Comments Add Comment

पोखरा रंगशालामा फुटवल मैदान र प्याराफिट निर्माणका लागि डिपीआर सम्झौता

२६ फागुन, पोखरा । पोखरा रंगशालाभित्र फुटवल मैदानसहित प्याराफिट निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) हुने भएको छ ।

खेलकुद मन्त्रालय र पश्चिमाञ्चल खेलकुद विकास समितिबीच रंगशालाको फुटवल मैदानसहित प्याराफिट निर्माणका लागि डिपीआर गर्ने बुधबार पोखरामा सम्झौता भएको हो ।

सम्झौता पत्रमा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल र क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले हस्ताक्षर गरे ।

डिपीआर गर्ने जिम्मा एनडी इञ्जिनियरिङ कन्सल्टेन्सीलाई दिइएको छ । २ महिनाभित्रमा डिपीआर तयार हुनेछ । सम्झौतामा २ महिना उल्लेख भएपनि त्यो भन्दा अघि नै डिपीआर सक्नेगरी काम गर्ने एनडी इञ्जिनियरिङ कन्सल्टेन्सीका इञ्जिनियर निरञ्जन डुम्रेले बताए ।

उनले डिपीआर अन्तर्गत माटो परिक्षण, आर्किटेक्चरल डिजाइन र अनुमानित लागत खर्च निकालिने जानकारी दिए । उनले फुटवल स्टेडियम मात्र २५ हजारदेखि ३० हजार दर्शक अटाउने क्षमताको बनाउन सकिने प्रारम्भिक अनुमान सुनाए ।

डिपीआर तयार भएलगत्तै मन्त्रालयले डिपीआर अनुसारको फुटवल मैदानसहित प्याराफिट निर्माणका लागि बजेट बिनियोजन गर्ने बताइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले पोखरालाई खेलकुदको शहर बनाउनुपर्ने बताउँदै यहाँ हाई अल्टिच्यूड स्पोर्टस, एडभेञ्चर स्पोर्टसलगायतको प्रचुर सम्भावना रहेको औंल्याए ।

उनले खेलकुद मन्त्रालयले अहिले पाँच ‘प’ अर्थात खेल्नको लागि पूर्वाधार, सक्षमताका लागि प्रशिक्षण, उत्कृष्टता मापनका लागि प्रतियोगिता, प्रोत्साहनका लागि पुरस्कार र नयाँ प्रतिभाको खोजी गर्ने काम गरिरहेको बताए ।

उनले एक प्रदेश एक एकेडेमीको अवधारणामा मन्त्रालय लागेको बताउँदै पोखरामा कुन खेलको एकेडेमी सञ्चालन गर्न सकिन्छ त्यसको प्रस्ताव ल्याए आगामी वर्ष बजेट बिनियोजन गरिदिने आस्वासनसमेत दिए ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बाह्रौं दक्षिण एसियाली खेलकुद -साग)मा नेपालले फुटवलको स्वर्ण जितेको समयमा खेलाडी र समर्थकले ‘स्टेडियम चाहियो’ चाहियो’ भन्दै नारा लगाएको स्मरण गर्दै त्यसलाई साकार पार्न पोखरामा अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि डिपीआर गर्न लागिएको जानकारी दिए । खेलकुदले भाषण हैन एक्सन चाहेको बताउँदै त्यसको शुरुवात पोखराबाट हुन लागेको पनि उनको भनाई थियो ।

तस्वीरः उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment