News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु को अघिल्लो साइकलमा ११ मध्ये ११ खेल जितेर ओडीआई मान्यता जोगाएको थियो।
- वैशाख १२ देखि २२ गतेसम्म टीयू मैदानमा हुने लिग टु शृंखलामा नेपाल, युएई र ओमानले दुई-दुई खेल खेल्नेछन्।
- नेपालले २० खेलमा ५ जित र १२ अंकसहित सातौं स्थानमा छ र आगामी घरेलु खेलमा प्रदर्शन सुधार गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को अघिल्लो साइकलमा नेपालले चमत्कार गर्दै अविश्वसनिय रुपमा अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय विश्वकपको अन्तिम छनोटमा स्थान पक्का गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको थियो ।
त्यसबेला नेपालले अन्तिम तीन शृंखलामध्ये दुई शृंखला घरमा खेलेको थियो र दुई शृंखलाको सबै ८ खेल नै जितेको थियो । जसमा नेपालले बलियो टोली स्कटल्यान्ड विरुद्ध घरेलु मैदानमा जित हात पारेको थियो ।
नयाँ प्रशिक्षक मोन्टी देसाईको आगमन र युवा कप्तान रोहित पौडेल नेतृत्वको नेपाली टोलीको गजब्बको कम्बिनेसमा नेपालले शानदार प्रदर्शन गरेको थियो । त्यसको चर्चा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पनि निकै समयसम्म भएको थियो ।
अहिले नेपाल लिग टु मा फेरि त्यही पुरानै स्थितिमा छ अझ त्यो भन्दा पनि कठिन अवस्थामा । तर अहिले नेपाली क्रिकेटमा धेरै कुरा फेरिइसकेको छ ।
त्यसयता नेपालले आईसीसी टी-२० विश्वकपमा छनोट हुँदै तेस्रो पटक टी-२० विश्वकप खेलिसकेको छ । नेपालको घर मानिने कीर्तिपुरको टीयु अन्तर्राष्ट्रिय मैदानको स्तरोन्नती भएर रंगशाला बनिसकेको छ र फ्लडलाइट जडान भइसकेको छ ।
यस्तै टीयू मैदानमा फ्लडलाइटमुनि रातको समयमा ऐतिहासिक टी-२०आई सिरिज आयोजना भइसकेको छ । नेपालले ओडिआई र टी२०आईमा फरक कप्तान देखि फरक टोली बनाएर खेल्न थालिसकेको छ ।
यद्यपी नेपालको मुख्य सपना अझै बाँकी नै छ । टी-२० जस्तै एकिदिसीय विश्वकप खेल्ने, ओडीआई मान्यता जोगाइराख्ने अनि भविष्यमा सेतो जर्सी लगाएर टेस्ट क्रिकेट खेल्ने ।

नेपालले टेस्टको सपना देखेको लामो समय भइसक्यो र त्यो कहिले पूरा हुन्छ भन्ने अझै यकिन भन्न सकिने अवस्था छैन । तर ओडीआई मान्यतालाई निरन्तरता दिँदै ओडीआई विश्वकप खेल्ने नेपालको सपना भने त्यति टाढा त छैन । तर त्यसका लागि नेपालले टी२० मा जस्तै ओडिआईमा पनि उस्तै खालको प्रदर्शन गर्नुपर्नेछ ।
शनिबारदेखि घरेलु मैदानमा सुरु हुने लिग टु शृंखलामा नेपालले दुई वर्षअघिको जस्तै शानदार प्रदर्शन दोहोर्याउने लक्ष्य हुनेछ, र उत्तिकै चुनौती पनि हुनेछ । पछिल्लो समयमा टी-२० विश्वकप भएकोले नेपाल एकदिवसीयमा भन्दा टी-२० मा धेरै केन्द्रित भएको थियो ।
माघ-फागुनमा भारत र श्रीलंकामा भएको टी-२० विश्वकप खेलेर फर्किएपछि नै नेपाली खेलाडी घरेलु क्रिकेटमा व्यस्त भएका थिए । जसमा मल्टी डे जय ट्रफी एलिट कप देखि एकदिवसीय प्रधानमन्त्री कप क्रिकेटसम्म भयो । त्यही प्रतियोगिताहरूको प्रदर्शनमा आधारमा केही खेलाडी यस पटक टिममा इन, आउट पनि भए । तर लामो फर्म्याट भएकोले टिममा अनुभवी खेलाडीलाई प्राथमिकता भने दिइएको छ । टिममा अनुभवी र युवा खेलाडीहरूको मिश्रण छ ।
लिग टु को अब हुने दुई घरेलु सिरिजमार्फत नेपालले फेरि ओडीआई मान्यता जोगाउँदै एकिदसवीय विश्वकपको अन्तिम छनोट सम्म पुग्ने र विश्वकप नै खेल्ने लक्ष्यलाई निरन्तरता दिने प्रयास गर्नेछ ।
वैशाख १२ देखि २२ गतेसम्म टीयू मैदानमा हुने लिग टु शृंखलामा नेपाल, युएई र ओमानले एक आपसमा दुई-दुई खेल खेल्नेछ । त्यस पछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित सिरिज खेल्नेछ ।
तर नेपालका लागि शनिबारदेखि सुरु हुनेछ युएई र ओमान विरुद्धको पहिलो सिरिज नै निकै महत्वपूर्ण हुनेछ । यो सिरिजमा नेपालले खेल्ने चार खेलको नतिजाले लिग टु मा नेपालको भविष्य र त्यसपछिको आगामी बाटो कस्तो हुने भन्ने करिब तय गर्नेछ ।
लिग टु मा नेपालको प्रदर्शन
लिग टु को अहिलेको साइकल (२०२४-२६) को पहिलो शृंखला नै सन् २०२४ फेब्रुअरीमा नेपालबाटै सुरु भएको थियो । नेदरल्याण्ड्स नेपाल र नामिबिया सम्मिलिति उक्त शृखंलाबाट लिग टु मा नेपालका लागि शानदार सुरुवात गर्ने अवसर भएपनि नेपालले जम्मा एक खेल जित्दा ३ खेलमा पराजित भएको थियो । पहिलो शृखंलामा नेपालले २ अंक मात्र जोड्न सक्यो ।
त्यसपछि नेपालले २०२४ सेप्टेम्बरमा क्यानडामा भएको शृंखला (नेपाल, क्यानडा, ओमान)मा एक खेल पनि जित्न सकेन भने जम्मा १ अंक थपेको थियो । त्यही वर्ष अक्टोर-नोभेम्बरमा अमेरिकामा भएको शृंखला (नेपाल, अमेरिका, स्कटल्यान्ड)मा नेपालले १ खेल जित्दा जम्मा ३ अंक जोड्न सफल भयो ।

त्यसपछि नेपालले सन् २०२५ जुनमा स्कटल्यान्डमा भएको शृखंलामा भने शानदार प्रदर्शन गर्यो । नयाँ प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डससँग लिग टु को शृखंला खेल्दा चार मध्ये तीन खेल जित्यो ।
नेदरल्यान्ड्सलाई दुवै पटक पराजित गरेको थियो । त्यो बेला स्कटल्यान्ड विरुद्ध पहिलो खेलमा २९७ रनको लक्ष्य पूरा गरेको नेपालले अर्को खेलमा अहिलेसम्मकै धेरै ३२४ रनको लक्ष्य पछ्याउँदा मात्र २ रनले पराजित भएको थियो ।
अंकतालिकाको स्थिति
अहिले ८ टोली मध्ये २० खेलमा जम्मा ५ जितबाट १२ अंक जोडेर नेपाल पूछारबाट दोस्रो अर्थात सातौं स्थानमा छ । नेपालले १३ खेलमा हार वोर्दा दुई खेल नतिजाविहिन बनेको थियो । नेपालको अबको लक्ष्य भनेको हरेक खेल जित्दै अंक तालिका सुधार गर्ने हुनेछ । त्यसमा पनि अबको ८ खेल घरेलु मैदानमा हुँदा नेपालले होम एडभान्टेज हुनेछ तर नेपालले त्यसलाई सुपयोग गर्दै सकेसम्म बढी अंक जोड्नुपर्नेछ ।
नेपाल भन्दा अंक तालिकामा पछि रहेको एक मात्र टोली यूएई २० खेलबाट नेपाल समान ५ खेल जितेको छ । तर १० अंक मात्र रहेर पूछारमा छ । यस्तै नेपालले खेल्ने अर्को टोली ओमान २४ खेलबाट २९ अंकसहित तेस्रो स्थानमा छ ।
यदि नेपालले पहिलो सिरिजको ४ खेलमा सम्भावित ८ अंक जोडेमा विपक्षी टिमहरूलाई पनि पक्कै चुनौती बढ्नेछ । नेपालले पहिलो सिरिजमा खेल्ने दुवै राष्ट्र एसियाका छन् । तर युएईले पछिल्लो समयमा भारत र पाकिस्तानका खेलाडीहरूलाई आफ्नो देशको नागरिकता दिँदै टिममा आईपीएलको अनुभव भइसकेका खेलाडी अनुबन्ध गरेको छ । ओमानले पनि लिग टु मा नेपाल भन्दा राम्रै प्रदर्शन गरिरहेको छ ।

त्यसपछि नेपालले लिग टु कै दुई उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू अमेरिका र स्कटल्यान्ड विरुद्ध खेल्नुपर्ने भएकोले त्यसका लागि तयार हुनका लागि पनि युएई र ओमान विरुद्ध उत्कृष्ट प्रदर्शन गर्द नतिजा निकाल्नुको कुनै विकल्प छैन ।
अहिलेसम्म २४ खेल खेलेको अमेरिका सर्वाधिक १८ खेल जित्दै ३६ अंक जोडेर शीर्ष स्थानमा छ । उता स्कटल्यान्डको यो लिगमा दोस्रो अन्तिम सिरिज हुनेछ । स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रोमा छ । अमेरिका र स्कटल्यान्ड शीर्ष चारमा रहने बलियो दाबेदार टोली हुन् ।
त्यही दुई टोली विरुद्ध नेपालले घरेलु मैदानमा गर्ने प्रदर्शन महत्वपूर्ण हुनेछ । त्यसअघि नेपालको लागि पहिलो परिक्षा यूएई र ओमानको खेलमा हुनेछ । यदि यूएई र ओमानविरुद्धको दुवै खेल जितेमा नेपालका लागि त्यसपछि हुने शृंखलामा आत्मविश्वास बढ्नेछ ।
तर यदि यूएई र ओमान विरुद्धको खेलमै नेपालले राम्रो प्रदर्शन गर्न नसके लिग टु को मात्र नभएर एकदिवसीय क्रिकेटमै नेपालको आगामी यात्रा अझ कठिन बन्नेछ ।
प्रतिक्रिया 4