Comments Add Comment

सलाम खान पाउँदा खुशी लाग्यो !

'अहिले मलाई सलाम गर्नुहुन्छ, पछि मैले झ्याप्प सलाम गर्छु'

६ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयस्थित आइजीपीको कार्यकक्षमा एक चिकित्सक करिब ७२ हजार फौजको कमाण्ड सम्हालेर बसेका छन् । उनी हुन्- निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल ।

प्राविधिकतर्फबाट ०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका पोखरेल नेपाल प्रहरीकै एक सदस्य हुन् । प्रहरी अस्पतालको सर्वोच्च पद एआइजीसम्म पुगेका उनै पोखरेललाई अहिले परिस्थितिले प्रहरी संगठनकै कमाण्ड सम्हाल्नुपर्ने जिम्मेवारी थोपरेको छ ।

विहीबार दिउँसो अनलाइनखबरसँग अन्तरवार्ता दिनै लाग्दा महानिरीक्षक पोखरेललाई कैलालीबाट फोन आयो । लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित अपहरणहरुमा परेकाहरु मुक्त भएको रिपोर्ट आएपछि डाक्टर साहेबले अपराधीहरुका बारेमा सोधखोज गर्नुभन्दा पहिले यस्तो आदेश दिए- सबैभन्दा पहिला स्वास्थ्य जाँच गराउनू, केही खाएको वा खुवाएको हुन सक्छ । अपस्तालको जाँचपछि के आउँछ, मलाई रिपोर्ट गर्नू ।’

विरामीको रिपोर्ट लिनुपर्ने मान्छे, अपराध र अपराधीको रिपोर्ट लिँदै हुनुहुन्छ, अप्ठेरो लागेको छैन ?

अब यो मैले चाहेर आएको जिम्मेवारी होइन, परिस्थितिले ल्याएको हो । त्यही भएर त सुन्नुभएन ? सुरुमै स्वास्थ्य जाँच गर्ने आदेश दिएँ । विस्तारै बानी पर्दै जाला नि ।

तपाईलाई आइजीपी बनाइँदैछ भन्ने पहिलै थाहा थियो कि अकस्मात यस्तो जिम्मेवारी आइलाग्यो ?

फागुन एक गते पत्रत्रिकामा एआइजीको हिसाबले मलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिने कुरा आएको रहेछ । मलाई घरमा श्रीमतीले पनि देखाउँदै थिइन् । मैले भनेँ ‘यस्तो वाइयात कुरा नगर । यो मलाई बदनाम गराउन खोज्नेहरुको काम हो । कहाँ मलाई यस्तो जिम्मेवारी दिन्छ ?’

त्यसपछि म मेरै काममा लागेँ । २ गते पनि यस्तै चर्चा सुनेपछि मलाई केही हो कि जस्तो लाग्यो । निवर्तमान आइजीपी र एआइजी सा’बहरुको विदाइ एआइजीको हिसाबले मैले नै गर्नुपर्ने भयो । दिनभरि पनि मलाई निमित्त प्रमुखको जिम्मेवारी नवराज सिलवाल सा’बले पाउनुहुन्छ जस्तो लागेको थियो । आइजीपी सा’बले पनि सरकारले कुनै निर्णय नगरे सिलवाल सा’बलाई दिन्छु भन्दै हुनुहुन्थ्यो ।

अन्य एआइजी सा’बहरुले पनि कुनै पनि नियमले प्राविधिकले निमित्त आइजीपी पाउँदैन भन्दै हुनुहुन्थ्यो । त्यो हिसाबले पनि मैले निमित्त आइजीपी पाउँछु जस्तो लाग्ने कुरै भएन । मसँग न सरकारले प्रस्ताव ल्याएको थियो, न अरुले भनेका थिए ।

सोही साँझ तोकिएको समयभन्दा ढीलो आइजीपी सा’बसहित एआइजीसाबहरुको विदाइ कार्यक्रम भयो । कार्यक्रम सकिएपछि मलाई केही प्रहरीले घेरा हाले । उनीहरुले भने- बधाइ छ सर । अचम्म लाग्यो, मैले सोधें- केको बधाइ ? उनीहरुले सरलाई निमित्त महानिरीक्षकको जिम्मेवारी आएको छ भन्दा पत्याउनै सकेको थिइनँ । राति १० बजे गृह मन्त्रालयमा गएर पत्र बुझेपछि सरकारले मलाई यस्तो जिम्मेवारी दिएछ भन्ने पुष्टि भयो ।

तपाई सिरिञ्ज र औषधीका गोलीसँग सम्पर्कमा रहने मान्छे, बन्दूक र गोली बोक्नेहरुको नेतृत्व गर्नुपर्ने भयो । यसबाट मनमा कस्तो तरंग आयो ?

मेरो मनमा दुई तीनवटा कुरा आएः डाक्टरहरुको पनि भित्री मनमा भए पनि अलिकति इगो हुन्छ । म डाक्टर हुँ, तर म पनि त्यसै डाक्टर भएको होइन भन्नेखालको इगो हुन्छ । तर, फोर्समा हाम्रो त्यो क्वालिटीलाई सम्मान नगर्दिएको जस्तो हुन्छ । २६ वर्षसम्म सबैलाई जय नेपाल, जय नेपाल भन्दै सलाम ठोकेको मान्छेलाई कहिलेकाँही आफूलाई पनि सलाम ठोकोस् है भन्ने लाग्नु अस्वाभाविक होइन । त्यसैले के लाग्यो भने म चिफ हुने भएँछु, सबै भन्दा ठूलो पदमा पुग्ने भएँछु भन्ने खुशी लाग्यो ।

दोस्रो कुरा, सरकारले मेरा लागि मन्त्रिपरिषदबाट यो सब गरेर निर्णय गर्नुको पछाडि मेरो इमान्दारीता र कर्तव्यनिष्ठतालाई प्रोत्साहन गरेको हो भन्ने मलाई लाग्यो ।

आइजीपीका लागि यत्रो रस्साकस्सी चलिरहेको छ, यस्तो अवस्थामा निमित्त प्रमुख हुँदा विवादमा परिएला जस्तो लागेन ?

एक त यो सरकारको निर्णय हो । तैंले गर् भनेपछि गरिहाल्ने अनुशासनमा बसिरहेको मान्छे हुँ म । पहिले घरमा डर लाग्थ्यो । पछि डाक्टर पढ्दा पनि त्यस्तै अनुशासनमा बसियो । प्रहरीमा आएपछि त झन् कुरै भएन । त्यसैले यस्तोचाँहि लाग्दै लागेन ।

तपाई अहिले प्रहरीको आइजीपी बस्ने ठाउँमा हुनुहुन्छ । देशैभरको शान्ति सुरक्षाको अवस्था हेर्नुपर्ने हुन्छ । कतिको मुस्किल रहेछ ? अथवा अब सक्छुजस्तो लाग्छ ?

सुरुको दिन त मलाई निस्सासिने गरी नै अप्ठेरो भयो । कहाँ-कहाँ जानुपर्ने, औपचारिक बैठकहरु गर्नुपर्ने । तर, दोस्रो त दिनदेखि के लाग्यो भने १६ घण्टा यसैमा लगाएँ भने धेरै चिज गर्न सक्छु । बिहानै आयो, सबै क्षेत्रतिर फोन लगायो । विषेश जाहेरीहरुको जानकारी लिइरहेको छु ।

जसरी मेडिकल क्षेत्रमा खटिएको छु, त्यसरी नै यसमा खटिएँ । सायद समस्या हुँदैन । तर, मलाई के चाहिँ खुशी छ भने यो अस्थायी हो, लामो समय जाँदैन ।

लामो जाँदैन त भन्नुभयो । भोलिका दिनमा अनुभव हुँदै जान्छ । एआइजी पनि हुनुहुन्छ । नियमले पनि खुल्ला गरेको छ । बाहिर हल्ला पनि चलेको छ कि डाक्टर साबले त्यसैले छाडनुहोला र ?

हेर्नुहोस् त्यो त काल्पनिक कुरा भयो । म मेरै क्षेत्रमा रमाइरहेको छु । यो सबैको पछाडि म लाग्ने छैन । म भगवानसँग यही प्राथना गर्छु कि यो समस्या चाँडै सकियोस् र नेपाल प्रहरी थप बलियो होस् ।

तपाई छोटै समयका लागि भए पनि संगठन प्रमुख हुनुभएको छ । यो छोटो समयका लागि पनि कुनै योजना छ कि ? कतिपय प्रहरीहरुले डाक्टर आयो, संगठन अब के हुन्छ भन्ने चिन्ता पनि गरेका छन्…

मैले के भनेको छु भने यो एक हप्ताको व्यवस्थापन हो । सरकारले दिएको जिम्मेवारी र कानुनले दिएको अधिकार प्रयोग गरेर प्रहरीको इज्जत जाने काम नगर्नुस् भनेको छु । मलाई लाग्दैन कि प्रहरीको मनोबल गिरेको छ ।

धेरैलाई लागेको पनि छ डाक्टर हो, राम्रै हुन्छ । कतिपयलाई प्रविधिकको मातहतमा पनि बस्ने हो र ? त्यसलाई के थाहा छ भन्ने पनि लागेको होला । तर, उसले चाहेर आएको होइन, आइलागेको हो भन्ने धेरैले बुझेका छन् भन्ने मेरो बुझाइ हो ।

अहिले आइजीपीको प्रतिस्पर्धामा रहेका डीआइजीहरुदेखि अन्य डीआइजीहरु समेत सेवा प्रवेशको हिसाबले तपाई भन्दा सिनियर छन् । उनीहरुलाई आदेश दिएर काम गर्न अप्ठेरो महशुस भैरहेको छैन ?

मलाई केही अप्ठेरो हुन सक्छ । तर, यो के छ भने कहिले को सिनियर हुन्छ, कहिले अर्को सिनियर हुन्छ । इन्स्पेक्टर हुँदा उ सिनियर थियो, डीएसपी हुँदा अर्काे हुन्छ । एसपी हुँदा कहाँ जान्छ, भर हुँदैन । यति हो कि आफू सिनियर हुँदा सलाम खाने, अरु हुँदा सलाम हान्ने यो चलिरहन्छ ।

तर, अलि असहज त पक्कै होला नि ?

होइन । उहाँहरु सबैसँग मेरो एकदमै राम्रो सम्बन्ध छ । किनभने डाक्टर हुँदा सबै मकहाँ आइरहनु भैहाल्थ्यो । अवस्थाले अहिले मलाई छोटो समयका लागि यो स्थानमा ल्याएको हो । अहिले पनि थुप्रै डीआइजी साबहरु मकहाँ आइरहनुभएको छ । त्यसैले उहाँहरुलाई पनि कुनै अप्ठेरो छैनजस्तो लाग्छ ।

भोलि अहिलेका डीआइजीहरुबाटै आइजीपी हुने हो । अहिले मलाई सलाम गर्नुहुन्छ, उहाँहरु मध्ये आइजीपी भएर आउनेलाई मैले झ्याप्प सलाम गर्छु ।

तपाईलाई संगठनको धेरै कुरा जानकारी छैन, यस्तो अवस्थामा सबै राम्रा प्रहरी पनि छैनन्, अपराधीले पनि यस्तै मौका खोजिरहन सक्छन् । यसमा तपाई सजक हुनुहुन्छ ?

त्यो विषयमा मैले सबैलाई भनिसकेको छु कि प्रहरीको इज्जतमा आँच आउने काम नगर्नुस् भनेर । सरकारले दिएको म्याण्डेट र कानुनले दिएको अधिकार प्रयोग गरेर तपाईहरु मानव अधिकारको रक्षा गर्दै जुनसुकै हदसम्म पनि जान सक्नु हुन्छ ।

कुनै समस्या आए म समन्वय गर्छु । तर, गल्ती गरे कार्वाही गर्छु भनेर सबैलाई भनेको छु । न्यायका लागि टोपी फल्न पनि तयारी छु भनिसकेको छु ।

अन्तिममा, देशका कुना काप्चासम्म शान्ति सुरक्षाका लागि खटिएका जवानदेखि अधिकृतसम्मलाई के सन्देश दिन चाहानुहुन्छ ?

यसमा के भन्न चाहान्छु भने आइजीपी प्रकरणलाई लिएर मनोवल गिराउनुपर्ने कारण नै छैन । नेतृत्व परिवर्तन भई नै रहन्छ । अहिले एउटा आउँछ, १३ महिना पछि अर्को आउनुहुन्छ । यो चलि नै रहन्छ । फरक-फरक भिजन मात्रै हुन सक्छ ।

तर, अहिले हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ । पछाडि हटने नै होइन । म भएको कारण कसैले चित्त दुखाउनुपर्ने कारण नै छैन । म समन्वयकर्ता मात्रै हुँ ।

नेपाल प्रहरीमा मबाहेक थुप्रै उत्कृष्ट अधिकृतहरु हुनुहुन्छ । उहाँहरुमा आफ्नै क्षमता छ । भूकम्पदेखि सार्कसम्म काम गरिसक्नु भएको छ । नेपाल प्रहरीको आफ्नै गौरव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment