Comments Add Comment

पोखरामा मेयरका प्रत्यासीले गरे मतदान (तस्वीरसहित )

९६ वर्षीया कुमारी पहिलो मतदाता

३१ वैशाख, पोखरा । पहिलो पटक हुन लागेको स्थानीय तहको चुनाव कास्कीमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । कास्कीको पोखना लेखनाथ महानगरपालिकामा मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका छन् ।

विहान ७ बजेदेखि नै मतदान शुरु भएको छ । मतदाताहरु उत्साहित देखिएका छन् ।

मतदानको सुरु मै पोखरा लेखनाथ महानगरपालिकाका मेयरका प्रत्यासीहरुले मतदान गरेका छन् । मेयरका अधिकांश उम्मेदवारहरुले आ-आफ्ना मतदान केन्द्रबाट मत खसालिसकेको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी रामजी कुँवरले पोखरा ६ लेकसाइडस्थित अन्नपूर्ण प्रावि बैदामबाट मतदान गरेका छन् । उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट दोश्रो मतदाताको रुपमा मत खसालेका हुन् ।

मेयरका एमालेका उम्मेदवार मानबहादुर जिसीले पोखरा-२८ स्थित जनज्योति माविको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले पहिलो मतदाताको रुपमा विद्यालयको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार संघीय समाजवादी फोरम नेपालका हुमबहादुर गुरुङले पनि मतदान गरिसकेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ को लक्ष्मी मावि मतदान स्थलबाट पहिलो मत खसालेका हुन् । उम्मेदवार गुरुङले लक्ष्मी माविको मतदान केन्द्र ‘ग’ बाट मतदान गरेका हुन् ।

राप्रपाकी मेयरकी प्रत्यासी गीता गुरुङले भने मतदान गरेकी छैनन् । उनी विहानैदेखी विभिन्न मतदान केन्द्रको अवलोकनमा रहेकाले दिउँसो मात्रै मतदान गर्ने बताइएको छ । उनको मतदान केन्द्र पोखरा १३ मौला ईश्लामिक हो ।

उपमेयरकी कांग्रेस उम्मेदवार सरस्वती गुरुङले पोखरा लेखनाथ-१४ रामेश्वर मावि मतदान स्थलबाट मतदान गरेकी छिन् । उनले सो माविको मतदान केन्द्र ‘ग’ बाट मतदान गरिन् ।

उपमेयरकी एमाले उम्मेदवार मञ्जु गुरुङ र माओवादी केन्द्रकी उम्मेदवार गोमा ढकालले भने दिउँसो मात्रै मतदान गर्ने बताएका छन् ।

एमाले उम्मेदवार गुरुङको मतदान स्थल पोखरा-लेखनाथ ८ स्थित राम नि.मावि हो भने माओवादी केन्द्रकी ढकालको पोखरा लेखनाथ-६ बैदामस्थित तालवाराही मावि हो ।

पोखराका विभिन्न मतदान केन्द्रबाट जेष्ठ नागरिकहरुले पनि मतदान गरेका छन् । पोखरा २० भलामस्थित महेन्द्र माविको र्‍यालेचौर मतदान स्थलको मतदान केन्द्र ‘क’ बाट ९६ वषिर्या कुमारी गुरुङले मतदान गरेकी छिन् ।

स्थानीय डाँडागाउँ निवासी गुरुङले सो केन्द्रको पहिलो मतदाताको रुपमा मतदान गरेकी हुन् । सोही केन्द्रबाट ८७ वर्षीया धनमाया पौडेलले पनि मतदान गरेकी शिक्षक दीपक पौडेलले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता छन् भने ९८ वटा मतदान स्थल र २ सय १० मतदान केन्द्र छन् ।

समग्र कास्कीमा १ सय ५० मतदान स्थल र कास्कीमा २ सय ८८ मतदान केन्द्र रहेका छन् ।

अन्नपूर्णमा १५ स्थलमा २१ मतदान केन्द्र, माछापुच्छ्रेमा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment