Comments Add Comment

मधेसी मोर्चा केही लचिलोः समर्थन फिर्ता अघि सरकारलाई ७ दिने अल्टिमेटम

२४ फागुन, काठमाडौं । सप्तरी घटनापछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा केही लचिलो बनेको छ । र, समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने नयाँ निर्णय गरेको छ ।

मोर्चाको सोमबार साँझ बसेको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो । र, सभामुखलाई लिखित औपचारिक जानकारी तयारी स्वरुप मंगलबार ३ बजे बैठक राखिएको थियो ।

तर, मंगलबार विहानै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच टेलिफोन सम्वाद भयो । उनले थप छलफलका लागि मधेसी मोर्चाका शीर्ष नेताहरुलाई ३ बजे वार्तामा पनि बोलाए ।

लगत्तै बसेको मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठकले सरकारलाई ७ दिने अल्टिमेटम दिने निर्णय गरेको छ । ‘संविधान संशोधन विधेयक पास गर्न र गैरसंवैधानिक चुनाव घोषणा फिर्ता लिन ७ दिने अल्टिमेटम दिएका छौं,’ गठवन्धनका प्रवक्ता ओम गुरुङले अनलाइनखबरसँग भने ।

मधेसी मोर्चामा आवद्ध रामसपाका महासचिव केशव झाले पनि समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने मोर्चा र गठवन्धन दुबैको निर्णय भएको बताएका छन् ।

अल्टिमेटमबारे जानकारी दिन मधेसी मोर्चाका नेताहरूले भोलि बुधबार विहान ९ बजे प्रधानमन्त्री प्रचण्डलार्इ भेट्दैछन् । प्रधानमन्त्रीले मंगलबार नै वार्तामा बोलाएका थिए तर, मोर्चाका नेताहरू गएनन् ।

नेपाल बन्दसहित आन्दोलन कार्यक्रम

संघीय गठवन्धनले सप्तरी घटनाको विरोधमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । उसले २६ गते काठमाडौंसहित देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ ।

साथै सप्तरी घटनाबारे मानवअधिकार आयोग र राष्ट्रसंघको ध्यानाकर्षण गराउने र अन्तराष्ट्रिय समुदायसँग छलफल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment