२२ फागुन, काठमाडौं । व्यवसायी तथा चालकहरुले ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेरी गरेका छन् । ठगी नियन्त्रणका लागि सुरु गरिएको प्रिन्टर सिस्टम २ महिनाका बीचमा ९ सय ट्याक्सीले मात्रै जोडेका छन् । कतिपयले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् ।
गुणस्तर तथा नापतौल विभागले बनाएको तालिकाअनुसार अहिलेसम्म झण्डै ४ हजार ट्याक्सीमा नयाँ बिलिङ मेसिन जोडिनुपर्ने थियो ।
ट्याक्सीको मिटर नवीकरण गर्दा बिलिङ मेसिनको जडान अनिवार्य गरिएको छ । त्यसैकारण मात्रै ९ सय ट्याक्सीमा जोड्न सकिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
पछिल्लो समयमा बिल प्रिन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइएको छ । त्यस्ता ट्याक्सीले पनि सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको छ । धेरै ट्याक्सीले त यो जोड्न नै आनाकानी गरेका छन् ।
व्यवसायी भन्छन्ः असफल सिस्टम
राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महंगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि यो प्रणाली जडान गर्न सुरु गरिएको थियो । तर, ब्यवसायीले एपटक यो सिस्टम फेल भइसकेको भन्दै जडान गर्न अटेरी गर्ने गरेका छन् ।
नेपाल मिटर ट्याक्सी ब्यवसायी संघका अध्यक्ष चेतप्रसाद गौतम नयाँ बिलिङ मेसिन कुनै वैज्ञानिक सिस्टम नभएको बताउँछन् । उनले सरकारले एकपटक असफल भएको प्रणाली फेरि स्थापित गरेर ट्याक्सी ब्यवसायीमा आतंक मात्रै सिर्जना गरिदिएको बताए ।
गौतमले अब ट्याक्सीहरु मोबाइल एप सिस्टममा जाने तयारीमा रहेकाले पुरानो सिस्टमलाई जबरजस्ती राज्ले लाद्न नमिल्ने बताए । तर, यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने सरकारको विश्वास छ ।
तालिका प्रभावित
महानिर्देशक पुडासैनीले स्वेच्छिक रुपमा मिटरमा बिलिङ मेसिन जोड्ने ब्यवसायीहरु एकदमै न्युन रहेको जानकारी दिए ।
‘ट्याक्सी ब्यवसायी र चालकहरुले बिल पि्रन्टर जोड्न अटेरी गरिरहेका छन्’ पुडासैनीले भने,’ सरकारको नियमलाई असफल बनाउने गरी हुने सबै प्रयत्नलाई चिरेर अनिवार्य रुपमा लागू गर्न हामी प्रतिवद्ध छौं ।’
विभागले आगामी वर्षको साउनको पहिलो साता लाग्दासम्म सबै ट्याक्सीको मिटरमा कम्प्युटराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको छ ।
अहिले बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर नवीकरण गर्न छाडिएको छ । बिलिङ मेसिन अनिवार्य गरिएपछि मिटर नवीकरणमा आउने ट्याक्सी पनि घटेका छन् । तर, मिटरमा आधुनिक बिलिङ सिस्टम नजोडेसम्म ट्याक्सीको मिटर नवीकरण रोकिने महानिर्देशक पुडासैनीले बताए । ट्याक्सी नामसारी गर्दासमेत अनिवार्य पि्रन्टरजडित मिटर हुनै पर्ने ब्यवस्था गरिएको छ ।
अनुगमन र कारवाही
विभागले बनाएको तालिका अनुसार प्रत्येक हप्ता ५ सय ट्याक्सीले मिटर जोड्नुपर्ने हो । महानिर्देशक पुडासैनीले ब्यवसायीले अटेर गरेकाले अब सडमै पुगेर अनुगमन थालिने बताए । उनले मिटरमा बिलिङ सिस्टम नजोड्ने सक्नुपर्ने ट्याक्सीलाई अब अनुगमनमार्फत कारवाही गरिने बताए ।
‘तालिकाअनुसार मेसिन जोडिसक्नुपर्ने ट्याक्सीलाई अब हाम्रो अनुगमन टोलीले सडकमै रोक्छ । यदि नजोडेको रहेछ भने कडा कारवाही हुन्छ’ पुडासैनीले भने-‘अर्को सताबाट ट्याक्सीहरुमाथि अनुगमन सुरु हुन्छ ।’
साउनको पहिलो हप्तासम्म झण्डै साढे ९ हजार ट्याक्सीले यस्तो पि्रन्टर जडान गर्नुपर्नेछ । नियमअनुसार विभागले तोकेको नम्बर प्लेटका ट्याक्सीले तोकिएकै साताभित्र आएर कम्प्युटराइज्ड बिलिङ सिस्टम दर्ता गराइसक्नुपर्ने थियो । तर, झण्डै ३ हजार १ सय ट्याक्सीले विभागले दिएको समयसीमा उल्लंघन गर्दै मेसिन जोडेका छैनन् ।
सिस्टम कस्तो ?
यस्तो कम्प्युटराइज्ड बिलिङ सिस्टम जोडिएपछि यात्रुले ट्याक्सीमा यात्रा गरेपछि प्रिन्टेड बिल प्राप्त गर्छन् । जसमा यात्रुले तिर्नुपर्ने शुल्क र यात्रा गरेको दूरीसहित विभिन्न विवरणहरु उल्लेख हुन्छन् ।
यो बिलमा ट्याक्सीवालाको गाडी धनी, ट्याक्सी नम्बर, टेलिफोन नम्बरसहितका विवरण पनि समावेश हुन्छन् । ट्याक्सीको पुरै विवरण हुने भएकाले सामान छुटे पनि यात्रुले सजिलै भेट्टाउन सक्नेछन् ।
यो सबै ट्याक्सीमा जोडिएपछि ट्याक्सीले यात्रु ठग्ने क्रम रोकिने विश्वास विभागको छ । मिटरमा प्रिन्टर जडान गर्दा पाँच हजारदेखि ८ हजारसम्म खर्च लाग्छ । बजारमा यो प्रिन्टर सहजै किन्न पाइन्छ ।
प्रतिक्रिया 4