Comments Add Comment

मधेसी मोर्चाले राजविराजदेखि जनकपुरसम्म शवयात्रा निकाल्ने

एमाले नेतालाई दिएको सुरक्षा फिर्ता गर्न मोर्चाको माग

२६ फागुन, सप्तरी । स्थानीय प्रशासन र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको दुई दिने छलफल पश्चात मोर्चा प्रहरीको गोली लागी मृत्यु भएका चारजनाको शव बुझ्न तयार भएको छ । यद्यपि उसले सप्तरी जिल्ला बन्द र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

बुधबार र बिहीबार गरी दुई दिन भएको छलफलमा बिभिन्न निर्णय गरिएपछि मोर्चा शव बुझ्न तयार भएको हो ।

प्रहरीको गोली लागी ज्यान गुमाएका चारै जनाको शव बुझेर मोर्चाले शनिबार शव यात्रा निकाल्ने बताएको छ

प्रहरीको गोली लागी ज्यान गुमाएका चारै जनाको शव बुझेर मोर्चाले शनिबार शव यात्रा निकाल्ने बताएको छ । मोर्चा संयोजक दिनेश यादवका अनुसार शवयात्रा सप्तरीबाट जनकपुरम्म पुग्नेछ ।

स्थानीय प्रशासन र मोर्चाबीच भएको बैठकमा प्रहरीको गोली लागी ज्यान गुमाएका मृतकलाई सहिद घोषणा गर्ने र यथाशीघ्र क्षतिपूर्ति उपलव्ध गराउने प्रकृया अघि बढाउन तथा घटनामा घाइतेको उपचार खर्चको व्यवस्थाका लागि गृह मन्त्रालयलाई लेखी पठाउने सहमति भएको छ ।

घाइतेहरुको विवरण संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट लिएर गृह मन्त्रालयमा पठाउने सहमति भएको छ । मृतक परिवारका एकजना सदस्यलार्इ   रोजगारीको आवश्यक व्यवस्था गर्ने सहमति पनि भएको मोर्चा संयोजक यादवले बताए ।

औद्योगिक क्षेत्रमा भएको नेकपा एमालेको कार्यक्रमका क्रममा जिल्लामा खटिएका कति, कुन कुन प्रहरीलाई कस्ता, कति हातहतियार तथा गोली दिइएको थियो तथा उक्त कार्यक्रमस्थलमा कसले कुन अवस्थामा र किन गोली चलायो भन्ने सम्वन्धमा आवश्यक छानविन गरिने सहमति भएको छ ।

जिल्लास्थित एमाले नेताहरुलाई दिइएको वर्तमान सुरक्षालाई हटाउन मोर्चाका नेताहरुले माग गरेका थिए । यसबारे सुरक्षा समितिमा छलफल गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंसहित विभिन्न जिल्लामा प्रदर्शन

यसैवीच मधेसी मोर्चासम्वद्ध संघीय गठबन्धनले राजविराजमा भएको घटनाविरुद्व विहीबार राजधानी लगायत देशभर विरोध प्रदर्शन गरेको छ ।

संघीय गठबन्धनको आहृवानमा घटनाको न्यायिक छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको हो ।

आदिवासी जनजाति संगठनहरु र मधेसी मोर्चासहित २८ दलीय गठबन्धनको आहृवानमा विहीबार भृकुटीमण्डपबाट निस्केको विरोध र्‍याली माइतीघर मण्डला पुगेर सभामा परिणत भएको थियो ।

विरोध सभालाई गठबन्धनका नेता महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठ, सुरेश आलेमगर, पेशल ढकाल, नविन रोका मगर, वि्रषेशचन्द्र लाल, प्रेम लाल चौधरी लगायतले सम्बोधन गरेका थिए ।

वक्ताहरुले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्नु पर्ने, स्थानिय निकायको घोषित चुनाव फिर्ता लिनु पर्ने, सङ्घीय गठबन्धनले दिएको ७ दिने अल्टिमेटम भित्र सरकारले पूरा गर्नु पर्ने माग गरेका थिए ।

यसैगरी विहीबार पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, झापा, मोरङ, सुनसरी, सिराहा, उदयपुर, खोटाङ, सोलु, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा एमालेविरुद्ध प्रदर्शन भएको गठबन्धनले जनाएको छ ।

त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, बाग्लुङ, रुकुम, लम्जुङ, कास्की, गोर्खा, बाँके, दाङ्, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट आदि जिल्लाहरुमा समेत विरोध कार्यक्रम भएको मोर्चाको भनाइ छ ।

गठबन्धनले सप्तरी घटनाको विरोधमा विहीबार काठमाण्डौंसहित जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment