
७ जेठ, पोखरा । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नयाँशक्ती लगायतका दलहरुको बहिस्कारका बाबजुद पोखरा लेखनाथ महानगरपालिकाको मतगणना शुरु हुने भएको छ । तर, विवाद समाधान गरेर मात्र मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका २ सांसद मतगणना स्थल भित्रै धर्नामा बसेका छन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप र मतदान अधिकृतको दुई वटा हस्ताक्षर भएको मतपत्र सक्कली नै भएको निर्णय गर्दै मतगणना अघी बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएपछि मतगणना शुरु गर्ने तयारी भएको हो ।
तर कांग्रेस, माओवादी लगायतका दलहरुले स्वस्तिक छाप र मतपत्र सक्कली भए मुचुल्का उठाउन आग्रह गर्दा त्यसको बेवास्ता गरेर मतगणना गर्न लागेको भन्दै मतगणना बहिस्कार गर्ने निर्णय गरेका हुन् । उनीहरुले मुचुल्का उठाउन आग्रहसहित मतगणना बहिस्कार गर्ने ध्यानाकर्षण पत्र कास्कीका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई बुझाएका छन् । शुरुमा ध्यानाकर्षण पत्र बुझ्न अस्विकार गरेका कर्णले पछि झडप हुने स्थिति आएपछि आधा घण्टापछि बाध्य भएर बुझेका थिए ।
निर्वाचन अधिकृतलाई ध्यानाकर्षण पत्र, गणनास्थलमा धकेलाधकेल
कर्णले ध्यानाकर्षण पत्र बुझ्न अस्विकार गरेपछि मतगणना बहिस्कार गर्ने पक्षले मतगणना स्थल (कोठा) बाहिर तत्काल निस्कन आग्रह गर्दै नाराबाजी गरेका थिए । सो क्रममा एमालेका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको पक्षमा नाराबाजीसहित तत्काल मतगणना गर्न माग गरेपछि प्रहरीसँग सामान्य ठेलाठेल भएको थियो ।
स्थिति तनावपूर्ण बनेपछि कर्ण बाध्य भएर ध्यानाकर्षण पत्र बुझ्न कोठाबाहिर निस्केका थिए । ध्यानाकर्षण पत्र बुझाउनुअघि कांग्रेस कास्कीका सभापति कृष्ण केसीले ध्यानाकर्षण पत्र बाचन गरेर कर्णलाई सुनाएका थिए । सो अवसरमा बोल्दै उनले निर्वाचन आयोगको गम्भीर गल्तीका कारण मतगणना स्थगित भएको आरोप लगाए । उनले सक्कली भएको भए स्वस्तिक छापको मुचुल्का तयार पार्न चुनौति दिए ।
राप्रपाका उपमेयरका उम्मेद्वार रमेश खत्रीले मुख्य निर्वाचन अधिकृत कर्णले जबरजस्ती मतगणना नगर्न आग्रह गर्दा माथीको आदेश भन्दै जसरी पनि मतगणना गर्ने मात्र रटान लगाउँदा विवाद झन् बढेको बताए ।
कांग्रेस सांसद मतगणनास्थलभित्रै धर्नामा
यसैबीच, विवाद समाधान गरेर मात्र मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका २ सांसद मतगणना स्थल भित्रै धर्नामा बसेका छन् । सांसदहरु यज्ञबहादुर थापा र शारदा पौडेल धर्नामा बसेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कास्कीले भने मतगणना शुरु गर्ने बताएको छ । निर्वाचन आयोगले मतपत्र र हस्ताक्षर सक्कली भएकाले स्वस्तिक छाप चाक्लो हुँदैमा केही फरक नपर्ने भन्दै साँझ ८ बजेदेखी मतगणना शुरु गर्न भनेर पत्र पठाएपछि जिल्ला निर्वाचन कार्यालयले मतगणना शुरु गर्ने तयारी गरेको हो । उसले मतगणना शुरु गर्ने भन्दै प्रतिनीधि पठाउन दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारलाई आग्रह गर्दै पटक-पटक माईकिङ गरिरहेको छ । कांग्रेस-माओवादीले बहिस्कार गर्ने भन्दै प्रतिनीधि नपठाएपनि एमालेले भने प्रतिनीधि पठाएको छ ।
मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बहिस्कारका बाबजुद मतगणना जारी राख्ने बताएका छन् । निर्वाचन आयोगको निर्देशन भन्दै भने,‘बहिस्कार गर्ने भनिएका दलहरुले प्रतिनीधि नपठाएपनि मतगणना हुन्छ, आउनेहरु आउनुहुन्छ, नआएपनि फरक पर्दैन, हामी कानून् बमोजिम अघी बढ्छौं, उहाँहरु अनुपस्थित भएको अवस्थामा पनि हामी मतगणना जारी राख्छौं ।’
प्रतिक्रिया 4