Comments Add Comment

कांग्रेसले कसलाई गृहमन्त्री बनाउँदैछ ? विमलेन्द्र नै फर्कने संकेत

चुनावमा गृहमन्त्रालय खाली नहुने सरकारको दाबी

२० बैशाख, काठमाडौं । चुनावको मुखमा कांग्रेस नेता विमलेन्द्र निधिले राजीनामा दिएपछि अब गृहमन्त्री को बन्ला भन्ने चासो छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ताप्रति असन्तुष्टि जनाउँदै निधीले मनोनयन दर्ताको दुई दिनअघि राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छैन ।

मन्त्री निधीको राजीनामापछि देशको प्रमुख सुरक्षा संगठन नेतृत्वविहीन अवस्थामा पुगेको छ । बैशाख ३१ गते हुन लागेको पहिलो चरणको चुनाव आउन अब १० दिनमात्रै बाँकी छ । तर, गृहमन्त्रीको विषय अझै छलफलमै छ ।

कांग्रेस नेता रमेश लेखकले बुधबार पार्टी कार्यालयमा आयोजित एक जमघटमा भने, ‘पार्टीले चाँडै निर्णय गरेर यो विषय निष्कर्षमा पुर्‍याउँछ, निर्वाचनको मुखमा धेरै लामो समयसम्म गृहमन्त्रालय अन्यौलको अवस्थामा रहँदैन ।’

लेखकले नेतृत्व तहमा यसबारे छलफल भइरहेको जानकारी दिए ।

विमलेन्द्रलाई फकाउने प्रयास

अहिले नयाँ गृहमन्त्रीको खोजी भइरहेको छ । तर, त्यसअघि निधीलाई फकाएर पुरानै जिम्मेवारीमा फर्काउनेबारे कांग्रेस शीर्ष तहमा छलफल भएको छ । तर, प्रधानमन्त्री प्रचण्ड स्वयं भने विमलेन्द्रलाई फर्काउने पक्षमा छैनन् । यदि कांग्रेसले विमलेन्द्रलाई नै फर्कायो भने प्रचण्डले नकार्न सक्ने छैनन् किनकी प्रचण्ड कांग्रेसकै सहयोगमा  प्रधानमन्त्री बनेका हुन् ।

विमलेन्द्र निधीले राजीनामा दिनुको कारणमा महाअभियोग प्रस्ताव सतहमा आएको छ । तर, निधी प्रहरी प्रमुख नियुक्ति प्रक्रियादेखि नै सरकार र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट थिए । उनले सार्वजनिक रुपमा भन्ने गरेका छन्, ‘पार्टी वा सरकारका तर्फबाट प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव आयो, यसबारे मलाई केही शेयर गरिएन । आइजीपी नियुक्तिको प्रकरणले नै महाअभियोग आएको रहेछ । यस विषयमा पनि गृहमन्त्रीसँग छलफल भएन ।’

सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुख नबनाउन आदेश दिएपछि गृहमन्त्री निधीको उपस्थितिविनै बसेको मन्त्रिपरिषद बैठकले प्रकाश अर्याललाई नयाँ आईजीपी बनाउने निर्णय गरेको थियो । यो निधीको चाहाना विपरीत थियो । निधी नवराज सिलवाललाई नै प्रहरी प्रमुख बनाउन चाहान्थे ।

गृहमन्त्रीमा जसको चर्चा छ

निधीले नमानेमा दोस्रो व्यक्ति खोज्ने कांग्रेस नेताहरु बताउँछन् । अहिलेसम्म गोपालमान श्रेष्ठ र रमेश लेखकको नाम चर्चामा आएको छ । दुबै देउवा पक्षीय नेता हुन् । देउवाको विश्वासपात्र लेखकले हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । गोपालमान भने हाल लाभको पदमा छैनन् ।

तर, गोपालमानलाई उपसभापतिमा मनोनित गरेर लेखकलाई नै गृहमन्त्री बनाउनेबारे पनि कांग्रेसमा बहस भइरहेको स्रोत बताउँछ । तर, के गर्ने भन्ने अन्तिम निर्णय पार्टी सभापति देउवाको हातमा छ ।

‘आजसम्म अहिलेकै मन्त्रीहरुमध्येबाट एकजनालाई गृहमन्त्रालयको जिम्मेवारी दिने भन्ने छ । तर, सभापतिजीले के गर्नुहुन्छ हेरौं,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने ।

लेखक गृहमन्त्री बनेमा उनले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जीबनबहादुर शाहीलाई ल्याउने कसरत पनि भएको छ । यसअघि पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका शाहीलाई हाल खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मा दिइएको छ । तर, शाहीलाई भौतिक मन्त्रालय दिनु हुँदैन भन्नेमा पार्टीकै एक खेमा लबिङमा छ । कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘बाहिर राम्रो काम गरेको भनेर हल्ला त छ, तर उहाँले पार्टीको हितमा काम गरेको देखिएको छैन ।’

इन्द्रबहादुरको इच्छा

विमलेन्द्र निधिले राजीनामा दिएपछि गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय चलाइरहेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई नै गृहमन्त्री बनाइदिन अनुरोधसमेत गरेका छन् । तर, प्रचण्डले ‘सल्लाह गरौंला’ भन्दै टार्दै आएका छन् ।

खुमबहादुर खड्का निकट राज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नम्बर-१ का सांसद हुन् । उनी मकवानपुर जिल्ला सभापतिसमेत हुन् ।

प्रचण्डले के गर्छन् ?

कांग्रेसले गृहमन्त्रीमा उपयुक्त व्यक्ति छनोट गरेर देओस् भन्ने चाहाना प्रधानमन्त्री प्रचण्डको छ । प्रचण्ड कांग्रेसको सिफारिसको प्रतिक्षामा छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यू कांग्रेसको निर्णयको प्रतिक्षामा हुनुहुन्छ । कांग्रेसले जसलाई पठाउँछ, उहाँले उसैलाई गृहमन्त्रीमा नियुक्त गर्नुहुन्छ ।’

प्रेस सल्लाहकार आचार्यले चुनावको बेला गृह प्रशासन धेरै दिन नेतृत्वविहीन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment