६ फागुन, काठमाडौं । जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोहलाई मलेसिया प्रहरीले पक्राउ गरेको छ । गिरोहका ११ जना पक्राउ परेका हुन् । उनीहरु मध्ये दुई जना महिला पनि छन् ।
मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदका अनुसार २२ वर्षदेखि ३६ वर्षको उमेरबीचका सबै आरोपीहरु बुधबार जुरु र तामान पेरविरामा छापा मार्दा पक्राउ परेका हुन् ।
‘क्वालालम्पुर बस्ने ३६ वर्षीय समूहको नेता सबै सदस्यहरुबाट संकलित रकम लिनका लागि यहाँ आएर बसेको हाम्रो अनुमान छ,’ हामिदले बिहिबार भने ।
‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित यो गिरोहले एक वर्षयता आफ्नै देशका नेपाली साथीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । गिरोहका व्यक्तिहरु यो राज्यभित्र थुप्रै मारपिटमा संलग्न रहेको पनि पत्ता लागेको हामिदले बताए ।
‘सबै आरोपीहरुको शरीरमा थुप्रै टाटु थिए, त्यसमा पनि एउटा विशेषखालको साझा टाटु थियो, जसले उक्त गिरोहको सदस्य भनेर पहिचान गर्न सकिन्थ्यो । गिरोहले आफ्ना सदस्यहरुका लागि विशेष समारोह आयोजना गर्ने गथ्र्यो र छापा मारिएको एउटा घर नयाँ सदस्यहरुलाई भर्ति गर्ने स्थान थियो,’ उनले भने ।
छापा मारेपछि प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण बरामद गरेको हामिदले जानकारी दिएका छन् । उनीहरु कसैसँग पनि यात्राको वैध कागजात नभएको उनको भनाइ छ ।
प्रतिक्रिया 4