+
+

नयाँ आइजीपीका ४ चुनौतीः कांग्रेसको कार्यकर्ता बन्ने कि देशको ?

क्षेत्रीय मानसिकतादेखि वाह्यशक्तिसँग हारगुहारसम्म

 समाचार टिप्पणी समाचार टिप्पणी
२०७३ फागुन १ गते १२:३५

 

१ फागुन, काठमाडौं । डीआईजी जयबहादुर चन्द एआईजी नबनी एकैचोटि प्रहरी महानिरीक्षक बन्ने भाग्यमानी प्रहरी अधिकारी ठहरिएका छन् । तर, उनी प्रहरी महानिरीक्षक बन्न नपाउँदै विवादमा तानिएका छन् । फुली लगाउन पाउँदाको खुशी मनाउन नपाउँदै चन्द कडा चुनौती र प्रश्नहरुको पहाडले थिचिएका छन् ।

विगत केही वर्षयता गैरराजनीतिक एवं व्यवसायिक छवि बनाउन सफल भएको नेपाल प्रहरी संगठनभित्र अब जयबहादुर चन्दले कसरी कमाण्ड सम्हाल्नान् ? प्रहरीको छवि कस्तो बनाउलान् ? यो प्रश्न उनको नियुक्तिकै दिनदेखि उब्जिएको छ ।
बहुदलीय व्यवस्था स्थापनायता प्रहरीका अधिकांश आइजीपीहरु भ्रष्टाचारमा मुछिएको पाइन्छ । विशेष गरी सुडानकाण्ड लगायतका प्रकरण कांग्रेस नेतासँगै जोडिएका छन् ।

प्रहरीलाई राजनीतिकरण र भ्रष्टीकरण गराउनमा कांग्रेसका नेताहरुले भूमिका खेल्दै आएको पाइन्छ । यस्तो चुनौतीका वीचमा आइजीपीमा नियुक्ति पाएका चन्दका सामु मुख्यतः चारवटा चुनौतीहरु छन्ः

१. संगठनको एकता

बरियता मिचेर आइजीको कुर्सीमा बस्न पुगेका चन्दले प्रहरी संगठनभित्र अब कसरी एकता कायम गर्लान् ? नवराज सिलवाल, प्रकाश अर्याललगायतका अधिकारीहरुसँग कसरी एकतावद्ध बनेर अघि बढ्लान् ? यो प्रश्नले नै प्रहरी संगठनको सक्षमता र चन्दको कार्यकालको सफलतालाई मापन गर्नेछ ।

आईजीपी नियुक्ति प्रकरणमा चन्दले जसरी सिलवाल र अर्यालविरुद्ध मिटरब्याजी, सुनकाण्डमा मुछिएका इत्यादि भनेर लविङ गराए । जसरी उनले बरिष्ठता र बरियता केही होइन भने, यसले नयाँ सम्भावना बोकेका प्रहरीमा निराशा ल्याउन सक्छ ।

कामले भन्दा पनि नेताको चाकडी गरेर बढुवामा पर्न सकिन्छ भन्ने सन्देश चन्दको नियुक्तिले दिएको छ, यसलाई चिरेनन् भने चन्दको कार्यकालमा प्रहरी संगठन निराशामा डुब्न सक्छ र यसले प्रहरीको क्षमतामाथि असर पार्न सक्छ । नयाँ आइजीपी चन्दका लागि यो सबैभन्दा ठूलो चुनौती हो ।

२. कांग्रेसीकरण

जयबहादुर चन्दले आइजीपी बन्नका लागि जसरी कांग्रेस नेताहरुसँग अपवित्र साँठगाउँ गरे, यसले नेपाल प्रहरीलाई कांग्रेसको भातृ संगठन बनाउने खतरा उत्पन्न गराएको छ । यो नेपाल प्रहरीका लागि सबैभन्दा ठूलो दुर्भाग्य हो ।

जे-जे वचन दिएर चन्द र शेरबहादुरवीच साँठगाँठ भएको छ, अब जयबहादुर नेपाली कांग्रेसको इमान्दार सिपाही हुन्छन् र उनीहरुले गर्ने सबै गलत क्रियाकलापलाई बचाउ गर्नेतिर लाग्छन् वा सबैको साझा प्रहरी अधिकारी हुन्छन् ? सबैले यसबारे चासोका साथ हेरिरहेका छन्, जुन स्वाभाविकै छ ।
३. सुदूरपश्चिमे मानसिकता

आफूलाई आईजीपी बनाइनुपर्छ भनेर लविङ गर्नेक्रममा चन्दले आफू सुदूरपश्चिमे भएको भन्ने नारा खुबैसँग लगाए । तर, चन्दले यो कुरा बुझ्नुपर्छ कि उनी आइजीपी बनेको सुदूरपश्चिमको कि सम्पूर्ण देशको ? यस्तो क्षेत्रीय मानसिकता बोकेको व्यक्तिले कसरी अन्य क्षेत्रलाई न्याय गर्न सक्ला ? यो संकीर्ण क्षेत्रीयतावादी मानसिकता चन्दले त्यागेनन् भने उनी असफल आईजीपीमा परिणत हुने खतरा रहन्छ ।

४. भारतको लाइन ?

चन्दले आईजीपी बन्नका लागि नेपाली कांग्रेसको त चाकडी गरे नै, उनले यसैबेला गरेको दिल्ली भ्रमण र भारतीय राजदूतसँगको भेटघाटलाई पनि मानिसहरुले शंकाको नजरले हेरेका छन् ।

आफूले पद पाउनका लागि देशी विदेशी शक्तिकेन्द्रमा धाउने कार्य राष्ट्रिय स्वाभिमानसँग मेल खाँदैन । त्यसैले चन्दले आगामी दिनमा नेतालको राष्ट्रिय स्वार्थ हेर्छन् कि छिमेकीको दलालका रुपमा प्रस्तुत हुन्छन् ? यो पनि हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?