+
+
Shares

मुसहर वस्तीमा ‘कविला युग’ सकियो, नयाँ युग आयो !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १ गते १७:३०

महेन्द्र राजमार्गले मध्यबाट चिरेर गएको छ, बर्दिबास बजारलाई । पूर्वी-पश्चिम नेपाललाई राजधानीसँग जोड्ने सम्भवत देशकै सर्वाधिक व्यस्त राजमार्ग हो, यो । अहिले वीपी राजमार्गको संगमस्थल पनि हो, बर्दिबास ।

बाह्रैमास चहल-पहल हुने बर्दिबास बजार रातभर जागै हुन्छ । बजारको आयतन बढेको बढ्यै छ । आधुनिक संरचना र सेवा सुविधाले परिपूर्ण हुँदैछ । ठ्याक्कै यही बिन्दुबाट डेढ किलोमिटरको दुरीमा राजकिरण महतोले सीताराम-कुञ्जनालाई डोर्‍याउँदै यस्तो बस्तीको सम्मुखमा पुर्‍याए, जसले आदिम सभ्यताको झल्को दिन्थ्यो ।

एकै ठाँउ खुम्चिएका स-सना घर । घर के भन्नु, झुप्रा । सग्लो ज्यान मुस्किलले अटाउने त्यही झुप्राभित्र ओछ्यान पनि, अँगेना पनि । आरामसाथ खुट्टा तन्काएर बस्न नसिकने । छेवैमा सुँगुरको खोर, यत्रतत्र फोहोर र दुर्गन्ध ।

दर्के झरीले छानो चुहिएला कि भन्ने पीर, हुरीबतासले झुप्रो उडाउने डर । त्यही झुपडीमा कोचिएर मुसहरहरुले कहिले ४२ डिग्री सेल्सियसको प्रचन्ड राप झेले । कहिले न्युनतम ५ डिग्री सेल्सियसको कठ्याग्रिँदो ठिही खेपे । न आङमा गतिलो लुगा थियो, न खुट्टामा जुत्ता-चप्पल । एक छाक पनि भरपेट खान धौ-धौ हुने । उनीहरुका वालवालिकाले कसरी विद्यालयको संघार टेकुन् ? कसरी अस्पतालको अनुहार देखुन् ?

मरनीले भोगेको शताब्दी !

तिथिमिति थाहा छैन, मरनी सदालाई, जतिबेला उनी दुलही बनेर त्यहाँ आइपुगिन्, त्यसबेला जताततै जंगलै जंगल थियो ।

करैले मरनी बोलिन्, ‘जंगल फाँडेर बस्यौं ।’

मरनी १०८ वर्षकी भइन् । उनी कुँजिएकी छिन् । तर, अहिलेसम्म अस्पताल गएकी छैनन् । किन ? उनी भन्छिन्- ‘उपचार गर्ने पैसा छैन ।’

मुसहर समुदायमा मरनी अपवाद हुन्, यति लामो आयु बाँच्ने । किनभने गर्भैदेखि रोग र भोकले थलिएको यो समुदायमा मरनीको आधा उमेर बाँच्नेहरु कमै छन् । सबै रोगी छन्, कमजोर छन् । अनुहार चाहुरिएको छ । हात-खुट्टा सुकेका छन् । आँखामा चमक छैन ।

एक महिला, जसको उमेर २५ वर्ष पुग्यो, झट्ट देख्दा उनी पाको र जीर्ण देखिन्छिन् । उनको ज्यानमा बिहान-बेलुका भात पकाउन बाहेक केही गर्ने ताकत छैन । झुप्रोमा अढेसिएर बसेकी उनी भन्छिन्, ‘पेटको रोग छ । अस्पताल जाँदा अप्रेसन गर्नुपर्छ भन्यो । मसँग पैसा भएन । गोली -औषधी) दिएको थियो, त्यो पनि सकियो ।’

एकाध बाहेकलाई थाहा छैन, आफ्नै उमेर पनि । चौध/पन्ध्र बर्षमै धेरैजसो आमाबाबु बनेका छन् ।

केही हप्ताअघि १९ बर्षे एक किशोरले बिहे गरेका छन् । बिराटनगरमा मजदुरी गर्न गएका उनले आफ्नै समुदायकी किशोरीलाई भगाएर महोत्तरी ल्याएका हुन् ।

हामीले देख्यौं, रोगले थलिएर पल्टिरहेका बुढाबुढीहरु । एउटै थालमा चिसो भात कपाकप खाइरहेका लालाबालाहरु । काखे बच्चालाई सकी नसकी दूधको लाम्टा चुसाइरहेका किशोरी आमाहरु ।

‘हामीले यहाँको पुराना मुसहर बस्तीलाई जस्ताको तस्तै सर्लक्कै उता सारेका हौं,’ मुसहरको अस्थायी झुप्रोतिर औंल्याउँदै सीताराम कट्टेल सुनाउँछन्, ‘अहिले तपाईले जुन दृश्य देख्नुभयो, त्योभन्दा विरक्तलाग्दो थियो पहिलेको अवस्था ।’

अँध्यारोमा बाँचेकाहरु

तीन महिनाअघि सीताराम-कुञ्जना मुसहर बस्तीमा पुग्दा सबैजना डराएर झुपडीभित्र पसेका थिए । उनीहरु बोल्न हच्किए । खुला समाजमा आफ्नो अनुहार देखाउन सक्दैनथे । खुलेर मनको बह पोख्न सक्दैनथे । लाज र डर भन्दा पनि आत्मग्लानी थियो उनीहरुभित्र ।

मञ्जय सदा भन्छन्- ‘हामी सबैभन्दा सानो हौं, गरिब हौं, हामीलाई सबैले हेला गर्छन् भन्ने लाग्थ्यो ।’

मञ्जयसमेत नौलो मान्छे बस्तीमा छिर्नासाथ लुसुक्क झुपडीभित्र लुक्थे । धुर्मुस-सुन्तलीलाई पहिलो पटक देख्दा उनी त्यसैगरी लुकेका थिए ।

मुसहर समुदायका पुस्तैपुस्ताले यसरी नै आफूलाई लुकाइरहे । अनुहार लुकाए, आवाज लुकाए, रहरहरु लुकाए, बाध्यताहरु लुकाए । उनीहरुसँग जति दुख थियो, जति पीडा थियो, जति वेदना थियो, आफैंभित्र गुम्सिएको थियो । आफ्नो पीडा कसलाई भन्ने ? मनको बह कहाँ पोख्ने ? कसैले सुने पो ।

आसपासमा मानिसहरु भन्थे- ‘यिनीहरु तुच्छ जाति हुन् । यिनीहरुले छोएको पानी खानुहुन्न ।’

समाजले कहिल्यै मुसहर समुदायको अस्तित्व स्वीकार गरेन । बरु उनीहरुको बिरुप जीवनशैलीको रमिते बन्यो ।

मुसहर रक्सीले टिल्ल भएर लडेको, मुसहरले झिंगा भन्किरहेको चिसो भात चपाइरहेको, मुसहरको आङको लुगा फाटेको, मुसहरको झुप्रो चुहिएको हेरेर भद्दा मनोरञ्जन लिए समाजका ठूला हौं भन्नेहरुले ।

 

त्यसो नहुँदो हो त, मञ्जय सदाले स्कुलको संघार टेक्न त्यति विध्न संघर्ष गर्नुपर्ने थिएन । जब उनी आफ्नो बस्तीबाट विद्यालयका लागि निस्कन्थे, कसैले देख्छ वा गाली गर्छ भन्ने कुराले भित्रभित्रै त्रस्त हुन्थे ।

‘स्कुलमा साथीहरु थिएनन्’ मञ्जय भन्छन्, ‘कसैले मेरो संगत गर्न नै चाहँदैनथे ।’

मञ्जय एकमात्र त्यस्ता पात्र हुन्, जसले प्लस टुसम्म अध्ययन गरेका छन् । त्यसैले त उनी आफूमाथि भइरहेको दमन, अपहेलना र पक्षपात महसुस गर्न सक्थे ।

मुसहर बस्तीमा पिउने पानी थिएन । उनीहरु निकै टाढाका खोलाबाट प्यास मेट्थे । शौचालय थिएन, बिहानको झिसमिसेमै बारीको कान्लामा पुग्नुपथ्र्यो । आसपासका घरहरु बिजुलीले झिलिमिली थिए । तर, मुसहर बस्ती अँध्यारो ।

उनीहरुले आफूलाई त्यही अध्याँरोभित्र लुकाएरै पुस्तौपुस्ता गुजारे ।

कविला युग गयो, नयाँ युग आयो !

धुर्मुस-सुन्तली फाउन्डेसनले पुरानो मुसहर बस्ती भएकै स्थानमा ‘एकीकृत नमुना बस्ती’ बनाइदिएको छ अहिले । र, अब यो वस्तीमा नयाँ वर्षको घामको किरण सँगै सुरु भएको छ नयाँ युग । नयाँ जीवन-चक्र ।

अब यो आदिवासी वस्ती हिजो मरनीले भोगेको कविला जस्तो रहेन । यहाँ सुरु भएको छ नयाँ सभ्यता । नयाँ शताब्दी । वस्तीको भित्तामा छापिएका छन्-क, ख, ग, घ र ए, बी, सी, डी अक्षरहरु, जहाँ नयाँ पुस्ताका जिज्ञासु आँखा ठोक्किएका छन् ।

नमूना वस्तीको अघिल्तिर उभिएर सीताराम देखाउँछन्,- ‘ऊ त्यो रुख छ नि, उनीहरुको कुलपूजा गर्ने ठाउँ हो । त्यसको अलि पर सुँगुरको खोर, झुप्रो र फोहोरको डंगुर ।’

 

सीताराम जुन स्थानमा उभिएर ‘फ्ल्यासब्याकमा’ फर्किएका छन्, त्यहाँ अहिले रहरलाग्दा एकनासे घरहरु ठडिएका छन् । त्यहाँ के छैन ? व्यवस्थित भवन छ, शौचालय छ, धारो छ, मन्दिर छ, बाल उद्यान छ, भ्यू टावर छ, चौतारो छ । बाटो, बिजुली सबैथोक छ ।

देशलाई नयाँ बर्षको उल्लासले छोपिरहेकै बेला मुसहर समुदायले यी घरहरुमा प्रवेश गरेका छन् ।

कम्तिमा ५२ घर मुसहरले नयाँ जीवन पाएका छन् । तर, देशभरका लाखौं मुसहर अझै पनि घरबारविहीन छन् । धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा लगायतमा छरिएर बसेका मुसहरको जीवनचक्र गरिबी, अभाव, अपहेलनामै फन्को लगाइरहेको छ ।

अब मुसहर होइन, माझी भन्नुहोस्

‘अब मुसहर नभन्नुहोस्’ बिल्टु सदा भन्छन्, ‘बरु माझी भन्नुहोस्, हामी माझी हौं ।’

 

तीन महिना अघिसम्म यसरी बोल्ने हिम्मत नै थिएन, बिल्टुसँग । नौलो मान्छेको अगाडि उनको शीर झुक्थ्यो । तर, अहिले धक खोलेर भन्न सक्छन्, ‘हामीलाई अब पहिलेजस्तै व्यवहार नगर्नुहोस् । हामी बदलियौं ।’

मुसहरहरु बदलिएका छन् । हिजो अँध्यारो झुपडीमा जीवन गुजारेकाहरुले नयाँ पक्की घर पाएका छन् । हिजो हातमुख जोर्नै नसक्नेहरुले खाएर, पैसा बचाएका छन् । हिजो विद्यालय नदेखेकाहरु अहिले धमाधम पढ्दैछन् ।

‘हाम्रा सबै बच्चा पढ्न जान थाले’ बिल्टु सगर्व सुनाउँछन् । स्थानिय सरकारी विद्यालयमा मुसहरका बच्चालाई निशुल्क पढाउने व्यवस्था गरिएको पत्रकार राजकिरण महतो भन्छन् ।

‘पहिला विद्यालयले विभेद गरेर उनीहरुलाई पढ्ने वातावरण दिइएन’ उनी भन्छन्, ‘पछि धुर्मुस-सुन्तली फाउन्डेनले बस्ती बनाउन थालेसँगै हामीले विद्यालयमा गएर निशुल्क पढाइदिन आग्रह गर्‍यौं ।’

अहिले अधिकांश मुसहर बालबालिका विद्यालय धाउँछन् । त्यही भिडमा छिन्, पि्रयंका सदा ।

पि्रयंकाको उमेर करिब ११ वर्षको भयो । रेडिमेड शैलीमै सही, पि्रयंका फटाफट भन्न सक्छिन्, ‘अब हामीले शौचालयमै दिशा पिसाब गर्नुपर्छ । साबुन पानीले हात धुनुपर्छ ।’

को हुन् मुसहर ? नेपालमा कति छन् ?

मसुहर जातिलाई सरकारी तथ्यांकमा ‘मधेसी दलित’ जातिका रुपमा सूचीकृत गरिएको छ । तर, पश्चिमका केही पहाडी जिल्ााबाहेक यो जातिको बसोबास देशैभरि छरिएर रहेको पाइन्छ ।

पछिल्लो जनगणनाअनुसार देशभरि मुसहरको कुल जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ ।

 

सबैभन्दा बढी मुसहरहरु सिरहामा छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का समथर जिल्लामा उनीहरुको बढी बसोबास पाइन्छ । भने पश्चिम तराईमा निकै कम बसोबास देखिन्छन् ।

बैतडी, बाजुरा, डडेलधुरा, डोल्पा, मनाङ, मुगु, मुस्ताङ र रसुवामा भने मुसहरहरुको बसोबास नरहेको तथ्यांकमा देखिन्छ ।

मधेसी दलितका रुपमा भए पनि कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा उनीहरुको बसोबास निकै कम छ ।

मुसहरको बढी बसोबास रहेका जिल्लाहरु झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट नवलपरासी कपिलवस्तु आदि हुन् ।

मानव सूचकांकमा मुसहर जाति

साक्षरताको हिसाबले मुसहर जाति सन् २००१ मा डोमभन्दा पछाडि थियो । तर, अहिले उनीहरुको साक्षरता प्रतिशत केही बढेको देखिन्छ । साक्षरता दरमा डोम सबैभन्दा पछाडि रहेको जाति हो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र तथा तथ्यांकशास्त्र अन्तरगत प्रकाशित नेपाल सोसल इन्क्लुजन सर्बे-२०१२ को तथ्यांक अनुसार मुसहर जातिको साक्षरता दर २१.८ प्रतिशत मात्रै छ । सन् २००१ मा यो दर ११.१ प्रतिशतमात्रै थियो । सन् २००१ मा मुसहर भन्दा माथि रहेका डोम जातिको साक्षरता तर अहिले २०.२ प्रतिशतमात्रै छ ।

सर्वेक्षण अनुसार कुल मुहसर जातिमध्ये २३. ७ प्रतिशतसँग मात्रै आफ्नो जमीन छ । त्यस्तै कुल जनसंख्यामध्ये ९.९ प्रतिशतसँग मात्रै टेलिभिजनको पहुँच छ । मुसहर जातिमा मोबाइल प्रयोगकर्ताहरु भने ४९.३ प्रतिशत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?