
४ बैशाख, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै स्थानीय चुनावका लागि पर्याप्त हुन नसक्ने उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेको छ ।
एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर गृहमन्त्री निधीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराए । साथै उनले प्रचण्डलाई चुनाव नगराउन खोजेको हो भन्ने प्रश्न गरेका थिए ।
‘प्रधानमन्त्रीले चुनाव हुन्छ । म मरेपनि चुनाव रोकिन्न भन्नुभएको छ,’ कुराकानीबारे एमाले उपाध्यक्ष गौतमले अनलाइनखबरसँग भने ।
एमालेले घोषित मिति बैशाख ३१ मै देशभर एकै चरणमा स्थानीय तहको चुनाव गर्नु पर्ने जोड दिँदै आएको छ ।
कांग्रेस नेता समेत रहेका गृहमन्त्री निधीले मध्यरातमा ट्वीट गर्दै स्थानीय तहको चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै पर्याप्त नहुने, राजनीतिक व्यवस्थापन अपरिहार्य भएको बताएका छन् ।
एमाले सचिव योगेश भट्टराईले गृहमन्त्रीलाई ऐठन हुँदैमा चुनाव नरोकिने बताए । उनले देशभरका ७४४ स्थानीय तहमा एकैसाथ चुनाव हुने बताए ।
प्रतिक्रिया 4