Comments Add Comment

एमालेको वृहत्तर राजधानीः वाग्मतीमा तालैताल, उपत्यकाबासीलाई ‘स्याटेलाइट सहर’


१८ बैशाख, काठमाडौं । नेकपा एमालेले वृहत्तर राजधानीको अवधारणा पनि अघि सारेको छ । यसरी बन्ने राजधानीमा एउटा मेघा शहरसहित १० वटा अत्याधुनिक स्याटलाइट शहर विकास गर्ने एमालेको योजना छ । साथै उसले वागमती नदीमा तालहरु बनाउने योजना ल्याएको छ ।

एमालेले राजधानीको वृहत्तर विकासलाई समेटेर सोमबार घोषणा पत्र सार्वजनिक गरेको छ । आफ्नो सरकार बनेको दुई वर्षमा नै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई मिलाएर मेघा नगर घोषणा गर्ने एमालेले बताएको छ ।

बृहत्तर राजधानीमा कुन-कुन जिल्ला समेटिन्छन् ?

एमालेको घोषणापत्रमा वृहत्तर राजधानीको अवधारणा अघि सारिएको छ । यसमा काठमाडौं उपत्यकासहित मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र समेटिनेछ ।

त्यसैगरी विदुर र बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यकालाई पनि बृहत्तर राजधानीमा समेट्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।

यसका साथै मेलम्चीसमेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्रसमेत यसमा समाहित हुने एमालेले जनाएको छ ।

एमालेले स्थानीय निर्वाचनको पहिलो वर्षमै अधिकारसम्पन्न राजधानी बनाउने घोषणा गरेको छ । यसका लागि राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना र दोस्रो वर्षबाट गुरुयोजना बमोजिमको संरचना निर्माण थाल्ने उसले बताएको छ ।

एमालेले प्रस्ताव गरेको वृहत्तर राजधानीमा १० वटा स्याटेलाइट सीटी बनाउने घोषणा गरेको छ । घोषणापत्रमा भनिएको छ- ‘विस्तार गरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर विकास गरिने छ ।’

उपत्यकाका भूकम्प प्रतिरोधी नभएको तथा अव्यवस्थित संरचनालाई मुआब्जा दिई अधिग्रहण गरिने र उनीहरुलाई स्याटलाइट शहरमा सार्ने एमालेले प्रस्ताव गरेको छ ।

साथै आगामी ३ वर्षभित्र उपत्यकाबाट सबै कारखाना, इँटाभट्टा र वर्कशपलाई उपत्यका बाहिर लैजाने बताएको छ । ‘राजधानीमा भित्री, बाहिरी र बृहत् गरी तीनवटा चक्रपथ निर्माण गरिनेछ’ एमालेको घोषणा पत्रमा भनिएको छ, ‘सबै चक्रपथ र अन्य सडकमा समानान्तर मेट्रो रेल सञ्चालन गरिने छ ।’

वागमतीमा तालैताल

एमालेले राजधानीको वागमती नदीमा तालहरु बनाउने योजना अघि सारेको छ । वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गर्ने र वाग्मती नदीमा ठाउँ-ठाउँमा बाँध हालेर ताल विकास गरिने एमालेले जनाएको छ ।

एमालेका अनुसार यसरी बन्ने तालको संख्या २० हुनेछ । राजधानीमा दैनिक ५ लाख बाह्य र आन्तरिक पर्यटकहरू रहन सक्ने गरी आवश्यक पूर्वाधार विकास गर्ने पनि उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment