Comments Add Comment

कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो

'पहिलो चरणमै कांग्रेसले ठूलो हार व्यहोर्ने अनुमान थियो'

सौभाग्यवस म पहिलो चरणको स्थानीय चुनावअघि दुई महिनाजति सबै ठाउँमा घुमेर आएको थिएँ । करिव ३०/३५ ठाउँमा मेरो कार्यक्रम थियो र मेरो आफ्नै एजेण्डा थियो । कहीँ सय जना त कहीँ ५ सय मानिसहरुसँग भेटघाट भयो ।

मैले नेपाली कांग्रेसको अवस्था योभन्दा पनि खराब होला भन्ने अनुमान गरेको थिएँ । यो कुरा मैले शेरबहादुर देउवालाई भनेको पनि थिएँ । तपाईको सभापतित्व र भोलि हुने प्रधानमन्त्रीका लागि चुनौती यहाँबाट आउन सक्छ है भनेको थिएँ ।

पहिलो चरणमै मलाई लागेको थियो कि, एमालेले ‘स्वीप’ गर्छ । माहौल पनि थियो । तर, किन भएन ? तीन नम्बर प्रदेशमा नेपाली कांग्रेसले ३५ ठाउँमा प्रमुख जितेको छ । एमालेले झण्डै डबल ६३ ठाउँमा जितेको छ । चार नम्बर प्रदेशमा कांग्रेसले लिड गरेको छ । ४४ ठाउँमा कांग्रेसले प्रमुख जितेको छ भने एमालेले ३४ ठाउँमा जितेको छ । ६ नम्बर प्रदेशमा तीनवटै पार्टीले बराबर जस्तै जितेका छन् ।

यसले के संकेत गर्छ भने काठमाडौं राजधानी आसपासमा सचेत मतदाता छन् । यसको अर्थ अन्तका सचेत मतदाता होइनन् भन्ने पनि होइन । तर, स्वीङ हुने जनमत राजधानी छेउछाउमा बढी हुन्छ । शहरी इलाकाहरुमा बढी हुन्छ, जहाँ रेडियो, पत्रपत्रिकादेखि इन्टरनेट मिडियाको सहज पहुँच हुन्छ । र, नेशनल डिस्कोर्सहरु छलफलमा गएको हुन्छ ।

नेशनल डिस्कोर्समा केही कुरा पछिल्लो चरणमा भयो । केही प्रस्थानहरु यो सरकारले गर्‍यो । त्यसमा दुर्भाग्यले नै भनौं, कांग्रेस सभापति शेरबहादुर देउवाको नाम जोडिन पुग्यो । चाहे राजदूत नियुक्तिमा होस्, चाहे प्रहरी आईजीपी नियुक्तिमा होस्, चाहे महाअभियोगमा नै किन नहोस् ।

कांग्रेस किन यति कमजोर भयो ?

नेपाली कांग्रेस एमालेजस्तो पार्टी होइन । उसलाई भोट हान्ने मानिस कोही कार्यकर्ता छन्, केही समर्थक छन् र केही शुभेच्छुक छन् । कार्यकर्ताले भोट हालिहाल्छन्, समर्थकले पनि जस्तोसुकै परिस्थितिमा धेरै हदसम्म भोट हाल्छ ।

यो रिजल्ट कांग्रेसका लागि ‘वार्निङ बेल’ मात्रै हो । सिरियस ड्यामेज हुन आगामी दिन आउँदैछ, त्यो भनेको प्रदेशको चुनाव हो । त्यसपछि केन्द्रको चुनाव हो । र, त्यसमा कसैबाट सिरियस च्यालेन्ज छ भने त्यो एमाले नै हो

तर, योपटक शहरी शुभेच्छुकले कांग्रेसलाई भोट हालेनन् । नहाल्ने मात्रै होइन, कसैले विवेकशीललाई हाले, कसैले साझा पार्टीलाई हाले ।

अझ ठूलो कुुरा के भइरहेको छ भने हाम्रो शत्रु को भन्ने पहिचान हुँदा नाकाबन्दीपछि भारत भन्ने भएको छ । त्यो भारतसँग फाइट गर्ने को हो भन्दा नाकाबन्दीको पृष्ठभूमिमा एमाले हो भन्ने भयो । एमाले पनि को हो भन्दा खड्ग ओली भन्ने भएको छ ।

भारतको नाकाबन्दीले नेपालमा राष्ट्रवादको उभार आएको छ र त्यो पुँजीजति खड्ग ओलीको जिम्मामा गएर बसेको छ । यो चुनावी परिणाममा मानिसहरुले ‘सर्ट टर्म’ मा भन्दा महाअभियोग प्रस्ताव भनेका छन् । तर, यसमा सबैभन्दा ठूलो असर केहीले गरेको छ भने नाकाबन्दीले छ । हुनेवाला पनि त्यसैले छ ।

दोस्रो चरणको चुनावमा प्रदेश नम्बर १ मा पनि सबैभन्दा ठूलो पार्टी एमाले बन्नेछ । ५ नम्बरमा पनि झण्डै त्यही हालत छ । ७ नम्बरमा पनि कांग्रेसले आफ्नो जनमतलाई सम्हाल्न सकेन भने धक्का लाग्नेवाला छ ।

यसर्थ योपटक नेशनल एजेण्डामा स्थानीय चुनाव भइरहेको छ । त्यो नेशनल एजेण्डा के छ भन्दा नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि हिजो नाकाबन्दीका नाममा बाहृय आक्रमण भयो र भोलि पनि हुने खतरा छ । त्यसमा अड्ने, डट्ने, लड्ने भनेको अहिलेको दिनमा एमाले पार्टी हो भन्ने जनमानसमा परेको छ । स्वाभाविक रुपमा त्यो जनमत एमालेको पोल्टामा पुगेको छ ।

कांग्रेस र माओवादी सत्तामै छन् र उनीहरु संविधान संशोधनकै प्रक्रियामा छन् । संविधान संशोधन प्रक्रिया भनेको मधेसवादीहरुलाई मूलधारमा ल्याउने हो । ल्याउनु पनि पर्छ । तर, जुन ढंगले पृष्ठभूमि बनेको छ र भारतले चलखेल गरेको छ, त्यसले मधेसीहरु बाहेकका समुदाय, खासगरी बाहुन, क्षेत्री, जनजातिमा यो चुनावका बेलामा किन संविधान संशोधन भन्ने ‘इरिटेसन’ छ ।

मलाई के लाग्छ भने जुन स्थानीय एजेण्डामा कांग्रेसले हिजोका दिनमा चुनाव लड्यो र जति जित्यो, यसअर्थमा कांग्रेस भाग्यशाली पार्टी पनि हो किनकि उसका स्थानीय नेताहरु समाजसँग राजनीतिक रुपले नजोडिए पनि सामाजिक रुपले जोडिएका छन् । मर्दापर्दा, भेट्दा, नातागोताका कारण समाजिकरुपमा जोडिएकाहरुले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छन् । पार्टी जसले राष्ट्रिय मुद्दाबाट आफ्नो नेतृत्वको क्षमता र कला कौशलबाट जुन ड्राइभ गर्नु पर्ने हो, कांग्रेसमा त्यो अभियान नै देखिएन । यसको राजनीतिक रुपले एजेण्डा पनि खासै केही छैन ।

कांग्रेसले कस्तो खालको नेपाल बनाउन चाहन्छ ? त्यो पनि छैन । उसले केही सपना पनि बाँड्न सकेको छैन । सपना भन्नाले भोलि के गर्ने नेपालमा ? जसरी खड्ग ओलीजीले प्रधानमन्त्री हुँदा सपना बाँड्नुभएको थियो । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदै हुनुहुन्छ । तर, किन हुने वा म यसकारण प्रधानमन्त्री हुँदैछु भनेर उत्तर दिन सक्नु भइरहेको छैन । अब प्रधानमन्त्री भएपछि भन्नुहोला । तर, त्यो कर्मकाण्डी जस्तो हुन्छ ।

संक्षेपमा भन्दा अहिले जुन चुनावी परिणाम आयो, यसमा भू-राजनीतिको पनि प्रभाव छ । कांग्रेसको जुन केन्द्रीय बनोट छ, त्यसले खेल्नुपर्ने कलाकौशल पनि खेल्न सकेन । तर, पनि नतिजा जति खराब होला भन्ने अनुमान गरिएको थियो, त्यो भन्दा राम्रो आयो ।

हिजो भएको चुनावमा एमालेले ३ नम्बर प्रदेशमा करिव-करिव स्वीप नै गरेको भन्छु म । किनभने गाउँ पनि धेरै जितेको छ । काठमाडौं राजधानी जित्नु भनेको करिव आधा नेपाल नै जितेसरह हुन्छ । झण्डै-झण्डै चितवन पनि जित्दै थियो ।

ललितपुरको अनुभवः चाकडी गरेर टिकट माग्ने दिन गए

कांग्रेसले अद्भुद किसिमले लालकिल्ला भनेर चिनिने ललितपुर जितेको छ । त्यो कसरी सम्भव भयो होला ? बडो अचम्म छ । त्यहाँ के देखियो भने जातीय रुपमा प्रभाव भएका र सक्षम मानिसहरुलाई अगाडि सार्ने हो भने राष्ट्रियरुपमा बिगारिएका कुराहरु हुँदाहुँदै पनि स्थानीय स्तरमा चुनाव जितिँदोरहेछ ।

ललितपुरमा व्यञ्जनकार भन्दा महर्जन समुदायको भोट धेरै छ । स्थानीय स्तरमा चिरीबाबु मर्हजन पहिला काम गरेका र सक्षम पनि थिए । राष्ट्रवादका कुरा, स्थानीय एजेण्डा सबै कांग्रेसको पक्षमा नहुँदा नहुँदै र कांग्रेसले गरेका संस्थागत गल्तीहरुका बाबजुद उम्मेदवार लोकपि्रय र इमान्दार छ भने राष्ट्रिय मुद्दा नजोडिँदो रहेछ ।

मलाई लाग्छ, यदि कांग्रेसको नेतृत्वले आफ्नो राष्ट्रिय एजेण्डामा ‘क्याम्पेन’ गर्न सकेको भए दृश्य फरक हुन सक्थ्यो । आखिरीमा सबै नीतिभन्दा माथि त राजनीति हो नि । संवैधानिक के त्यस्तो बाध्यता आइपर्‍यो र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्‍यो ? आईजीपी किन जयबहादुर चन्द नै चाहियो ? त्यस्तै संविधान संशोधनको जुन प्रक्रिया चलिरहेको छ, यसले कसरी मुलुकको अखण्डता र राष्ट्रियतालाई कायम राख्न सक्छ । र, संविधान संशोधन गरेर मधेसवादी दलहरुलाई किन मुलधारमा ल्याउनुपर्छ भनेर कांग्रेसका होनहार नेताहरुले देशव्यापी ‘क्याम्पेन’ गर्न सकेको भए चुनावी परिणाम फरक पनि हुन सक्थ्यो ।

जहाँसम्म उम्मेदवार छनोट प्रणाली छ, यो कांग्रेसको आज देखिएको नयाँ समस्या होइन । कांग्रेस पार्टीमा कुनै सिस्टम छैन । त्यसैले चिरिबाबु महर्जनलाई कांग्रेस धेरै नेताहरुले चिन्दैनथे । शेरबहादुरजीले मात्र होइन, रामचन्द्रजीले पनि चिन्दैनथे होलान् । कुनै कारण चिरिबाबु सम्पर्कमा आएको भए चिन्थे होलान् । तर, त्यहाँ ज्यापु समुदायमा काम गरेको, ०३६ सालदेखि डेमोक्रेटिक फ्रन्टमा लागेको छ भन्ने चिन्दैनथे । किनभने चिरीबाबु कुनै पनि गुटमा थिएनन् ।

गुटमा नभएसम्म कांग्रेसमा कसैले पनि चिन्दैनन् । अरु पार्टीमा पनि त्यस्तै होला । तर, चिरीबाबुले के स्थापित गरिदिए भने मलाई नेताहरुले चिन्दैनन् तर, म जहाँ कांग्रेसको राजनीति गर्छु, त्यहाँका जनताले मलाई जिताउँछन् । उनलाई त पार्टी सभापतिले तिमी जित्दैनौं, छोड भन्दै थिए । उनले म जिन्छु भनेर पार्टी सभापतिसँग सय र लाख रुपैयाँको बाजी नै राख्नुपर्‍यो । यदि जित्दैन भनेर छाडिदिएको भए ?

त्यसैले म निचोडमा भन्छु, कांग्रेसको नेतृत्वमा सूचना लिने जुन प्रणाली छ, त्यो पूर्णरुपमा गलत छ । ठीक च्यानलबाट सूचना लिँदैनन् । नेताहरु आफ्नो आसपासमा रहने निहीत स्वार्थको जुन समूह छ, त्यसकै सूचनाका भरमा चल्छन् नेताहरु । त्यसैको परिणाम हो काठमाडौं महानगरमा व्यहोरेको हार ।

काठमाडौंमा उम्मेदवारी घोषणाकै दिन हारेको हो कांग्रेसले । किन त्यस्तो भयो भने यहाँ आफ्नो विशेष स्वार्थ भएका मानिसहरु धेरै छन् र उनलाई मेयर बनाएर आफ्नो राजनीतिक र पारिवारिक संरक्षण पनि गर्ने, आर्थिक जोहो पनि गर्ने स्वार्थले काम गरेको छ । तर, हारको पीडा भने काठमाडौंका असली कांग्रेसहरुले भोगेका छन् ।

कांग्रेसलाई अर्को चुनौती पनि छ कि उसले अब कार्यकर्ताको भरमा आफ्ना उम्मेदवारलाई चुनाव जिताउन सक्दैन । पब्लिक फेसमा आएर चिरीबाबु जस्तै आफ्नो समुदायमा काम गरेको, स्थानीय स्तरमा सामाजिक रुपले काम गरिरहेको मान्छे हुनुपर्छ । किनकि एमाले र माओवादीजस्तो नेपाली कांग्रेस ‘क्याडर बेस’ पार्टी होइन । कांग्रेसका नेताहरुले आफूलाई समाज र जनताका बीचमा कसरी स्थापित गराएको छ भन्ने महत्वपूर्ण हुन्छ ।

उम्मेदवार बन्ने व्यक्ति कतिको सामाजिक आन्दोलनमा जुटेको छ, जातीय आन्दोलनमा जुटेको छ कि छैन, नैतिकरुपमा कतिको स्थापित छ ? यी फ्याक्टरहरुले कांग्रेसको भोट आउने हो । म हिजो १० वर्ष जेल बसेँ, २० वर्ष नेताको छेउमा बसेँ भनेर भोट माग्ने दिन गए । त्यो भएको भए पोखरा, काठमाडौंमा जितिहाल्थे नि । हार्डकोर क्याडरलाई नै टिकट दिएको हो, अझ खोसीखोसी । तर, जितेनन् ।

त्यसैले कांग्रेसमा अब त्यो फेज सकियो । र, डेमोक्रेसीका लागि राम्रो भयो । किनकि मेरिट र क्षमता भएका मानिसहरु कार्यकर्ता मात्र बनेर बस्छन् भन्ने छैन । कांग्रेस र डेमोक्रेसीलाई मानेर बस्ने धेरै छन् । म कुनै समयको एक्टिभिष्ट हुँ । तर, त्यो डेमोक्रेसी चाहिन्छ भन्ने मिसनसँग जोडिएको थिएँ । जब गणतन्त्र आयो, मैले पार्टीको एक्टिभिष्ट भन्दा छुट्टै रुपमा आफूलाई लिएर गएँ । त्यसको अर्थ म अब डेमोक्रेटिक पोष्ट नै होल्ड गर्न अयोग्य छु भन्ने त होइन । यसलाई अन्यथा नलिइयोस्, मैले उदाहरण मात्र दिएको हो । यसको सार के हो भने अब कांग्रेसका नाममा मात्र टिकट दिएर भोट हाल्दैनन् ।

तर, एमालेमा अहिले पनि त्यो स्टेज बाँकी नै छ । किनभने उसका कार्यकर्ता देशभरिका विभिन्न सामाजिक संघसंस्थासँग जोडिएका छन् । चाहे त्यो उपभोक्ता समिति होस् कि वन समिति होस् वा साहित्यमार्फत ।

उनीहरुले बुझे, कि सामाजिक आन्दोलनको अभियन्ता भएर हामीले नेतृत्व लिन सक्दैनौं । तर, कमिटीमार्फत सक्छौं । उनीहरु कमिटीमा आवद्ध छन् र कमिटी-कमिटी उनेर एमाले पार्टी बनेको छ । त्यो सुन्दर सञ्जाल छ, जहाँ कर्मसँगै उनीहरु राजनीति पनि गर्छन् ।

स्थानीय चुनावः खतराको घण्टी हो, विपत आउनै बाँकी छ

कांग्रेसले बाँकी चुनावमा एउटा यस्तो सर्ट हाल्न जरुरी छ, जसले कांग्रेस पार्टीलाई चार्ज देओस् र राष्ट्रवादको धङधङीलाई सम्बोधन गरोस् ।नभए कांग्रेसका लागि यो चुनाव महेश आचार्यको शब्दमा जहाज माथि नै क्र्यास हुन्छ

पहिलो चरणको चुनावको अन्तिम परिणामसम्म पुग्दा आजको मितिमा ‘फोरकास्ट’ नै गर्न सकिन्छ, कांग्रेस कमजोर सकेण्ड पार्टी बन्दैछ । जस्तो- पहिलो संविधानसभामा मााओवादी ठूलो पार्टी र कांग्रेस दोस्रो पार्टी थियो । तर, कमजोर दुई नम्बर ।

दोस्रो चरणकै स्थानीय चुनावमा हेर्नुहोला, एक र पाँच नम्बरमा एमाले अगाडि रहन्छ । अब जति समय बाँकी छ, कांग्रेसले धेरै ठूलो चमत्कार गर्‍यो भने मात्रै आफूलाई एक नम्बरमा स्थापित गर्न सक्छ ।

तर, पहिलो चरणबाट के शिक्षा लिए ? कांग्रेसले के सोच्दैछ थाहा छैन । तर, सबैभन्दा ठूलो समीक्षा गर्न के जरुरी छ भने यो रिजल्ट कांग्रेसका लागि ‘वार्निङ बेल’ मात्रै हो । सिरियस ड्यामेज हुन आगामी दिन आउँदैछ, त्यो भनेको प्रदेशको चुनाव हो । त्यसपछि केन्द्रको चुनाव हो । र, त्यसमा कसैबाट सिरियस च्यालेन्ज छ भने त्यो एमाले नै हो ।

अबको विकल्पः रामचन्द्र पौडेल

अब नेपाली कांग्रेसले कसरी सोच्नुपर्छ ? उसले कसरी ‘रिभाइभ’ गर्न सक्छ ? यो गर्ने नेतृत्वले हो ।

गिरिजाबाबुलाई निश्चित थाहा थियो कि ०५६ मा चुनावमा म अगाडि सरेर लड्दा कांग्रेसले बहुमत ल्याउँदैन । हामी केही साथीहरु उहाँको सल्लाहकार थियौं । के गर्ने भन्दा सोच्यौं, नेपाली समाजमा त्यागको ठूलो महत्व छ । अहिले पनि महाभारत र रामायणभन्दा माथि गएको समाज छैन । गिरिजाबाबु धेरै पावर सेन्ट्रिक हुनुभयो, अब त्याग गर्नुपर्छ भन्ने थ्यौरी अगाडि आयो ।

त्याग गर्ने कसरी भन्दा म सत्ता लिन्नँ भनेर घोषणा गर्ने । यो ठूलो त्याग हो । भगवान रामचन्द्र त्यसै रामचन्द्र भएका होइनन्, उनले १४ वर्ष त्याग गरेका हुन् । हाम्रो समाजले अहिले पनि त्यागलाई सम्मान गर्छ । हामीले गिरिजाबाबुलाई तपाईले भोलिको प्रधानमन्त्री म हुन्नँ, कृष्णप्रसाद भट्टराई हुन् भन्नुस् भन्यौं । यसले रातारात भोट ‘स्वीङ’ भयो ।

त्यागी, तपस्वी र सन्त नेता भट्टराईलाई देख्दा यो देशमा भ्रष्टाचार हुँदैन भन्ने लाग्यो, जुन आरोपबाट गिरिजाप्रसाद कोइराला मर्माहत भइरहनुभएको थियो । उहाँको परिवार, उहाँमाथि लागेका आरोप सिफ्ट गर्नेवित्तिकै सुतिरहेको कांग्रेस हृवात्तै माथि आयो ।

अहिले शेरबहादुर देउवाको उमेर कति भयो थाहा छैन । शायद ७०/७१ वर्षको हुनुभयो होला । चौथो पटक प्रधानमन्त्री हुँदै हुनुहुन्छ । उहाँ पनि धेरै संघर्ष गरेको मान्छे हो । भाग्यबस नै भनौं, उहाँले अब स्थानीय, प्रदेश र केन्द्र गरी तीन चुनाव गर्ने मौका पाउनुभएको छ ।

म कांग्रेसको शुभचिन्तक भएर भन्दैछु- उहाँको छवि सुधार गर्नुपर्‍यो । यो देशमा शेरबहादुरजीको एउटा इमेज छ, जुन राम्रो छैन । त्यसैले कांग्रेसले बाँकी चुनावमा एउटा यस्तो सर्ट हाल्न जरुरी छ, जसले कांग्रेसीहरुलाई उर्जा देओस् । यसमा दुई वटा मिक्सर हुन जरुरी छ, एउटा कांग्रेस पार्टीलाई चार्ज देओस् । अर्को आम नेपाली जनताको राष्ट्रवादको धङधङीलाई सम्बोधन गरोस् । यी दुई एजेण्डा देशब्यापी रुपमा लहरका रुपमा ल्याउन सकेन भने (जुन अहिले सकिरहेको छैन र भोलि हुने पनि १० प्रतिशत मात्र सम्भावना छ) कांग्रेसका लागि यो चुनाव महेश आचार्यको शब्दमा जहाज माथि नै क्र्यास हुन्छ, यसका पार्टपूर्जा तल खस्छन् ।

महेशजीले ०५४ को स्थानीय चुनावको हारपछि भन्नुभएको थियो, जहाज माथि नै क्र्यास भयो, यसका पार्टपूर्जा तल खसेका छन् । यसलाई बटुलबाटुल पारेर फेरि बनाउनु पर्ला कुनै दिन । अहिले मलाई पनि यही लागेको छ ।

हामीले जुन ढंगले पृष्ठभूमिका कांग्रेस किन हार्‍यो ? र, भोलि के हुन्छ भन्यौं र कसरी जान सकिन्छ भन्यौं । यो सबै कुरामा दह्रो भूमिका कसको हुन्छ र यो सबै गर्ने को हो ? निश्चय नै कांग्रेस सभापति र केन्द्रीय कार्यसमिति नै हो ।

गिरिजाप्रसाद कोइरालासँग ०५६ मा राम्रो विकल्प थियो कृष्णप्रसाद भट्टराई । यद्यपि उहाँ शारीरिक र मानसिक रुपले त्यतिबेला धेरै तन्दुरुस्त हुनुहुन्नथ्यो । तर, पनि पब्लिकलाई रोडमोडल चाहिएको थियो ।

अहिले त्यस्तो छैन । फेरि यो पार्टी हो, धेरै तल गयो भने हाइरार्कीले पनि मान्दैन । पार्टी ब्यूरोक्रेसीले एउटा निश्चित ठाउँमा पुगिसकेकालाई मात्रै पत्याउँछ । त्यसैले अहिले मैले देखेको कृष्णप्रसाद भट्टराईको हाइटको नभए पनि भट्टराईसँग संगत र उनकै जस्तो लुक्स पनि आएको, अलिकति ‘रिजनल बायसनेस’ बाट माथि उठ्ने हो भने शेरबहादुरजीसँग अहिलेको विकल्प भनेको रामचन्द्र पौडेल नै हो ।

रामचन्द्र पौडेल किन हो ? एकछिन उनको पक्षमा कुरा राखौं ।

उनी लामो समय सत्तामा बसे, सभामुख चलाए, मन्त्री उपप्रधानमन्त्री भए । आजसम्म उनीमाथि जनताले यो नेता भ्रष्ट हो भनेका छैनन् ।

दोस्रो, आज कांग्रेसले केही कुरा पब्लिकलाई भन्नु परेको छ, हाम्रो स्ट्याण्ड यो हो, हाम्रो नीति यो हो र हाम्रो अबको संवैधानिक यात्रा यो हो । यसका लागि क्षमता र विश्वसनीयता हुनुपर्छ, आजको दिनमा यो दुबै गुण रामचन्द्र पौडेलसँगै छ ।

तेस्रो, नेपाली कांग्रेस ज्यादै मार्केट फ्रेन्ड्ली भयो, यसले सोसलिज्मलाई पनि छोड्यो, लोककल्याणलाई पनि छोड्यो भन्ने छ । जबका धेरै आर्थिक परिर्वतन त्यहीबेला भएको छ, यो भिन्नै कुरा हो । यसमा समाजवादप्रति बोल्दा भन्न पनि जान्ने, बोल्न पनि सक्ने र विश्वसनियता राख्ने रामचन्द्र पौडेल नै छन् ।

अर्को, रामचन्द्र पौडेल निम्न मध्यम वर्गीयबाट मध्यम वर्गीय परिवारमा उठेका छन् । आज पनि उनको लुक हेर्दा मध्यवर्गीय, अलिकति राष्ट्रवाद पनि बोकिरहेको जस्तो छ । उनको सही मूल्यांकन कांग्रेसभित्र पनि हुन सकेको छैन र इतिहासले पनि गर्न सकेको छैन । उनलाई तनहुँको सानो घेराभित्र बस्ने भनेर एक किसिमले ‘पेन्टेड’ गरिएको छ । अब त्यो हो भने त्यसबाट रामचन्द्रजी पनि माथि उठ्नुपर्‍यो ।

तर, आजको मितिमा शेरबहादुरजीले म चारपटक प्रधानमन्त्री भएँ, यो पनि मेरो साथी नै हो, सँगै जेल बसियो, संघर्षको लामो यात्रामा पनि सँगै थियो र आजको दिनमा पनि मसँगै छ । सेकेण्डम्यान भएर पनि सघाइरहेको छ भनेर ठूलो चित्त लिएर कांग्रेसलाई पुनर्जाग्रित गराउन पनि रामचन्द्रलाई अघि सार्न सक्नुपर्छ । होइन भने कांग्रेसलाई पुनर्जागि्रत गराउँछु भन्ने विश्वास हुनुपर्छ । भनेर मात्र भएन, तलसम्म विश्वसनीयता पनि हुनुपर्छ ।

मलाई के लाग्छ भने शेरबहादुरजीसँग त्यो फराकिलो छाती पनि छ । क्षेत्रीय गुण केही छ, त्यसै चार पटक प्रधानमन्त्री भएको होइन । उहाँ मेलमिलापवादी पनि हो, सबैलाई मिलाएर जान सक्नुहुन्छ ।

यदि उहाँले अब आफू पार्टी सभापति र प्रधानमन्त्री हुँदा सफल ‘स्टोरी’ बनाउन चाहनुहुन्छ भने यो ठूलो अवसर छ । रामचन्द्रजीलाई नयाँ ढंगले परिभाषित गरेर ‘क्याम्पेन’ अगाडि बढाउने हो भने अवसर छ । ढीलो हुँदै गयो भने त्यो मौका गुम्नेछ ।

हुन त कांग्रेसमा एक से एक नेताहरु छन्। नभएका होइनन्, गगन थापा नै छन् । देशब्यापीरुपमा उनको पहिचान पनि छ, इमेज बनेको छ । उनले पनि नयाँ ढंगले युवाहरुलाई अगाडि ल्याउन सक्छन् । तर, अहिले नै त्यहाँ कांग्रेस जान्छ जस्तो लाग्दैन । मोरङकै महेश आचार्य छन्, आजसम्म इमेज जोगिएका नेताहरुमै पर्छन् उनी पनि । झापाका कृष्णप्रसाद सिटौला पनि छन्, जसले माओवादी सशस्त्र विद्रोहलाई शान्तिपूर्ण रुपमा ल्याण्ड गराए । त्यसैले कांग्रेससँग रिसोर्सको कमी छैन र तर, स्वीकार्यता पनि हुनुपर्छ कांग्रेसीहरुको बीचमा ।

कांग्रेसले कि हाइरार्कीलाई स्वीकार्छ कि डाइनेस्टी । डाइनेस्टी आए पत्याइहाल्छ, शेखर आए पनि, शशांक आए पनि, सुजाता आए पनि, प्रकाश आए पनि स्वीकार गर्छ । तर, अहिलेको उपयुक्त विकल्प भनेको हाइरार्की नै हो । म यो कांग्रेसको शुभचिन्तक भएर भन्दैछु ।

अरु कारणले कांग्रेसलाई माया गर्नु पर्दैन । कांग्रेसले नेपालको बहुलवादलाई बोकेको छ । बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक कुरालाई कांग्रेसले बडो राम्रो ढंगले वीपीको पालादेखि बोकेको छ । अहिले एक ढंगले खड्ग ओलीजीका कुराहरु खराब नहोला, धेरै मान्छेहरुलाई राम्रो लाग्छ । तर, मधेसी समुदायलाई पनि मूलधारमा ल्याउने जिम्मेवारी त छ । के गर्ने ? त्यसै छाडेर देश विखण्डन हुन दिने ? उहाँलाई लाग्छ कि संविधान संशोधन गर्दा देश विखण्डन हुन्छ । तर, हामीलाई लाग्छ, संशोधन गरेर मधेसीहरुलाई मूलधारमा ल्याउँदा देश अखण्ड हुन्छ । नगर्दा बरु दीर्घकालीन समस्या हुन्छ । त्यो अर्थमा कांग्रेसले लिएको संविधान संशोधन गरेर पनि मधेसलाई मूलधारमा ल्याउँछौं भन्ने लाइन सुन्दर छ । कांग्रेसलाई मन पराउनु पर्ने कारण यो पनि छ । यो सुन्दरता कांग्रेसले छोड्नै सक्दैन । आफ्नो भोट बैंकलाई चिढ्याएर बोकिरहन्छ ।

हिजो माओवादीसँग वार्ता गरेर कांग्रेसले शान्ति प्रक्रियामा ल्यायो । एमालेसँग कार्यगत एकता गरेर ०४६ मा आन्दोलन गर्‍यो । आज मधेसीहरु जो यो देशका बोनाफाइड सिटिजन हुन्, पहाडीहरुभन्दा माथिकै नागरिक हुन् । तिनीहरुलाई मूलधारमा ल्याउने कांग्रेसको प्रयत्न आज खड्ग ओलीजीलाई पचाउन किन गाह्रो ? यसमा खड्ग ओलीजीले सहयोग गर्नु पर्ने हो । सहयोग गर्नुभएन भने छिनोफोनो चुनावबाट हुने भो ।

तर, तीन नम्बर प्रदेशमा जसरी हार भयो । ४ को पोखरामा पनि कांग्रेसले लुज गर्‍यो, यद्यपि ठूलो पार्टी भएर आएको छ । त्यो अन्त हुन्छ कि हुँदैन ? त्यसैले शेरबहादुरजीलाई अवसर आएको छ, कांग्रेसका नेता हुन्, देशको नेता हुने र सरकारको जिम्मेवारीमा प्रभावकारी काम गर्ने ।

रामचन्द्रजीलाई पनि चुनौती आउँदैछ, यदि शेरबहादुरजीले चुनौती दिनुभयो भने त्यसलाई उठाउन उहाँ तयार हुनुपर्छ । यो दुई नेताको कम्बिनेसनले नै हो कांग्रेसलाई पुनरागमन गराउने । तर, यो सजिलो पनि छैन ।

(प्रजातान्त्रिक धारका राजनीतिक विश्लेषक आचार्यसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले गरेको कुराकानी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment