Comments Add Comment

कुलमान उदाएपछि काठमाडौंमा जोडिन छाड्यो सोलार

कुलमानको आगमनसँगै सोलारको 'बहिर्गमन'


१६ फागुन, काठमाडौं । गत वर्ष नाकाबन्दीसँगै लोडसेडिङ उच्च भएपछि शहरी क्षेत्रका घरहरुमा सोलार जोड्ने ट्रेण्ड नै बस्यो । बिजुली बत्तिको ठेगान नै नभएपछि धेरैले हजारौं रुपैयाँ खर्चेर सोलारलाई विकल्प बनाए । तर, यो वर्षको कात्तिकपछि काठमाडौंका घरहरुमा सोलार जोड्नै छाडिएको वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।

साउनदेखि असोजसम्म काठमाडौंमा २ हजारभन्दा बढी घरमा अनुदानमै आधारित सोलार जोडिएका थिए । अनुदान नै नलिई यसरी सोलार जोड्नेको संख्या यसको दोब्बरभन्दा बढी थियो ।

जब कुलामन घिसिङले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा आएर काठमाडौंलाई लोडसेडिङमुक्त घोषणा गरे, त्यसलगत्तै सोलार जोड्ने क्रम शून्य जस्तै बन्यो ।

बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बरिष्ठ अधिकृत तथा सोलार विभाग प्रमुख मुकेश घिमिरेका अनुसार अहिले काठमाडौंमा घरहरुमा फाट्टफुट्ट मात्रै सोलार जोडिँदैछ ।

कुलमानको उदयले इन्भर्टर ब्याट्री र जेनेरेटरको ब्यापार त सकेलाएको थियो नै । लोडसेडिङविरुद्ध कुलमान सक्रिय हुँदा सोलारको बिक्रीमा पनि ठूलै असर गरेको छ ।

‘केही धनाढ्य र सौखिन परिवारका घरमा सोलार जोड्ने क्रम अझै देखिन्छ । तर, अहिले काठमाडौंमा सोलारको माग न्युनतम् विन्दुमा पुगेको छ’ घिमिरेले भने, ‘तिहार अघिसम्म काठमाडौंको सोलारको माग बढेको बढ्यै थियो । अहिले त्यो माग निकै कम छ ।’

काठमाडौंमा मात्रै होइन, देशभरका शहरी क्षेत्रमा सोलार जोड्ने क्रम पहिलेजस्तो छैन । तर, काठमाडौंमा भने सोलारको आकर्षण ह्वात्तै घटेको छ । पहिले पनि काठमाडौंका स्थानीय सोलारमा त्यति आकर्षित थिएनन् ।

नाकाबन्दीका समयमा बिजुली मुस्किलले ५ घण्टा पनि नआउने भएपछि धेरैले सोलारमा चासो देखाएका थिए । सरकारले त्यतिबेला वैकल्पिक ऊर्जालाई शहरमा पनि प्रवर्द्धन गर्ने नीति लियो । र, शहरी क्षेत्रमा पनि सोलार जोड्दा अनुदान र ऋण दिने व्यवस्था गर्‍यो ।

अब २ सय वा त्योभन्दा माथि क्षमताका सोलार प्रणाली जडान गर्दा केन्द्रले कम्तिमा २० हजार रुपैयाँ अनुदान दिने व्यवस्था छ । अब ५ सय वाटभन्दा माथिको सोलार जोड्दा विनाधितो ऋण दिने र त्यसको ७५ प्रतिशत ब्याज मिनाहा गर्ने नीति छ ।

त्यसै ब्यवस्थाको कारण लोडसेडिङ मौलाउँदै गर्दा सोलारको ब्यापार बढेको बढ्यै थियो । बैंकहरुले समेत सहुलियत ब्याजदरको ऋणमा सोलार जोड्न प्रोत्साहित गर्दै थिए ।

त्यसैक्रममा प्राधिकरणमा कार्यकारी निर्देशक बनेर आएका कुलमानले उपलब्ध बिजुलीको उचित व्यवस्थापन गर्दै लोडसेडिङ विरुद्ध धावा बोले । यसैको असर अहिले सोलारको व्यापारमा गजबसँग परेको छ ।

शहरी क्षेत्रमा सोलार जोडेर भ्याइनभ्याइ भएका कम्पनीहरु आजभोलि फुर्सदिलो भएका छन् । लोडसेडिङ हट्नासाथ काठमाडौंमा सोलारको माग घट्नुलाई बैकल्पिक ऊर्जाका बरिष्ठ अधिकृत घिमिरे सामान्य मान्छन् । तर, सचेत नागरिकले सानो लगानी गरेर घरमा सोलार सिस्टम राख्दा फरक नपर्ने उनको भनाइ छ ।

‘सोलारमा ठूलो लगानी गर्नुपर्दैन । ग्रीडको बिजुलीमा प्राविधिक समस्या आएका बेलामा सोलारको बिजुली उपयोग गर्न पाइन्छ । सँगै घरायसी प्रयोजनमा बिजुलीको बील घटाउन पनि यो उपयोगी नै हुन्छ’ घिमिरेले भने ।

तर, काठमाडौंको आमसमुदाय भने अब विद्युत प्राधिरकणको घोषणामा विश्वस्त देखिएको छ । राष्ट्रिय प्रशारणको बिजुलीको सुविधा लिइरहेकाहरु सोलारमा थप खर्च गर्न चासो देखाइरहेका छैनन् ।

लोडसेडिङ चरम अवस्थामा पुग्दा सरकारले सहरी क्षेत्रमा सोलार जडानलाई प्रोत्साहन गर्न नयाँ कार्यबिधि नै ल्याएको थियो । तर, त्यो कार्यबिधिमार्फत दिइएको सुविधामा कसैले चासो देखाएका छैनन् ।

सर्वसाधारणले सोलारको प्रयोगमा खासै चासो नदेखाए पनि प्राधिकरणका कार्यकारी घिसिङ भने सोलारको बिजुली उपयोग गर्ने रणनीतिमा छन् । उनले त्यसैअनुसार जहाँसकै राखिएका २० किलोवाटभन्दा बढी क्षमताका सोलार सिस्टमबाट ग्रीडमा बिजुली जोड्ने योजना बनाएका छन् ।

नेट मिटरिङमा माध्यमबाट सर्वसाधारणको घरमा उत्पादन भएर खपत हुन नकसकेको सोलारलाई किनेर प्राधिकरणको ग्रीडमा जोड्ने गरी काम अघि बढेको छ । यसअघिदेखि नै चर्चामा रहेको सोलारको बिजुली ग्रीडमा जोड्ने विषयमा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राधिकरणबीच एमओयू नै भइसकेको बरिष्ठ अधिकृत घिमिरेले बताए ।

नेट मिटरिङ सुरु भएपछि बढी भएको सोलार बिजुलीलाई प्राधिकणलाई बेच्न सकिने छ । घरमै सोलार प्यानल राखेर सरकारलाई नागरकले बिजुली उत्पादन गरेर पनि बेच्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment