Comments Add Comment

०७३ सालमा दुई हजार किताब ! यी हुन् उत्कृष्ट १०

तीन समालोचकका दृष्टिमा वर्ष-पुस्तक

२९ चैत, काठमाडौं । एक वर्षमा नेपालमा कति पुस्तक छापिएलान् ? आईएसबीएन नम्बर लिने पुस्तकको संख्या हेर्ने हो भने यो वर्ष सरदर दुई हजार पुस्तक प्रकाशित भए ।

त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा रहेको आईएसबीएन शाखाको तथ्यांक हेर्दा ०७३ सालमा दुई हजार पुस्तक छापिएको देखिए पनि आइसबीएन नम्बर नलिई छापिने पुस्तकसमेत जोड्ने हो यो संख्या बढ्न सक्छ ।

आईएसबीएन शाखाबाट सन् २०१६ मा एक हजार ७ सय ५६ वटा पुस्तकले आईएसबीएन नम्बर लिएका थिए । यति धेरै पुस्तकहरुको भीडमा कुन किताब अब्बल र कुन कमसल भनेर पाठकहरु हरेक वर्ष अलमलिने गर्छन् । हुन पनि विषयवस्तु तथा शैलीका हिसाबले गहकिलो पुस्तक छान्नु कठिन भइदिन्छ ।

यसै सन्दर्भमा हामीले ०७३ सालका उत्कृष्ट १० पुस्तक छान्ने प्रयास गरेका छौं ।

समकालीन आख्यान तथा गैरआख्यानमा रमाइरहेका तीन जना समालोचकको सहयोगमा उत्कृष्ट पुस्तकको सूची तयार पारिएको हो ।

यस क्रममा अनलाइनखबरले तीन जनाको सूची बनाएको थियो । विषयवस्तुको ओज, शैलीगत नवीनता, खास विशेषता आदिका आधारमा पुस्तकको सूची बनाइदिन समालोचकहरु महेश पौड्याल, गुरुङ सुशान्त र समीक्षक एवं निबन्धकार कुमारी लामालाई अनुरोध गरेका थियौं ।

उनीहरुले वर्षभरि प्रकाशित सबै पुस्तक पढेर यो छनोट गरेको नभई आफ्नो पहुँचमा आएका केही पुस्तकहरु पढेको आधारमा यो सूची बनाएका हुन् ।

छानिएका पुस्तकहरुमा कमजोरीहरु भए पनि आएकाहरुमध्येमा आफूलाई राम्रो जँचेका पुस्तकहरुमा सूचीमा राखेको उनीहरुले उल्लेख गरेका छन् । उनीहरुले सिफारिश गरेका पुस्तकहरुका आधारमा साझा नाम र प्राथमिकतामा परेका उत्कृष्ट १० पुस्तकको सूची यस्तो छः

कम्प (उपन्यास, शारदा शर्मा)

यो उपन्यासबाट शारदा शर्माको लेखनमा एउटा तिलस्मी धारको प्रवेश भएको छ । आख्यान निकै प्रवाहवान छ । दैवी प्रकोप, मानवीय स्वभाव, मिथक र नारी गरी चार गहन विषयवस्तुको कुशल संयोजन यो पुस्तकमा पाइन्छ ।

अहिलेको सामाजिक तथा राजनीतिक बेथितिलाई गरुड पुराणको विषयसँग समानान्तर रुपमा लगेर सुन्दर शैलीमा लेखिएको छ ।

शुक्रराज शास्त्रीको चश्मा (कथा, राजेन्द्र पराजुली)

– राजनीतिक एवं सामाजिक कथाहरु खासगरी काठमाडौंको काँठ क्षेत्रको बासिन्दाको दृष्टिकोणबाट लेखिएका छन् । कथाहरु समयको प्रवाहलाई समाउँछन् र एउटा नागरिक तथा सञ्चारकर्मीको टिप्पणीसहित बग्छन् । राजेन्द्रको गद्य राजनीतिले समयको क्यान्भासमा कोरेका कुरुप विम्ब हुन् ।

सामाजिक एवं राजनीतिक कुरीतिको पर्दाफास गरिएको यी कथाहरुमा अहिलेको धूमिल समयको यथार्थ चित्रण गरिएको छ ।

घाटमान्डु (फिक्सन, नन-फिक्सन एन्ड अदर एडिक्सन्स, कुमार नगरकोटी)

नगरकोटीको लेखनको ब्रान्ड अर्थात् स्वैरकल्पनाको प्रयोग यो कृतिमा अझ सबल देखिन्छ । लेखकले विधा र भाषाको परम्परागत पर्खालमा दरिलो धक्का दिएका छन् । समकालीन लेखनमा सबैभन्दा पृथक् खेमाको एक्लो लिडर नगरकोटीको घाटमान्डुमा पाठकले अनेक सुविधा र कष्ट एकसाथ बोनस पाउँछन् ।

म स्त्री अर्थात् आइमाई (कविता, सीमा आभास)

कविताहरु नारीवादी भए पनि कवि आभासले तर्कको मोहमा परेर कविताको लालित्यसँग सम्झौता गरेकी छैनन् । कवि लैङ्गिक समन्वयकै माध्यमबाट समतामूलक समाजको विकास गर्ने पक्षमा देखिन्छिन् । कविताको स्वर ठूलो छ, र तर्कसङ्गत पनि छ ।

महिलाको अस्तित्वको पहिचानका विषयमा लेखिएका कविता महिलाका पीडा, सुख-दुःख अनि अनुभवको एकमुष्ठ दस्तावेज हो ।

इति (उपन्यास, उमा सुवेदी)

एउटी बालिकाको आँखाबाट वयस्क संसारको अवलोकन गरिएको यो उपन्यासले नयाँ विषयहरूको उठान गरेको छ । मेची अञ्चल र विशेष गरी झापा जिल्लाको सीमावर्ती इलाकामा व्याप्त हात्ती आतङ्क, सुपारी तस्करी र नवसामन्तवादको चपेटमा त्यहाँको जनसाधारणको जीवनमा परेको प्रभाव यस उपन्यासले उठाएको छ ।

यसका साथै भूमाफिया र पुँजीवादले ल्याएको विकृतिलाई पनि चित्रण गरिएको छ ।

डाक्टर चित्र (आत्मकथा, चित्रप्रसाद वाग्ले र पूजा पराजुली वाग्ले)

यो एक समाजसेवी डाक्टरको प्रेरणादायी जीवनकहानी हो । जसले अर्घाखाँचीसहित विभिन्न दुर्गम भेगमा गएर सेवा गरे । तर, पछि क्यान्सरबाट पीडित भएका यी डाक्टरले आर्थिक अभाव र कष्ट झेल्दै जीवन त्याग्नुपर्‍यो ।

साउने झरी (कथा, अभिमन्यु निरवी)

– ०७३ सालमा आएका कथाका थोरै संग्रहमध्ये साउने झरी उल्लेख्य हो । आग्रहबाट मुक्त, मान्छेका शक्ति र कमजोरीको इमान्दार अभिव्यक्ति कथाहरुमा पाइन्छ । अत्यन्त साना र सूक्ष्म विषय उठाइए पनि ती मान्छेको जिन्दगीको गतिलाई मज्जाले प्रभाव पार्ने खालका छन् । कथाकार निरवीले सूक्ष्म घटनाबाट वैश्विक दृष्टिविन्दू निर्माण गर्ने काम गरेका छन् ।

भूराजनीति (गैरआख्यान, गोपाल खनाल)

नेपालमा पछिल्लो समय बहसमा रहेको राष्ट्रवाद र नेपाली भूराजनीलिाई छाम्न यो पुस्तकले केही सहयोग गर्नेछ । राजनीतिक अध्येता र पत्रकारको लागि पुस्तक पठनीय छ ।

रोल्पा सुइना (कथा, नवीन विभास)

जनयुद्धको विषयमा विभिन्न पुस्तक लेखिए पनि नवीनको यो कथासंग्रह वस्तुनिष्ठ लाग्छ । राजनीतिक रुपमा सचेत लेखक हुन् नवीन । रोल्पा सुइनाले उनको छवि थप उज्यालो बनाएको छ ।

रोल्पाली भूगोलको जीवनकथा र राजनीतिक द्वन्द्वको परिवेश पनि यसको उत्कृष्टताको एउटा आधार हो ।

आफर (कविता, उन्मुक्त पुस्ता)

यो कृतिमा आठ कविका कविताहरु समेटिएका छन् । दलित मुद्दामाथि योजनाबद्ध रुपमा लेखिएको कविताहरुको प्रभावशाली संग्रह हो । कलाको कोणबाट हेर्दा सबै कविता अब्बल छैनन्, यद्यपि सामाजिक न्यायका विषयमा भएको सामूहिक काव्यिक कर्मलाई नेपाली पाठकले पढ्नैपर्छ र बहस पनि गर्नुपर्ला । समग्रमा दलित र पीडित वर्गको पीडाको उन्मुक्तिको दस्तावेज हो यो कृति ।

यी पुस्तक पनि उल्लेख्य रहे

०७३ सालमा आख्यानसँगै गैरआख्यानले पनि पाठकको विशेष माया पाए । यसमध्ये वैदेशिक रोजगारीमा जाने नेपाली युवाको नियति र यसले समाजमा पारेको असर खोतल्ने पत्रकार जनकराज सापकोटाको ‘कहर’ विशेष चर्चामा रह्यो ।

‘कहर’ कै सापेक्षमा स्वर उठाउने गरी  नेपाली युवाको खाडी-जिन्दगी चित्रण गरिएको मीनराज बसन्तको ‘मुदिर’ उपन्यासले पनि एक तहमा चर्चा पायो । कान्छा उपन्यासकारले पहिलो आख्यानमै गहकिलो विषय उठाएकोमा उनले तारिफ बटुले ।  यस्तै, वर्षको आखिरीमा प्रकाशित श्याम सिंघकको ‘रेमिटल्याण्ड’ उपन्यासले पनि रेमिट्यान्सको उज्यालोमुनि छोपिएको नेपाली समाजको खण्डित मनोदशा उजागर गरेको छ ।

आत्मकथा/संस्मरणमा यो वर्ष पाठक जमातलाई तरंगित पार्ने केही पुस्तक आए । त्यसमध्ये कुनै समय एमालेका प्रभावशाली नेता तथा राजाको शासनकालमा मन्त्री भएपछि बदनाम भएका नेता राधाकृष्ण मैनालीको आत्मकथा ‘नलेखिएको इतिहास’ उल्लेख्य रह्यो । पुस्तकमा मैनालीले विगतका राजनीतिक परिघटनाको भण्डाफोर गरिदिएपछि त्यसले एमालेको एउटा वृत्तमा तरंग नै ल्याइदियो ।

वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरण ‘आगो निभेको छैन’ पनि नेपाली राजनीतिको एउटा खण्ड बुझ्न सघाउने कृति हो । समीक्षक गुरुङ सुशान्तका अनुसार, यो संस्मरण लामो समय पत्रकारितामा संलग्न एक सचेत नागरिकले नेपाली क्रान्तिलाई कसरी हेर्न सक्छ र हेर्छ भनी बुझ्ने आँखीझ्याल हुन सक्छ ।

सुशान्तको रोजाइमा किशोर नेपालको निबन्धसंग्रह ‘राक्षसको गीत’ र खगेन्द्र संग्रौलाको ‘उत्तरआधुनिक अन्तरेपथ’ पनि परेको छ । उनी भन्छन्, ‘उत्पीडित र निमुखाको पक्षमा निरन्तर पैरवी गरिरहने निडर लेखक संग्रौलाले यस पुस्तकमा पनि राज्यको असंवेदनशीलतामाथि मुक्का प्रहार गरेका छन् भने खँदिलो गद्यमा भावुकता र बौद्धिकताको घुलन गर्ने सिद्धहस्त लेखक किशोरको निबन्धसंग्रहमा विगत र वर्तमानको सग्लो चित्र भेटिन्छ ।’

किशोरको पुस्तक काठमाडौंको समाजशास्त्रीय अध्ययन गर्न चाहनेको लागि यो सहयोगी हुन सक्ने उनको विचार छ ।

दलितहरुको कष्टकर जीवन र संघर्षको कथाबारे शरद पौडेलको उपन्यास ‘तपन’ र निनु चापागाईँको समालोचना ‘पूर्ववाद र सइदेली विचार’ पनि यो वर्ष सुशान्तको नजरमा बसे ।

कवि/पत्रकार फूलमान वलले १२ वर्षअघि ‘काजोल खातुन’ कथासंग्रह ल्याउँदै आफूलाई कुशल कथाकार साबित गरेका थिए । उनले केही नयाँ कथाहरु थपेर फेरि ल्याएको सो संग्रहले पनि यस वर्ष पाठक माझ राम्रो असर देखायो । जनयुद्धका अँध्यारा पक्षहरु केलाउन यो पुस्तकले मद्दत गर्न सक्छ ।

पछिल्ला वर्षहरुमा प्रकाशित नेपाली उपन्यासमा खासगरी प्रेम र राजनीतिक परिवेशका कुराले बढी ठाउँ पाएका छन् । यस्तो अवस्थामा समालोचक महेश पौड्यालले ०७३ मा प्रकाशित कृतिहरुमा राज सरगमको ‘छाउघर’ मा नयाँ कुरा भेटे ।

सुदूरपश्चिम नेपालको छाउपडी प्रथाको विषय पहिलो पटक यसरी आख्यानमा आउनुलाई विषयको नवीनता भन्दै उनी थप्छन्, ‘सुदूर पश्चिमको दुर्गम परिवेशमा छाउपडी प्रथासँगै त्यहाँ विद्यमान सामाजिक, शैक्षिक परिवेश र परम्पराको पकड यस किताब मार्फत मज्जैले अनुभव गर्न पाइन्छ ।’

यस्तै, पौड्यालको नजरमा कृष्ण धरावासीको हालै प्रकाशित लीलालेखनबारे व्याख्या गरिएको कृति ‘लीलाबोध’ दुर्लभ कोटिको हो । समालोचनाको वृत्तमा मौलिक नेपाली पद्दति र शैली नभएको खडेरीलाई चिर्ने लीलालेखनबारेको धेरै उत्तर यो कृतिले दिएको उनको ठम्याइ छ ।

एक समय निबन्धमै मदन पुरस्कार जितेका युवराज नयाँघरे निरन्तर लेखनमा आइरहेका सर्जक हुन् । यस वर्ष उनले नियात्रा संग्रह ‘हाराबारा’ प्रकाशनमा ल्याए । निबन्ध विधामा कमै पुस्तक आइरहेको सन्दर्भमा गाउँबेंसीको ठेट भाषाशैली प्रयोग गर्ने उनको लेखन रुचाउने पाठकका लागि यो मीठो कोसेली भइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment