Comments Add Comment

चुनावी सकसका २८ दिनः उपेन्द्र यादवले जित्लान् कि प्रचण्डले ?

३ बैशाख, काठमाडौं । स्थानीय तहको चुनाव सम्पन्न हुन अब २८ दिन मात्रै बाँकी छ । प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेको चुनावलाई असफल पार्न उपेन्द्र यादवले संघर्षको मोर्चा कसेका छन् ।

‘प्रचण्ड भर्सेज उपेन्द्र’ वीच हुन लागेको यो लडाइँ अब कसले जित्ला ? जनयुद्धको नेतृत्व गर्दै सरकारको मोर्चा सम्हाल्न पुगेका प्रचण्डले जित्लान् या मधेस आन्दोलनको अनुभवबाट दीक्षित भएका उपेन्द्र यादवले ? ढीलोमा अबको ४ हप्ताभित्रै यसको फैसला हुनेछ ।

नेपालको सघन राजनीति अहिले ‘प्रचण्ड भर्सेज उपेन्द्र’ जस्तै बन्न पुगेको छ । चुनाव आउन २८ दिन मात्रै बाँकी रहँदा देशलाई संकटको अँध्यारो सुरुङतर्फ धकेल्ने प्रयास सुरु भएको छ । आइतबार बिहानैदेखि चुनावी आकाशमा तुवाँलो मडारिन थालेको छ ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने बैशाख १६ कै दिन पारेर मधेसी मोर्चा र संघीय गठबन्धनले नेपाल बन्दको घोषणा गरेका छन् । मतदान गर्ने दिनभन्दा ४ दिन पहिलेदेखि अनिश्चितकालीन आम हडतालको घोषणा गरिएको छ ।

अब मधेसी मोर्चाले निर्वाचन बिथोल्न सक्छ ? यो प्रश्नको व्यवहारिक जवाफ आउन नपाउँदै सरकारले घुँडा टेक्ने र चुनाव सार्ने हो कि भन्ने डरले घर गर्न थालेको छ ।
संघीय गठबन्धनले आयोजना गरेको बन्दले चुनावमा के-कस्तो असर पार्ला ? यसबारे विश्लेषण गर्नुपूर्व प्रचण्ड र उपेन्द्र यादवको सम्बन्धका विषयमा संक्षिप्त चर्चा गरौंः

विगतका विद्रोही प्रचण्ड, आगतका विद्रोही उपेन्द्र

वि.सं २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका माओवादी अध्यक्ष प्रचण्ड उमेरका हिसाबले उपेन्द्र यादवभन्दा ६ वर्ष जेठा हुन् । तथापि राजनीतिक-सामाजिक संघर्ष र अनुभवका हिसाबले उपेन्द्र यादव प्रचण्डभन्दा कमजोर खेलाडी चाहिँ हैनन् ।

प्रचण्ड विगतका विद्रोही हुन् भने उपेन्द्र यादव विगत र आगत दुबै समयका विद्रोही नेता हुन् ।

सप्तरीको भगवतपुरमा उपेन्द्र यादवको जन्म हुँदा नेपालमा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको एक हप्तामात्रै भएको थियो । यादव २०१७ साल पुस २५ गते जन्मेका हुन् । उनी ०३२ सालबाट वामपन्थी राजनीतिमा लागेका हुन् ।

पुष्पलाल श्रेष्ठको पार्टीमा काम गरेका उपेन्द्र यादव जनयुद्धताका केही समय निर्वासनमा रहँदा एमाले छाडेर माओवादी लागे । तर, मात्रिका यादव र सुरेश आलेमगरको गिरफ्तारीपछि उनले माओवादी छाडे । माओवादीले यादवलाई मृत्युदण्ड दिने असफल प्रयाससमेत गरेको यादवले बताउने गरेका छन् ।

जनयुद्ध छाडेर माओवादी शान्ति प्रक्रियामा आएपछि उपेन्द्र यादवले अन्तरिम संविधानलाई जलाउँदै मधेस आन्दोलन घोषणा गरे । मधेसमा माओवादीको प्रभाव रोक्नका लागि उपेन्द्र यादव रणनीतिक ढंगले लागेका थिए । यही क्रममा रौतहटको गौरमा २९ जना माओवादीको एकै ठाउँमा नरसंहार भयो ।

पहिलो संविधानसभा र दोस्रो संविधानसभामा उपेन्द्र-प्रचण्डवीचको सम्बन्ध नजिक बन्यो । केही समय ३३ दलीय मोर्चामा उनीहरुले सहकार्य पनि गरे । तर, संविधान बनिसकेपछि अहिलेसम्म आइपुग्दा उपेन्द्य्र यादवले प्रचण्डलाई घेराबन्दीमा पार्ने र आफूले उनको ठाउँ लिने महत्वाकांक्षा बनाएका छन् ।

सम्भवतः यही कारणले हुनुपर्छ, केही दिनअघि मधेसी मोर्चाका नेताहरुसँगको आन्तरिक छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केपी ओली र प्रचण्डबारे तुलनात्मक विश्लेषण सुनाए । त्यहाँ उनले ओली आफ्नो विचारमा प्रष्ट रहेको तर प्रचण्ड भने ओलीभन्दा खराब रहेको व्याख्या सुनाए ।

यादवको यस्तो विश्लेषणले अब संघीय गठबन्धनको मुख्य निशाना केपी ओली भन्दा पनि प्रचण्डतिरै सोझिने प्रष्ट संकेत गरेको छ ।

मधेसी मोर्चालाई सहमतिमा आउन नदिने ‘चाणक्य’ यिनै उपेन्द्र यादव नै हुन् भन्ने कुरा प्रधानमन्त्री प्रचण्डले पनि राम्रोसित बुझेका छन् । केही दिनअघि तमलोपाको पार्टी कार्यालयमा भएको मोर्चाको बैठकमै प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई टेलिफोन गरेका थिए । त्यहाँ प्रचण्डले संविधान संशोधन प्रस्तावलाई मान्ने निर्णय गर्न आग्रह गरे । तर, यादव भने प्रचण्डसँग फोनमै नराम्रोसित जंगिए ।

‘मैले तपाईहरुले भनेजस्तै गर्न खोजेकै हो, तर कांग्रेसले मानेन’ प्रचण्डको यस्तो अभिव्यक्ति आउनासाथ उपेन्द्रले प्रचण्डलाई भने- ‘अनि हामीले चाहिँ मानिदिनुपर्ने ? कांग्रेसले मानेन, एमालेले मानेन भन्दिँदा भैहाल्ने, हामीले मात्रै मानिदिनुपर्ने ?’

राजनीतिमा सक्रिय हुनुपूर्व उपेन्द्र यादवले विगतमा प्राध्यापन र वकालती पेशा पनि गरेका छन् । विज्ञानमा एमएस्सी र कानूनमा स्नातक गरेका यादव प्रचण्डजस्तो भावुक नभएर निकै कठोर खालका नेता हुन् । व्यक्ति र परिवारको समेत वास्ता नगरिकन उनी अहोरात्र काममा खट्न सक्छन् । उनी निकै दृढ ईच्छाशक्ति भएका चतुर राजनीतिक खेलाडी हुन् ।

उपेन्द्र यादवले ४ वर्ष भूमितगत जीवन बिताएका छन् भने १ वर्ष निर्वासन र २ वर्ष जेलजीवन भोगेका छन् । प्रचण्ड अहिलेसम्म जेल परेका छैनन् ।

प्रचण्डले कृषि विज्ञानमा बीएस्सी गरेका छन् भने स्नातकोत्तर -एमपीए) गरेका छन् । उनले ०३१ सालबाट राजनीति थालेका हुन् भने ०३५ सालबाट होलटाइमर बनेका हुन् । प्रचण्ड निर्वासनमा बसे पनि जेल परेका छैनन् । उनले लामो समय भूमिगत राजनीतिमा बिताएका छन् ।

खुल्ला राजनीतिक संघर्षमा उपेन्द्र यादव जति ‘क्याल्कुलेटिभ’ छन्, प्रचण्ड अलि बढी ‘होस्ल्याङे’ छन् । उपेन्द्र निकै कठोर नेता हुन् भने प्रचण्ड चाँडै पग्लने नरम नेता हुन् । सडकमा कठोर नेता र सरकारमा नरम नेता रहेको अवस्थामा हुन लागेको चुनावी समरमा कुनै पनि बेला सरकारले खुट्टा छाड्न सक्ने अनुमान लगाउँदा अन्यथा नहोला ।

प्रधानमन्त्री प्रचण्ड तनावमा परेका बेला साँझमा दुई पेग खाने गर्छन् । तर, शुक्रबार मात्रै उनले मन्त्री गगन थापासँगै रक्सी नखाने पाँचवटा प्रतिवद्धता गरेका छन् । यो अवस्थामा अब प्रचण्डले आफ्नो तनावको व्यवस्थापन पक्कै पनि आवेगमा नभएर सुझबुझपूर्ण ढंगबाटै गर्लान् ।

प्रचण्ड जति नै नरम र भावुक भए पनि उनी १० वर्षसम्म जनयुद्ध हाँकेर आएका नेता हुन् । त्यसेले अबको २८ दिनको तनाव व्यवस्थापन उनका लागि निकै छोटो मेलो हो ।

के अब प्रधानमन्त्री प्रचण्डले देशमा स्थानीय निर्वाचन गराएरै छाड्ने आफ्नो अठोट पूरा गर्लान् ? उनको ह्याऊ को परीक्षाको घडी हो अबको चार हप्ताको चुनौतीपूर्ण समय ।

किनभने लगभग यो कुरा प्रष्टै छ कि निर्वाचन जति दिन पछि सारे पनि उपेन्द्र यादवले स्थानीय चुनावमा सहभागिता जनाउने छैनन् । र, अहिले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई पनि मधेसी मोर्चाले लगभग खारेज गरिसकेको छ । मधेसी मोर्चाले आफ्नो बटमलाइन स्पष्ट गरिसकेको छ, अब प्रष्ट हुने पालो प्रचण्ड सरकारको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment