण सम्पन्न गरेरै छाड्ने निर्माण समितिका अध्यक्ष गुरुङले दृढता व्यक्त गरे ।

भूतपूर्व सैनिक संघ गेसोको अगुवाइमा करीब तीन सय रोपनी क्षेत्रफलमा स्याङ्जाको साल्मेडाँडामा हाल गोर्खा स्मारक पार्क निर्माण भइरहेको छ ।

त्यहाँ हाल समाधिस्थल निर्माण सम्पन्न हुने क्रममा छ भने गोर्खा स्मारक, संग्रहालय लगायतका सुविधा सम्पन्न भवन निर्माण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment