Comments Add Comment

साउदी अरबमा बुनेको सपना एसएसबीको गोलीले उडायो

सुकुम्बासी टोलमा घर बनाउनै नपाई गोलीको शिकार

२७ फागुन, कञ्चनपुर । आनन्दबजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतम तीन महिनाअघि मात्रै बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । साउदीमा दुई वर्ष बसेर फर्किएका गौतमले सुकुम्वासी बस्तीमा एउटा सानो, कच्ची घर बनाउँदै थिए ।

निर्माणाधीन घर र परिवारजनको अधुरो सपनालाई असरल्लै छाडेर गोविन्द सधैंका लागि विदा भएका छन् । एउटा सानो घरका लागि तीनपुस्तासम्म संघर्ष गर्नुपर्ने नियतिबाट गोविन्दका ७२ वर्षीय पिता खेमलाल गौतम दलिनले जस्तै थिचिएका छन् ।

एसएसबीको गोली लागेर बिहीबार मृत्यु भएका गौतम अब कहिल्यै नफर्कने गरी गएका छन् । र, उनको परिवारमा चाहिँ कहिल्यै नजाने गरी विपतका दिनहरु आएका छन् ।

घरमा ७२ वर्षीय वृद्धबुवा खेमलाल गौतम, उस्तै उमेरकी आमा हरिदेवी गौतम छन् । जवान श्रीमती सुशीला गौतम र तीनजना नावालिक छोरीहरु छन् ।

आशिका गौतम (१० वर्ष), आकृति गौतम (७ वर्ष) र आसुम गौतम (३ वर्ष) ले आफ्ना अविभावक पिता दुई वर्ष साउदीमा रहँदा त छोरीहरुले पर्खिएकै थिए, तर अब जति पर्खे पनि नआउने बाटोमा गएका छन् उनी ।

भविश्यमा सुखी जीवन जिउने र फूलजस्ता छोरीहरुलाई उचित शिक्षा दिने सपना साँचेर गोविन्द अरबको मरुभूमिमा पसिना बगाउन गएका थिए । तर, नियतिले उनलाई विदेशमा बगेको पसीना ओभाउन नपाउँदै आफ्नै देशको सीमानाकामा रगत बगाउन लेखेको रहेछ ।

बिहीबार भारतीय सुरक्षाकर्मीको गोली कम्मरमा लागेपछि उपचारका लागि धनगढी पुर्‍याउँदा नपुर्‍याउँदै गोविन्दको अत्यधीक रक्तश्रावका कारण ज्यान गयो ।

गोविन्दका बुबा

तीन दाजुभाइ र १ बहिनीमध्ये गोविन्द माइला छोरा हुन् । सामान्य लेखपढ मात्रै गरेका उनी घरको स्थिति नाजुक भएका कारण केही पैसा कमाउने आशमा साउदी पुगेका थिए । र, तीन महिना अघिमात्रै स्वदेश फर्केर सुकुम्वासी बस्तीमा सामान्य कच्ची घर निर्माणको तयारीमा लागेका थिए ।

स्थानीय नमूना प्राथमिक विद्यालयमा अध्ययनरत छोरीहरुलाई राम्रो स्कुल पढाउने गोविन्दको सपना अब सपनामा मात्रै सीमित भएको छ । सुशीलाको सिउँदो पुछिएको छ, आमा-बुबा भावविह्वल भएका छन् ।

अत्यन्तै मिजासिला र भद्र स्वभावका गौतमको मृत्युको खबरले माछापुच्छ्रे सुकुम्वासी टोल मात्रै होइन, पुरै कञ्चनपुर स्तब्ध भएको छ ।

गौतमलाई राम्रोसँग चिनेका स्थानीय पत्रकार हेमन्त न्यौपाने गौतम हक्की र निडर स्वाभावका भएको बताउँछन् ।

माओवादीले दिएको जानकारी अनुसार उनी माओवादी केन्द्रका नगरस्तरीय कार्यकर्ता थिए ।

गोविन्द गौतम सुकुम्बासी टोलका ‘सर्बहारा’ युवा हुन् । उनको सपना खासै ठूलो थिएन, ओत लाग्ने एउटा सानो घर होस्, छोरा-छोरीलाई पठाउन सकियोस्, बूढा भएका बुवा-आमालाई स्वास्थोपचार गर्न सकियोस् ।

तर, यति सामान्य उदरस्थ सपना पूरा गर्नका लागि पनि गोविन्दजस्तै गरीबका छोराले विदेशमा वर्षौं हड्डी खियाउनुपर्ने बाध्यता छ । नेताहरु देशमा लोकतन्त्र, गणतन्त्र र संविधानले दिएका अधिकारबारे प्रवचन दिइरहेका छन् ।

तर, आनन्दबजारको माछापुच्छ्रे सुकुम्बासी टोलमा सपनाहरुको यसैगरी निर्मम हत्या हुने गरेको छ, चाहे विदेशी गोलीले होस् वा स्वदेशी गरीबीले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment