Comments Add Comment

‘सुर्के थैलीदेखि कुटुमा-कुटुसम्म’, नेपाली फिल्ममा ‘धार’ होइन ‘ट्रेन्ड’ चल्छ


चलचित्र ‘लुट’ रिलिज हुनु भन्दा अगाडि नेपाली चलचित्रको अवस्था विजोग थियो । चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्ने तयारीमा थियो ।

तर, निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रले संकटकालको अवस्थालाई मात्र रोकेन, कथावस्तु भन्ने शैलीलाई नै फेरिदियो ।
नेपाली चलचित्रमा बोलिने भाषाहरु फिल्मी शैलीबाट दैनिक जीवनमा नेपालीले बोल्ने भाषा जस्तो बन्न थाले । सो समयमा नेपाली समाजमा बोल्न नहुने शब्द भनिने शब्दहरु पनि चलचित्रमा प्रयोग भए । त्यसकै निरन्तरताको रुपमा चलचित्र ‘चपली हाइट’ पनि निर्माण भयो, जसले कमालको व्यापार गर्‍यो ।

‘लुट र चपली हाइट’ रिलिज भएपछि, नेपाली चलचित्रमा २ समुह देखियो । जसले आफ्नो अस्तित्वको लडाइका लागि केही बर्ष एक अर्काप्रति आरोप र प्रत्यारोप लगायो । जसलाई, धेरैले ‘मुलधार र फरक धार’को रुपमा वुझे र यस्तै भन्न थाले ।

‘लुट र चपली हाइट’ पछि नेपाली चलचित्रमा छाडा शब्द, अभिनेत्री नंग्याइएका चलचित्रहरु बन्न थाले । जसको उदाहरण ‘एटीएम, जीगीलो, बर्बाद’ लगायतका चलचित्रलाई पनि लिन सकिन्छ ।

तर, यी चलचित्रले नेपाली चलचित्रको अस्तित्व नै संकटमा पार्ने अवस्था आयो । नेपाली चलचित्रमा अश्लिलता भित्राएको आरोप ‘लुट र चपली हाइट’लाई लाग्दै आएपनि यसलाई यो चलचित्रका निर्माता तथा निर्देशकले स्विकार गरेका छैनन् ।

नेपाली चलचित्रमा केही बर्ष अगाडि सुरु भएको ‘धार’को लडाई अहिले हराउँदै गएको छ । अहिले धार भन्दा पनि जुन चलचित्रले व्यापार राम्रो गर्छ त्यसकै पछाडि लाग्ने क्रम बढेको छ ।

चलचित्र ‘वडा नम्बर ६’का लागि संगीतकार राजनराज सिवाकोटीले ‘सुर्के थैली खै’ बोलको गीत बनाए । यो गीत बम्पर हिट भयो । निर्माण भएको २ बर्ष बढी भैसक्दा पनि बिहे, पार्टी र पिकनिकमा यो गीत घन्किन्छ ।

यही गीतबाट नेपाली चलचित्रमा फेरि एकपटक लोकलयका गीत संगीत भित्रिए । चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ बोलको गीतमा नृत्य गरेर दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जस्ता कलाकार घर-घरमा छाए ।

अहिले त लोक लयमा आधारित गीत चलचित्रका लागि पर्याय नै बनेका छन् । केही दिन अगाडि मात्र रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । यो लोकलयमा आधारित गीतमा नृत्य गरेका छन्, ‘लुट, लुट २’ जस्तो फरक धारको चलचित्र बनाएको भनेर चर्चित बनेका निश्चल बस्नेतले ।

नेपाली चलचित्रमा ‘धार’ होइन, ‘ट्रेन्ड’ चल्छ भन्ने देखिएको छ । अहिले लोकलयमा आधारित गीतमा ‘फरक धार र मुलधार’का भनिने कलाकार, निर्देशक, निर्माता समेत छमछमी नाचिरहेका छन् ।

चलचित्र ‘कमलेको बिहे’मा समावेश ‘टाकन टुकन’ बोलको गीत पनि अहिले चर्चामा छ । यो चलचित्रलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । फरक धारको भन्दै ‘स्वर’ नामक चलचित्रबाट प्रशन्न यो क्षेत्रमा आएका थिए ।

नयाँ पुस्ताकी आशातित नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले ‘ए मेरो हजुर २’मा समावेश ‘किनिदेउन साइला दाइ’ बोलको गीतको भिडियोमा गजबको नृत्य गरेकी छिन् । बसन्त सापकोटाले यो गीत तयार पारेका हुन् ।

‘लुट र चपली हाइट’ले बसालेको ट्रेन्डलाई केही निर्माता निर्देशकले सकेर वा नसकेर पच्छ्याए । राजनराज सिवाकोटीसँग मिलेर निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले बसाएको लोकलयको गीतको ट्रेन्ड नेपाली चलचित्रमा अहिले पछ्याउन थालिएको छ ।

‘फरक धार र मुलधार’को घमण्ड नेपाली चलचित्रमा लामो समयसम्म टिक्न सकेन । होइन भने ‘लुट २’का निर्माता माधव वाग्लेले दीपकराज गिरी र दीपाश्रीले बनाएको चलचित्र ‘छक्का पन्जा’को व्यापारिक रेकर्ड तोड्ने नै मेरो उद्देश्य हो भन्नुपर्ने थिएन ।

घमण्ड नगरौ, नेपाली चलचित्रमा ‘धार’ होइन ‘ट्रेन्ड’ चल्छ । जुन, कुरा बजारमा बिक्छ अन्यले पनि त्यसलाई पछ्याएका छन् । अहिले लोकलयका भाका चलचित्रमा हिट छ, धेरैले त्यसलाई पछ्याएका छन् । कुनै बेलामा नायक राजेश हमालको ‘हे…’ हिट थियो, त्यसलाई धेरैले पछ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment