+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साझाले माग्यो २० बसका लागि भक्तपुरको रुट, ब्यवसायीद्वारा आन्दोलनको चेतावनी

रबिन्द्र घिमिरे रबिन्द्र घिमिरे
२०७३ चैत २ गते १९:२७


२ चैत, काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्ने भएको छ । २० वटा बसका लागि भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको छ ।

साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्ने भएको छ ।

यसको जानकारी पाएलगत्तै यातायात ब्यवसायी यातायत ब्यवस्था विभाग पुगेर भक्तपुरका रुटमा साझा बस चलाउन नदिन दबाव दिएका छन् । उनीहरुले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका छन् ।

लामो समयदेखि भक्तपुरका स्थानीय रुटमा यातायात ब्यवसायीहरुको एकोहोरो बोलवाला छ । अन्य केही महत्वपूर्ण रुटहरुमो एकाधिकार तोडेपनि भक्तपुरमा साझा गएको छैन ।

नयाँ र पुरानो बाटोमा १०/१० वटा बस 

अब स्वयम्भुबाट- सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर- मिनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस भक्तपुरसम्म जानेछन् । यो रुटमा अहिले १० वटा बस रहेकोमा अरु १० वटा बस पनि यही रुटमा आउनेछन् ।

१० वटा बसहरु जडिबुटीबाट सानोठिमी-पुरानोठिमी-भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक-कमलविनायक हँँदै पुरानो बाटो भएर फर्किनेछ ।

भक्तपुरमा साझा बस बसपार्कमा गएर रोकिने छैन । यात्रुहरु चढाउँदै ओराल्दै भक्तपुरका दुबै बाटोमा ‘नन-स्टप’ चलिरहेने छ । विभिन्न रुटका १० वटा बसलाई ब्यवस्थापन गरेर साझाले भक्तपुरमा थप्ने तयारी गरेको हो ।

१० वटा बस जडिबुटीबाट सानोठिमी, भक्तपुर-पुरानोबाटो सूर्यबिनायक हुँदै कमलविनायक जानेछन् । अरु १० वटा बसपनि कमलविनायकसम्म पुगेर फर्किनेछन् ।

ब्यवसायीको दादागिरी 

साझा यातायातले बस हाल्न तयारी गरेको सुइँको पाउनासाथ भक्तपुरका यातायात ब्यवसायीले त्यसको बिरोध थालिसकेका छन् ।

उनीहरुले अवैज्ञानिक रुपमा भक्तपुरसम्म साझाले बस हाल्न लागेको भन्दै विभागमा ज्ञापनपत्र दर्ता गराइसकेको यातायात ब्यवस्था विभाग स्रोतले बतायो । विभागले भने साझालाई भक्तपुरको रुट इजाजत दिन सकारात्मक रहेको बताएको छ ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालय बाग्मतिका प्रमुख बसन्त अधिकारीले साझाले प्रक्रिया पुर्‍याएर आए उसले मागेका रुटमा इजाजत दिने बताए । ‘अहिले आवेदन मात्रै आएको छ । अब त्यहाँ चल्ने सवारीका कागजपत्र र आवश्यक जाँच रिपोर्टहरु दिएपछि १० दिनभित्रै रुट इजाजत दिन सकिन्छ’ अधिकारीले भने ।

पुरानो बाटाेको प्रश्न 

उनले भक्तपुरको पुरानो बाटोबाट ठूलो साझा बस चल्न सक्ने/नसक्नेबारे ट्राफिक प्रहरीसँग विभागले छलफल गर्ने बताए । ‘साझाले पहिले छलफल गरेको भए हामीलाई सजिलो हुने थियो’ प्रमुख अधिकारीले भने,’सबै अवस्थाहरु हेरेर साझालाई भुक्तपुर जाने अनुमति दिइनेछ ।’

साझा यातायतका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले भने भक्तपुरको पुरानो बाटोमा पनि साझा बस चल्न सक्ने बताए । ‘हामीले बाटोको अवस्था स्थलगत रुपमै हेरेका छौं । साझाका बस दोहोरो रुपमा यो रुटमा चल्न सक्छन्’ पाण्डेयले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?