+
+
Shares

शेरबहादुरका साथीः पाइन्ट किन्नेदेखि रक्सी पिउनेसम्म !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २ गते १६:५३

२ बैशाख, काठमाडौं । पुराना पत्रकार पदम ठकुराठीको टाउकामा गोलीको दाग छ । गोलीकै कारण दायाँ आँखाको ज्योति गुमेको छ । पञ्चायत कालमा भूमिगत गिरोहले चलाएको गोली लागेर उनको अवस्था यस्तो भएको हो । ‘राजाकै मान्छे’बाट गोली खाएर पुनर्जीवन पाए पनि ठकुराठी अहिले गणतन्त्र आउँदा पनि ‘राजतन्त्र’कै पक्षमा छन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाचाँहि पञ्चायतकालदेखि नै कांग्रेसका कार्यकर्ता हुन् । तर, देउवा र पदम ठकुराठीवीचको साइनो सम्बन्ध निकै रोचक रहेछ ।

पूर्वप्रधानमन्त्री देउवाका बालसखा हुन्- पदम ठकुराठी ।

देउवा र ठकुराठीवीचको सम्बन्ध सुदुरपश्चिमे हुनुमा मात्रै सीमित छैन । उनीहरुवीच पारिवारिक सम्बन्ध त छँदैछ, देउवालाई डिल्लीबजारमा पाइन्ट किनिदिएको देखि बालुवाटारमा देउवाको निम्तो मान्दै रक्सी पिएकोसम्म दुईजनावीच साइनो रहेछ ।

अनलाइनखबरकर्मीसँगको भेटमा ठकुराठीले देउवा र आफूवीचको पुरानो भावनात्मक सम्बन्ध रहेको र देउवा मनकारी व्यक्ति भएको सम्झना सुनाए । ठकुराठीका अनुसार उनले विगतमा देउवाका लागि ४ सय रुपैयाँको पाइन्टको कपडा किनिदिएका थिए । पाइन्ट सिलाउन उनले थप दुई सय रुपैयाँसमेत देउवालाई दिएका थिए ।

ठकुराठीले लगाएको यो ‘गुन’ शेरबहादुर देउवाले गृहमन्त्री हुँदा पनि तिरे । प्रधानमन्त्री भएपछि पनि देउवाले पाइन्टको गुन बिर्सेनन् । देउवासँगको सम्बन्धको पोयो फुकाउँदै ठकुराठी भन्छन्- ‘देउवा र म डडेलधुराको महेन्द्र हाईस्कुलमा पढ्थ्यौं । देउवा ८ मा पढ्दा म ६ कक्षामा पढ्थेँ । राजनीतिकरुपमा अलग विचारधारा बोकेको भए पनि हाम्रो सम्बन्ध राम्रो थियो । हामी दुबैले त्यही स्कुलबाटै एसएलसी गर्‍यौं र दुबै जना काठमाडौं आयौं ।’

त्यसो त ठकुराठी र देउवा नातेदार पनि हुन् । ठकुराठीकी हजुरआमा देउवा खान्दानकै छोरी हुन् ।

काठमाडौंमा रहँदा सुदूरपश्चिमेलीहरुको सुदूरपश्चिमाञ्चल विद्यार्थी संघ भन्ने थियो । ठकुराठीका अनुसार राजनीतिक विचार अलग भए पनि त्यो कार्यक्रममा उनीहरुको आउजाउ भइरहन्थ्यो ।
काठमाडौंमा देउवाको डेरा मैतिदेवीमा थियो, ठकुराठीको पुनारो बानेश्वरमा । ठकुराठीको ससुराली मैतीदेवीमा थियो । देउवा अविवाहित थिए । दुबैको भेटघाट प्रायः मैतीदेवीमै हुन्थ्यो ।

त्यसबेलाको घटना सम्झँदै ठकुराठी भन्छन्- ‘म ससुरालीबाट डेरामा फर्किँदै थिएँ, मैतीदेवी चोकमा देउवासँग भेट भयो, उनी साथीहरुसँग कुरा गर्दै थिए । ठकुरीलाई देख्नेवित्तिकै देउवाले ‘माननीय ज्यु नमस्कार’ भने । ठकुराठी त्यतिबेला राष्ट्रिय पञ्चायत सदस्य भैसकेका थिए । देउवाले ‘एउटा सानो कुरा गर्नु थियो’ भन्दै ठकुराठीलार्इ अलि एकान्तमा लगे ।

मैतीदेवीस्थित सेतो पुल नजिकै पुगेपछि देउवाले भने- ‘माननीय ज्यू, दशैं पनि आयो, मेरो त एकजोर लुगा पनि छैन, एउटा पाइन्ट हाल्दिनुपर्‍यो ।’

ठकुराठीले भने- ‘देउवाजी, तपाईलाई पाइन्ट किनिदन पाउनु त मेरा लागि सौभाग्य हो ।’

त्यसपछि देउवा र ठकुराठी दुबै डिल्लीबजारको एउटा कपडा पसलमा पुगे । देउवाले एउटा पाइन्ट छाने । मूल्य ठ्याक्कै सम्झेनन् ठकुराठीले । उनले साढे तीनदेखि चार सय रुपैयाँ तिरेको कुरा गरे । पाइन्टको कपडा लिएर देउवा हिँड्नै लागेका थिए । फेरि ठकुराठीले सोधे- ‘सिलाउनलाई पनि त पैसा चाहिएला ?’ देउवाले भने ‘अँ मसँग पैसा नै छैन ।’ ठकुराठीले सिलाउने ज्याला भन्दै दुई सय रुपैयाँ दिए ।

ठकुराठीको बुझाइमा देउवा गुनिला ब्यक्ति हुन् र उनले पछि पनि पाइन्ट किन्देको कुरा गर्थे । त्यसपछि पनि देउवा र ठकुराठीको भेटघाट भइरह्यो । तर, त्यसरी भित्रीरुपमा सरसहयोगको कुरा भएन ।

जब देउवा गृहमन्त्री भए । देउवाले ठकुराठीलाई सम्झे ।

त्यसबेला देउवा खाना खान निम्ता गर्दै ठकुराठीको घरमै गाडी पठाउथे । गृहमन्त्री हुँदा रणबहादुर रावल र ठकुराठीले देउवाकोमा गएर रक्सी पनि खाए । प्रधानमन्त्री भएपछि भने ठकुराठीलाई देउवाको निम्तो अलि बढी नै आयो । ठकुराठी सम्झन्छन्- ‘देउवालाई रक्सी खानुपर्ने पार्टनर नभेटेपछि मलाई फोन गरेर मोटर पठाइहाल्थे । म जान्थेँ । सोल्टी होटलवाट स्न्याक्स आउँथ्यो । त्यहाँ ब्लु लेबल खाने चलन थियो ।’

प्रधानमन्त्री भएपछि देउवाले एकपटक भनेछन्, ‘पदमजी तपाईले मलाई पाइन्ट हाल्देको कुरा बिर्सेको छैन ।

राजनीतिक विचार अलग भए पनि ठकुराठी र देउवाको सम्बन्ध पछिसम्म पनि राम्रै थियो । ठकुरीको भनाइ अनुसार देउवा प्रधानमन्त्री भएपछि उनका कार्यकर्ताले भन्दारहेछन् ‘त्यो पदम ठकुराठीलाई किन केही नदिएको ?’

रक्सी खाने क्रममा एक दिन देउवाले भनेछन् ‘ठकुराठीजी, तपाईलाई किन केही नदिएको भनेर मलाई कार्यकर्ताले दवाब दिएका छन्, तपाई एनआइडीसी -औद्योगिक विकास निगम) को चेयरमेन भैदिनुस् ।’

त्यहाँ ठकुराठीले भने- ‘देउवाजी तपाईले मलाई काम त दिनुभयो तर, मसँग सम्पर्क सम्बन्धै नभएको काम दिन लाग्नु भयो नि ?’ म पुँजीपति पनि हैन, ‘बिजनेस म्यान’ पनि हैन, एनआइडीसीमा गएर म के गरौं ?’

त्यहाँ ठकुराठीले देउवालाई खासै वचन दिएनन् । उनी आफ्ना ब्यापारी, उद्योगी साथीहरुसँग सल्लाह गरेर खबर गर्छु र तपाईलाई जवाफ दिन्छु भनेर फर्किए ।

त्यसपछि विनोद चौधरी, श्रीधर ढुंगेल लगायतसँग ठकुराठीले सल्लाह गरे । उनीहरुले सल्लाह दिए ‘कार्यकारी अध्यक्ष दिने भए जान्छु भन्नुस् ।’ ठकुराठीले देउवालाई गएर त्यही सुनाए । देउवाले ठकुराठीलाई भने ‘कार्यकारी त मैले दिनै मिल्दैन, त्यहाँ एमालेका बीकेमान छन्, मैले तपाईलाई कार्यकारी दिनेवित्तिकै अदालत गएर स्टे अर्डर ल्याइहाल्छन् ।’

‘त्रिचन्द्रमा देउवा रोए’

ठकुराठी विद्यार्थी मण्डलको सभापति थिए । देउवा नेवि संघका नेता थिए । ठकुराठी त्रिचन्द्र कलेजमा पढ्थे । कलेजमा एकपटक कुटाकुट भएछ । नेविसंघ र विद्यार्थी मण्डलको झडप भएका बेला देउवा पनि कलेजमा आइपुगेका रहेछन् ।

केटाहरुले देउवालाई घेरेछन् र विज्ञान भवनको माथि पटि्ट लगेर थुनेछन् । त्यहाँ देउवाले भनेछन्- ठकुराठीजीलाई बोलाइदिनुपर्‍यो ।

ठकुराठी त्यहाँ पुग्दा देउवा कोठामा थुनिएका थिए । ठकुराठी सम्झन्छन् ‘मलाई देख्नेवित्तिकै देउवा रोए । मैले केटाहरुलाई भनें- उसको गल्ती छैन, उसलाई छोड्देओ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?