१८ चैत, काठमाडौं । नेपाली बिद्यार्थीको अध्ययनको प्रमुख गन्तब्य अष्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने बिद्यार्थीको देश तथा बिश्वबिद्यालयहरुको एसेसमेन्ट लेभल हेरेफेरमा नेपाल दोस्रो तहमै रहन सफल भएको छ ।
अष्ट्रेलियाको अध्यागमन र सीमा सुरक्षा बिभागले शुक्रबार अद्याबधिक गरेको नतिजाअनुसार नेपाल साविकको दोस्रो स्थानमै रहन सफल भएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
‘यो नतिजा सार्वजनिक रुपमा प्रकाशन हुँदैन, तर, हामीलाई दिइएका टुलमार्फत् चेक गर्दा नेपाल दोस्रो स्थानमै रहन सफल भएको देखियो ।’ पाण्डेले अनलाइनखबरसँग भने ।
अर्थात् नेपाली बिद्यार्थीहरुले अब लेभल एक र लेभल दुईमा रहेका अष्ट्रेलियाका बिश्वबिद्यालय तथा कलेजमा आबेदन गर्दा पहिले अष्ट्रेलियन हाइकमिसन समक्ष बित्तिय बिबरण (फाइनान्सियल डकुमेन्ट) पेश गर्नु पर्दैन् ।
पछिल्ला बर्षहरुमा अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुले कलेज र कोर्स परिवर्तन गर्ने प्रबृत्ति बढेका कारण कतै नेपाल तेस्रो लेभलमा झर्ने हो कि भन्ने चिन्ता शैक्षिक परामर्श ब्यबसायीहरुको थियो ।
यदि नेपाल लेभल ३ मा झरेको भए लेभल एक र दुई मा भएका शैक्षिक संस्थामा अप्लाई गर्दा पहिले नै बित्तिय बिबरणहरु पेश गर्नुपर्ने हुन्थ्यो । जसले गर्दा नेपाली बिद्यार्थीको भिषा अस्वीकृत हुने र जोखिम बढ्ने सम्भावना हुन्थ्यो ।
२०१६ को जुलाई १ बाट ल्याएको नयाँ नियममा अष्ट्रेलियाले आफ्नो देशका शैक्षिक संस्था र ती संस्थामा पढ्ने बिद्यार्थीको देशको तह निर्धारण गरेको थियो । नेपाल सुरुमै लेभल दुईमा पर्न सफल भएको थियो भने छिमेकी मुलुक भारत र बंगलादेश लेभल तीनमा परेका थिए । अद्याबधिक गरिएको नयाँ एसेसमेन्टमा समेत भारत लेभल तीनमै रहेको छ ।
‘लेभल ३ मा झरेको भए नेपालको इमेज पनि राम्रो हुने थिएन, बिद्यार्थीलाई पनि बित्तिय कागजात पेश गर्नुपर्ने अनिवार्य हुन्थ्यो’ नायर-नेप्लिज एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रेप्रेजेन्टटिभ(नायर)का अध्यक्ष एसके श्रेष्ठले भने-‘दुइमै रहँदा अष्ट्रेलिया सरकार र त्यहाँका शैक्षिक संस्थाले नेपाल र नेपाली बिद्यार्थीलाई हेर्ने दृष्टिकोण राम्रो हुन्छ ।’
पछिल्ला दुई बर्षमा नेपालबाट बाषिर्क झण्डै ७ हजारको हाराहारीमा बिद्यार्थी अष्ट्रेलिया अध्ययनका लागि गएका छन् ।
शैक्षिक परामर्श संघका अध्यक्ष पाण्डे लेभल दुइमै रहनु नेपालीको ब्यबहार राम्रो छ भन्ने प्रमाण हो भन्छन् । ‘युनिभर्सिटीलाई केवल भिषा टुलको रुपमा मात्र प्रयोग गर्ने तर अष्ट्रेलिया पुगेपछि परिवर्तन गर्ने प्रबृत्तिले समग्र नेपालको लेभल तल झर्ने हो भन्ने सवै बिद्यार्थीले बुझ्नुपर्छ’ पाण्डेले भने ।
प्रतिक्रिया 4