Comments Add Comment

वास्तविक गणतन्त्र र गणतन्त्रका सारथी

भर्खर हिजोमात्रै हामीले गणतन्त्र दिवस मनायौं । गणतन्त्र दिवस संसारका सबै मूलुकमा मनाउने गरिँदैन। गणतन्त्र दिवस मनाउने देशहरुमा पनि गणतन्त्र दिवस मनाउनु पछाडिका उद्देश्यहरु पनि सबै देशमा समान छैनन्।

जस्तो इटालीका नागरिकहरुले जून २ का दिन लाई गणतन्त्र दिवसको रुपमा मनाउने गर्छन् जुन दिन इटालीका नागरिकहरुले ‘गणतन्त्र कि राजतन्त्र’ भन्ने जनमत सङग्रहमा सन् १९४६ मा गणतन्त्रको पक्षमा मतदान गरेका थिए।

भारतमा २६ जनवरी १९५० देखि भारतिय संविधान लागू भएको थियो जुन संविधानले बिर्टिस संसदले बनाएको ‘गभर्मेन्ट अफ इन्डिया एक्ट १९३५’ लाई खारेज गरिदिएको थियो। भारतीयहरु २६ जनवरीलाई नै गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछन्।

हाम्रो सन्दर्भमा भने २०६५ जेष्ठ १५ गते संविधान सभाको पहिलो बैठकले साढे दुई सय वर्ष पुरानो राजतन्त्रलाई खारेज गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो त्यहि दिन जेष्ठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आइरहेका छौं।

त्यस दिनको बैठकले तत्कालिन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र दरबार छोड्न आदेश गरेको थियो। उक्त साहसिक आदेशको जगमा खडा भएको गणतन्त्र २०७४ मा आइपुग्दा, १० औं गणतन्त्र दिवस मनाउँदै गर्दा गणतन्त्र निकै बलियो भइसकेको अनूभुत गर्न कञ्जुस्याईं गर्नु पर्ने बलियो कारण छैन।

मूलुकले संविधान पाए सँगै गणतन्त्र संस्थागत भइसकेको छ। गणतन्त्रको विषयमा षड्यन्त्र गर्ने समूहको स्वर निकै मसिनो रुपमा कहिले काहि सुनिए पनि त्यो निर्णायक अवस्थामा छैन। गणातान्त्रिक चेतनाका अगाडी राजतन्त्रको स्वर निकै फिक्का भइसकेको छ।

गणतन्त्र नेपाल त्यो साझा विन्दु थियो, जसले युद्धमा होमिएको तत्कालिन नेकपा माओवादी र राजासहितको प्रजातन्त्रमा रहेका संसदिय दलहरुलाई एकै ठाउँमा ल्याइ पुर्याएको थियो। माओवादीहरुले शान्ति र लोकतन्त्र मान्ने र संसदिय दलहरुले संविधान सभाको एजेण्डा स्वीकार्ने जुन सम्झौता भएको थियो, त्यसकै परिणाम हो गणतन्त्र नेपाल।

गणतन्त्र नेपालले थुप्रै आरोह अवरोह सँग पौठेजोरी खेलि सकेको छ। पहिलो संविधान सभाको बिघटनले गणतन्त्रको भविष्यमा संकट पैदा गरेको थियो। दोस्रो संविधान सभामा पनि कसैको स्पष्ट बहुमत थिएन, तर पनि संविधान जारी भएर नै छोड्यो। संविधान जारी गर्दा केहि जन प्रतिनिधीहरुको गुनासो रहेर संविधानमा ल्याप्चे नलगाए पनि, उक्त समूहको गणतन्त्रको विषयमा भने गौरव यथावत कायम नै छ।

विश्वकै समावेशी चरित्र बोकेको भनिएको संविधान सभाले समावेशी गणतन्त्रको वकालत गरेको छ। यही बलियो गणतन्त्रको जगमा एक मधेसी समुदायको राष्ट्राध्यक्ष र एक महिला समुदायको राष्ट्राध्यक्ष मूलकले पाइसकेको छ। गणतन्त्रको उर्जाको आधारमा नै संविधान जारी हुन सफल भएको हो। गणतन्त्र नै त्यो जग हो जसमा संविधान र सहभागिता मूलक लोकतन्त्र उभिएको छ।

लोकमानसिंह कार्की जसले जनआन्दोलन दवाउन सक्रिय भूमिका खेलेका थिए, उनीलाई नै दलहरुले गणतन्त्र पस्चात पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूख वनाइदिए। कमल थापालाई दलहरुले राज्यसत्तामा निर्णायक भूमिका दिइरहेकै छन्। यस्ता कृत्यबाट यदा कदा गणतन्त्र अवमूल्यन भएको हो कि भन्ने महसुस कहिले काहि अवस्य हुन्छ।

गणतन्त्रको घोषणाबाट नेपालीहरुमा जुन आशा र उत्साहको रक्तसञ्चार भएको थियो, त्यो खुसी भने अहिले सम्म आइपुग्दा मत्थर भइसकेको छ। जनआन्दोलनको समयमा श्रवण मूकारुङले रचेको ‘विसे नगर्चीको बयान’ ले देखेको सपनामा उल्झन आइसकेको छ।

ब्यवस्था परिवर्तन भयो, जीवन परिवर्तन भएन। सरकार परिवर्तन भए, संस्कार परिवर्तन भएनन्। एउटा राजाको समाप्तिले थुप्रै राजाको उदय भयो।

गणतन्त्रको सपनामा राजाको अनुपस्थिति मात्र परिकल्पना गरिएको थिएन। नागरिकहरुले रोजगार, विकास, अवसर, सहिष्णुता र शान्ति पनि खोजेका थिए।

०६५ सालमा मलेसिया र खाडीको योजना बनाउनु पर्ने युवकको कथा आज ०७४ मा प्रवेश गर्दा पनि बदलिएको छैन। ति युवकलाई पनि गणतन्त्रको महसुस हुन सकेको छैन।

०६५ सालमा घुमेका सडक गल्लिहरु उस्तै छन्, अझ मक्किएका छन्। त्यहाँ गणतन्त्र पुग्न सकेन।

मध्य पश्चिम र सूदुर पश्चिमका पहाडहरुमा न उपचारका लागी चिकित्सक छन् न औषधि नै। त्यहाँ गणतन्त्र पुग्न सकेन।

शहरिया मध्यमवर्गका नव युवकहरुले देशमा अवसर देख्न सकिरहेका छैनन्। पढ्ने बहानामा युरोप र अमेरिकामा पुगेर सुगम जिन्दगी बाँच्ने सपना देखिरहेका छन्। यि सपनाहरुमा गणतन्त्रले फेरबदल ल्याउन सकेन।

एउटा निम्नमध्यम वर्गको युवा जमात छ, जुन खाडी पुग्न पनि अप्ठ्यारो मान्छ र युरोप अमेरिका पनि जान आर्थिक हैसियत राख्दैन। त्यो वर्ग कहि लोक सेवाको चर्को प्रतिस्पर्धामा अल्झिएको छ या राजनैतिक दलको कार्यक्रममा सामान्य नियुक्ति वा ठेक्का पट्टाको मेलो मेसोमा अल्झिएको छ। नेपाली गणतन्त्रले यो ठुलो हिस्सालाई पनि समेट्न असमर्थ नै छ। विकास र परिवर्तनको लागी यो समूहलाई समेट्नै पर्छ।

जीवन परिवर्तन गर्नका लागि विदेश गएर ‘लाहूरे’ नै बन्नुपर्ने बाध्यतावाट नेपाली युवाहरु उम्कने वातावरण गणतन्त्रले सृजना गर्न सकेन। “ विदेश जानु पर्छ कि” भन्ने सोच नआएको नेपाली युवा भेट्न दुर्लभ नै होला। यो सोचमा गणतन्त्रले लगाम लगाउन सकिरहेको छैन।

गणतन्त्रको अनूभुत सामाजिक जिवनका आयामहरुमा भेट्न मुस्किल छ। राजनैतिक ठेली, वाद, घोषणा पत्र, संविधान वा सिद्धान्तले जिवन छुन छोड्यो भने तिनिहरुको मूल्य हुँदो रहेनछ। अन्ततोगत्वाः गणतन्त्र प्रति नै वितृष्णा उत्पन्न हुन सक्छ।

परिवर्तन सुनिने मात्र होइन, देखिने र अनुभुत गर्न सकिने हुनुपर्छ। नेपाली नागरिकहरु पढ्न जाँदा विश्वविद्यालयमा गणातान्त्रिक मूल्य देख्न चाहन्छन्। नेपाली नागरिकहरु अस्पतालमा उपचार गर्न जाँदा, सडक चोकहरुमा उभिदा, रोजगार खोज्दै गर्दा गणातान्त्रिक मूल्यहरु अनुभुत गर्न चाहन्छन्।

हुम्लामा खाने पानीको अभाव हुँदा त्यहाँका नागरिकलाई सहयोग गर्न एक दुईवाट संस्था पुगेको समाचार मात्र हामी सुन्न चाहदैनौ, त्यहाँ सरकार पुगेको देख्न चाहन्छौ। मुसहर बस्तीको कारूणिक जिवनमा धुर्मुस सुन्तली मात्र होइन हामीले सरकार पुगेको पनि देख्न चाहन्छौ।

साँच्चिकै भन्नु पर्दा हामी गणतन्त्र काठमाडौका प्रशासनिक केन्द्रवाट सबै नेपालीको घर आँगनमा पुगेको देख्न चाहन्छौ।

के गणातान्त्रिक नेपालका हिमायतीहरुले नागरिकलाई गणतन्त्र महसुस गराउन तयार छन् त रु आजको गणतन्त्रलाई राजतन्त्रबाट खतरा छैन। खतरा हामी बाट नै छ।

हामीले बोकेको एकल जातियतावाद हाम्रो गणतन्त्रका लागि खतरा छ। हामीले बोकेको एकल क्षेत्रीयतावादले गणतन्त्रलाई खतरा छ। हामीले बोकेको संकीर्ण राष्ट्रवादबाट नै गणतन्त्रलाई खतरा छ। हामीले यी गुलिया विषहरुलाई छोड्नै पर्छ।

सरकार र दलहरुले आफैले वाचा गरेका संविधानहरु, ऐन नियमावलीहरु नमान्दा गणतन्त्रलाई खतरा छ। न्यायाधिशहरुको न्यायिक सीमारेखावाट बाहिर निस्किएर राजनैतिक क्रियाशीलतामा रमाउन चाहने लालसाबाट गणतन्त्रलाई खतरा छ।

कर्मचारीहरुले सेवा गर्नु पर्ने नागरिक नै नचिन्ने र ‘राष्ट्रसेवक’ को भूमिकाबाट ओरालो बाटो झर्ने प्रवृत्तिवाट गणतन्त्रलाई खतरा छ।

सदनमा पुग्दै नपुगी सडकबाट नै सबै समाधान खोजिरहेका विभिन्न स्वार्थ समूहबाट नेपाली गणतन्त्रलाई चूनौती छ।

आजको गणतन्त्र जोगाउन गणतान्त्रिक अभियन्ताहरुले अरुतिर औंला तेर्स्याएर उन्मुक्ति पाउने छुट छैन। चुनौति हामीभित्रबाट नै छन्, हामी सुध्रनु नै पर्छ।

विदेशी भाग्यविधाताहरुलाई सरापेर वा गुलामी गरेर स्वाधीन देश निर्माण गर्न सकिँदैन। मध्यमार्गको कुटनीति समाउन आवस्यक छ। हामीले राजनैतिक सीमारेखा बदल्न सायद सक्दैनौ होला। तर, हामी कुटनीति, दुरदृष्टि, अभियान जस्ता उपकरणहरु बदल्न सक्छौं। जबसम्म आफै उभिने ‘आर्थिक तागत’ गणतन्त्र नेपालले जुटाउन सक्ने छैन, तवसम्म हामी स्वाधीन हुन सक्ने छैनौं।

नेपाली गणतन्त्रको धेरै नजिक भारत नै छ। खुला सीमाना, ऐतिहासिक सम्बन्ध, सामाजिक(सांस्कृतिक एकरुपताले हामी भारतसँग नजिकै छौ। भारतसँग उचित दुरी राख्नै पर्छ। तर, हाम्रो चाहना यही छ कि भारत यति नजिक पनि नआइदेओस् न कि हाम्रो सीमानामा नै संकट आओस्,। हाम्रो सार्वभौमितामा नै संकुचन पैदा गर्ने गरी भारतलाई नजिक बनाउने बानी हाम्रा नेताहरुले छोड्नैपर्छ।

चीनको भीमकाय अर्थव्यवस्था र सामरिक संवेदनशीलतालाई नेपाली गणतन्त्रले सम्मान गरेर अगाडि बढ्ने बाटो खोज्नै पर्छ। उत्तरतिरका विशाल हिमालहरु, अप्ठ्यारा भूगोलहरुले हाम्रो सम्बन्ध रोक्न सक्ने छैन, बाधाहरु बलिया छैनन्। प्रविधि र विकासका अगाडी बाधाहरु निकै कमजोर सावित हुने निश्चित छ। बाधा र अप्ठ्याराहरु हामी भित्रको सोचमा छ।

सोचाइका अप्ठ्याराहरु भूगोलका अप्ठ्याराहरु भन्दा अझ भयावह हुँदो रहेछन्।

भारत र चीनको बदलिँदो शक्ती र विश्वस्तरीय सामर्थ्यलाई संकट होइन, अवसरका रुपमा भजाउन नेपाली गणतन्त्र तयार रहनै पर्छ।

भर्खर मात्र १० औ गणतन्त्र दिवस मनाइयो। सो अवसरमा विभूषण र मानपद्ववीहरु वितरण गरियो, कैदी वन्दीलाई माफि दिँदै रिहा पनि गरियो। हामी नागरिकहरु अवसर, रोजगारहरुमा पनि वितरण देख्न चाहन्छौ। हामी नागरिकहरु सदियौंदेखि बाँचिरहेको पछौटे जीवनबाट पनि रिहा हुन चाहन्छौं। मुक्त हुन चाहन्छौं।

पछिल्ला राजनैतिक प्रयासहरुमा थुप्रै सकारात्मक प्रयत्नहरुका पनि अनूभुत गर्न सकिन्छ। जस्तो वन्द हड्ताल घटेका छन्। सरकारहरुले आर्थिक कार्यक्रम मार्फत सुधारिएका आर्थिक सूचकहरुलाई आफ्नो सफलताको मापदण्ड बनाइरहेका छन्। यस्ले सरकार आर्थिक विषयमा संवेदनशील रहेको जनाउ दिइरहेका छन्। बिजुलीको नियमित प्रवाह, सामाजिक सुरक्षा जस्ता कार्यक्रममा पछिल्ला सरकारहरुको अपनत्वको होडबाजी नै देखिन्छ। नेपाली गणतन्त्रका लागी यी सुखद संकेतहरु नै हुन्।
तर, यी प्रयासहरु भने प्रयाप्त छैनन्। यी प्रयासहरुको विस्तार आवश्यक छ। विकासको आकार र गति दुवैमा विस्तार आवस्यक छ।

सूचना प्रविधिमा आधारित नयाँ सम्बन्धहरु समाजमा स्थापित भएका छन्। त्यसको ज्वलन्त र शक्तिशाली उदाहरणको रुपमा सामाजिक सञ्जाललाई लिन सकिन्छ। सामाजिक सञ्जाल मार्फत ‘प्यासिभ मुभमेन्ट’ सधै चलिरहेको नै हुन्छ। नेपाली गणतन्त्र त्यसको साक्षी नै छ। फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल हरुले सार्वजनिक जीवनका क्रियाकलापलाई बलियो निगरानी गर्दै पहरेदारी गरिरहेका छन्।

हामी सभ्यता र विकासले भिजेको गणतान्त्रिक जीवनको अनूभुत गर्न चाहन्छौं।

के गणतान्त्रिक नेपालका सारथीहरुले हामी नेपाली नागरिकहरुलाई हाम्रो वास्तविक गणतन्त्र दिन चाहन्छन् त रु यो कौतुहलको जवाफ हामी भाषण मात्र होइन, छिटो भन्दा छिटो आफ्नै जीवनकालमा महसूस गर्न चाहन्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment