Comments Add Comment

देउवा सरकारमा सिट सुरक्षित गर्न ‘दुई हप्ते मन्त्री’ बने गच्छदार


२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति कार्यान्वयन गर्ने हो भने प्रधानमन्त्री प्रचण्डले जेठको पहिलो साता सत्ता छाड्नुपर्छ । तर, त्यसको दुई साता अघि ‘सदाबहार मन्त्री’ विजय गच्छदारले भने सत्तारोहण गरेका छन् ।

सोमबार फोरम लोकतान्त्रिक प्रचण्ड नेतृत्वको सरकारमा उप्रधानसहित तीन मन्त्री लिएर सहभागी भएको छ ।

गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेका छन् । उनी १२ औं पटक मन्त्री भएका हुन् भने उपप्रधानमन्त्रीका रुपमा उनको यो चौथो सरकार हो ।

केपी ओली नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री रहेका गच्छदार सुरुमा नै प्रचण्ड सरकारमा जान चाहन्थे । प्रचण्डले आश्वासन पनि दिएका थिए । तर, उपप्रधानमन्त्री नपाएपछि गच्छदार गएनन् । सरकारमा जानुपर्छ भन्दै जितेन्द्र देव लगायतका नेताहरुले दबाव दिए र पार्टीको विवाद उत्कर्षमा पनि पुग्यो ।


तर, विभिन्न कारणले गच्छदारको सत्तारोहण टर्दै गएको थियो । चुनावको मुखमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई कारण बनाएर राप्रपा सरकारबाट बाहिरिएपनि फेरि गच्छदारको दिन सुरु भएको छ ।

उसो त कमल थापा बाहिरिएपनि सरकारसँग बहुमत थियो । यो विस्तार आवश्यक थिएन । तर, शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नु अघि संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको इच्छा छ । र, त्यसका लागि दुई तिहाई जुटाउन प्रयासरत उनले शनिबार गच्छदारलाई बोलाएर मन्त्री पद प्रस्ताव गरे ।

दुई साताकै लागि किन नहोस् गच्छदार तयार भए । उनले आफूले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय लिएका छन्, जुन कमल थापाले लिएका थिए ।

फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेका छन् । देवले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्ने र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि सरकारमा जाने निर्णय भएको बताए । उनको यो भनाइ त औपचारिक तर्क मात्र हो ।


नेताहरुका अनुसार गच्छदार अब बन्ने देउवा सरकारमा सिट सुरक्षित गर्न चाहन्छन् । त्यही योजना अनुसार दुई साताकै लागि भएपनि प्रचण्ड सरकारमा गएका हुन् ।

फोरम लोकतान्त्रिक निकट स्रोतले भन्यो, ‘एजेण्डा त भन्ने कुरा हो । देउवा सरकारमा सहभागिता रहने सुनिश्चित भएपछि अध्यक्ष सरकारमा जानु भएको हो ।’

यदि अहिले प्रचण्ड सरकारमा नजाने हो भने देउवा सरकारमा के होला भन्ने अवस्था नभएको स्रोतको दाबी छ ।

किनकी राप्रपा मात्र होइन, मधेस केन्द्रित दलहरु पनि देउवा सरकारमा जाने सम्भावना खुला नै छ । त्यस्तो अवस्थामा गच्छदार छायाँमा पर्ने सम्भावना छ ।

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment