Comments Add Comment

वाह ! कुमार बस्नेतको जोश, नीताको पारंगत नृत्य

५ जून, सिड्नी ।

लै बरी लै लै बरी लै
गाउँँका केटी सबैलाई …

कुरा तीस वर्ष अगाडिको हो । यो गीत गाउँदा कुमार बस्नेत धेरै बिबादमा तानिए । ग्रामीण स्तरबाट उनलाई बहिष्कार गर्नेसम्मको चेतावनी दिइयो । तर, यही गीत आज संगीत पारखीहरूका लागि मनोरञ्जनको अक्सीजनसम्म बनेको छ । ‘यो सब समयको माग र परिस्थितिले उब्जाएको परिणाम हो’ यसै भन्छन बरिष्ठ गायक कुमार बस्नेत ।

उनी शनिबार सिड्नीमा झापाली समाजले आयोजना गरेको सांगितिक कार्यक्रमा प्रस्तुत हुँदा सिड्नीबासी नेपालीहरूले नतमस्तक भएर बस्नेतको स्वागत गरे । समाजका अध्यक्ष दीपक खनालले भने-‘यस्ता सर्जकलाई स्वागत गर्न पाउँनु हाम्रो भाग्य हो’

छोरी भन्दा आमा तरूनी
लिपिस्टिक पाउडरले …

जब बस्नेतले यो गीत गाए तब सिड्नीबासी नेपालीहरूको कम्मर मर्काउन थाले । ‘मैले गाएको यो गीतमा कुनै कृत्रिमता छैन,’ गायक बस्नेतले भने-‘हाम्रै पूर्खाको शब्द र लयलाई टिपेको हुँ, पाखा पखेराहरूको सम्पत्ति हुन यी ।’

यति भन्दै गीत गाएका ७७ बर्षका बस्नेतको यो उमेरको जोश र जाँगर देखेपछि सबै भन्दै थिए-‘ साँच्चै सर्जकको सिर्जनालाई उमेरले छेक्दैन रहेछ ।’

कुमार बस्नेतको जोश, जांगर र गीतसंगीतप्रतिको निरन्तरता अनि समर्पण यूवा पुस्ताको लागि पनि ऊर्जा भएको कुरा समाजका संरक्षक दिनेश पोखरेल बताउँछन ।

तिम्रो बाउलाई सलाम छ
आमालाई नमस्ते
अरूलाई सोध्या छ भन्दिनु …

दर्शक दीर्घातिर अभिनयसंगै ठट्यौली पारामा सलाम गर्दै बस्नेतले यो गीत गाउँदा दर्शकहरूबाट पनि तालीको गड्गडाहट आयो । त्यसपछि बस्नेतले हौसिदै थपे-‘उमेर त मेरो बुढै हो तर तपाईहरूको मामाले जोश बढेर आएको छ ।’

कुमार बस्नेतको कालजयी गीतसंगै यूवा पुस्ताकि अभिनेत्री नीता ढुगांनाको प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो । जब नीता दर्शक दीर्घामा आएर नाच्न थालिन तब दर्शकहरूबाट उनले वाहवाही पाईन । ‘निताको पारंगत नृत्यले दर्शकहरूको मन नै जित्यो ।’ कार्यक्रमका संयोजक राजके गोस्वामीले भने ।

कार्यक्रममा अन्तरराष्ट्रिय झापाली समाजका अध्यक्ष भबानी ओलीको निचोड थियो-‘दुई पुस्ताको एउटै मञ्चको यो प्रसतुतिले साँच्चै सकारात्मक सन्देश दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment