Comments Add Comment

७ महिला नेतृले गुहारे ‘देउवा’

जेष्ठ ३०, कैलाली । नेपाली काँग्रेस कैलालीका तर्फबाट धनगढी उपमहानगरपालिकाको उपमेयरका आकांक्षी रहेका महिला नेतृहरुले आफूहरुमाथि पार्टीले अन्याय गरेको आरोप लगाएका छन् ।

पार्टीले मेयरका आकांक्षी सुशिला मिश्र भट्टलाई उपमेयरको टिकट दिइएको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।

नेपाली काँग्रेस कैलालीले स्थानीय तहको एक व्यक्ति, एक पदको निर्णय गर्दै मेयरको पदमा आकांक्षी व्यक्तिलाई उपमेयरमा पनि आकांक्षी हुन नपाउने, अथवा एउटा व्यक्तिले एउटै पदमा मात्र आकांक्षी हुन पाउने भन्दै सबै आकांक्षीहरुबाट पद दर्ता शुल्क समेत उठाएको थियो ।

धनगढी उपमहानगरपालिकाको उपमेयरका आकांक्षी भएकाहरुसंग सल्लाह र सहमति नै नलिई मेयरकी आकांक्षी भट्टलाई उपमेयरको उम्मेदवार बनाएको भन्दै उपमेयरका सातै जना आकांक्षीले बिरोध जनाउदै नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएका छन् ।

बिरोध जनाउनेहरुमा उपमेयरका आकांक्षीहरु नेविसंघ पूर्व महाधिबेशन प्रतिनिधि सुनिता राना, महिला संघ क्षेत्रीय प्रतिनिधि गौरी लामा, महिला संघ नगर सभापति जागृती बोगटी, तरुण दल महाधिबेशन प्रतिनिधि जीवन राना छन् ।

त्यस्तै नेविसंघ पूर्व केन्द्रीय सदस्य रक्षा महरा, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि पुष्पा भट्ट र नेपाली काँग्रेस कैलालीकी पूर्व जिल्ला समिति सदस्य जानकी जोशीले पनि उजुरी गरेका छन् ।

उनीहरुले लामो समयदेखि धनगढीका बिभिन्न आन्दोलन र पार्टीका गतिबिधिमा संलग्न भएकाहरुलाई पाखा लगाएको भन्दै आपत्ती जनाएका छन् । साथै उनीहरुले एक पद, एक व्यक्तिको निर्णय लागु गर्न समेत पार्टीलाई आग्रह गरेका छन् ।

उपमेयरमा कसरी छानिइन भट्ट ?

मेयरकी आकांक्षी सुशीला मिश्र भट्टले शुरुदेखि नै मेयर बाहेक अन्य पदमा आफूले उम्मेदवारी नदिने अडान लिदै आएकी थिईन । सोही अनुरुप उनले मेयरका लागि भन्दै पार्टीमा दर्ता शुल्क तिरेर नाम समेत लेखाएकी थिईन ।

नेपाली काँग्रेस केन्द्रीय कमिटिले उम्मेदवारहरु छनौट गर्ने क्रममा अन्तिमसम्ममा समेत मेयरमा नृप वड र उपमेयरमा जीवन रानाको नाम थियो ।

सभापति शेरबहादुर देउवा, नेताहरु पूर्व गृहमन्त्री बिमलेन्द्र निधी, पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले जीवन रानालाई उपमेयर बनाउन दवाव दिएका थिए ।

मेयरका उम्मेदवार नृप वड, नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनु, सांसद ईश्वरी न्यौपाने र सांसद पुष्कर नाथ ओझा रानाको विपक्षमा थिए ।

तिनै नेताहरुले शुरुमा रानालाई उपमेयरमा उम्मेदवारको आकांक्षी बनाउन दवाव दिएका थिए । सांसद ओझाले नै कृष्ण बहादुर महरालाई मेयरको आकांक्षी बनाएका थिए । तर, रातारात परिवर्तन भएका सांसद ओझाले कृष्ण बहादुर महराको साथ मात्र छोडेनन, वडलाई समर्थन गर्दै उपमेयरमा रानालाई समेत रोक्न सफल भए ।

त्यहीवीचमा सांसद ओझा, सभापति शाह, सांसद न्यौपानेले रानालाई उपमेयरमा रोक्न मेयरकी आकांक्षी भट्टलाई आग्रह गरे । उम्मेदवारको निर्णय हुनु केही दिनअघिसम्म पनि भट्टले उपमेयर उम्मेदवार नबने बताइरहेकी थिइन् । उनले आफूलाई मेयरको उम्मेदवार नबनाउने भए अरु कुनै पदमा उम्मेदवारी नदिने समेत अडान लिएकी थिइन् ।

मेयरमा नृप वड र उपमेयरमा रानाको टुंगो लागिसकेको र लिखित निर्णय हुन मात्र बाँकी थियो । त्यही टुंगोका आधारमा मेयरका उम्मेदवार वडलाई जिल्लामा खटाएका सभापति शाह र सांसद न्यौपाने भने रानालाई उपमेयरमा रोक्नकै लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा निर्णय बाहिर नआउञ्जेल धर्ना दिएर बसेका थिए ।

अन्ततः उनीहरु रानालाई रोकेर भट्टलाई उपमेयरको उम्मेदवार बनाउन सफल भए । रानालाई उनीहरुले मेयरका आंकाक्षी कृष्ण बहादुर महराको पक्षधर भएकै कारण रोकेको आरोप लगाइएको छ ।

जीवन राना नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको महाधिबेशन प्रतिनिधि हुन् । उनी राना थारु समाजको केन्द्रीय अध्यक्ष समेत हुन् । राना थारु समुदायबाट पहिलो स्नातकोत्तर राना अहिले पिएचडीको अन्तिम चरणमा छिन् ।

धनगढी उपमहानगरपालिका भित्र थारु समुदाय (राना र चौधरी) को कुल जनसंख्याको ४४ प्रतिशत जनसंख्या छ । पहिलो स्थानीय निकायको निर्वाचन २०४९ मा नेपाली काँग्रेसले राना समुदायबाट उजागर रानालाई उपमेयरको टिकट दिएको थियो । र उक्त निर्बाचनमा काँग्रेसका मेयर किशोर बम र उपमेयरका उम्मेदवार उजागर रानाले जितेका थिए ।

२०५४ को स्थानीय निकायको निर्बाचनमा काँग्रेसले पुनः बमलाई मेयर र उपमेयरमा मनिराम देवललाई उठाएका थिए । जुन निर्बाचनमा काँग्रेसले मेयर र उपमेयर सहित अधिकांश वडा अध्यक्ष गुमाएको थियो । काँग्रेसलाई पराजीत गर्दै एमालेका खेमराज पाण्डेय मेयर र नारदमुनी राना उपमेयरमा बिजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment