+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डोल्पाको लेकमा यार्सा टिप्ने लस्कर (फोटो फिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ असार ४ गते १:३०

मनै लोभ्याउने सफा हिमालको काखमा विशाल फाँट छ । तर, त्यो सौन्दर्यको वास्तै नगरी मान्छेहरु बच्चा बामे सरे झैं हात–गोडा टेकेर जमिनमा केही खोजिरहेका छन् । बकुल्लाले माछा ढुके झैं खूब ध्याउन्न छ र भुइँ खोस्रिने गति तीव्र छ ।

यो दृश्य हो माथिल्लो डोल्पामा पर्ने थाङ्बोचे फाँटको । यार्सागुम्बा टिप्न यो सिजनमा यहाँ बर्सेनि मान्छेहरुको लस्कर देखिन्छ । वर्षभरिलाई पुग्ने आम्दानीको जोहो गर्न बहुमूल्य यार्साको खोजीमा तल्ला भेगका बासिन्दा यसैगरी उपल्लो भेगतिर उक्लिने गर्छन् । घरबाट रासनपानीको बन्दोबस्त गरी यार्सा टिप्नेहरु हप्तौंको लागि लेकतिर उक्लिँदा गाउँ नै रित्तिन्छ ।
समुद्री सतहबाट ५ हजार २ सय मिटर उँचाइमा रहेको थाङ्बोचेमा अहिले यार्सा टिप्नेहरुको भिडले छपक्कै ढाकिएको छ । विगत वर्षहरुमा यस्तो भिड अझ बढी हुन्थ्यो । तर, यार्सा पाइने क्रम बर्सेनि घट्दै गएपछि मान्छेहरुको चाप घट्दै गएको छ । कतिपय त दिनभर खोज्दा पनि साँझ रित्तो हात हुने गरेका छन् ।यार्साको खोजीमा निस्किँदा कैयौं आमाहरुले काखे बच्चा च्याप्दै भारी कस्छन् भने स्कूले केटाकेटी समेत अभिभावकहरुको पछि लाग्दा कतिपय ठाउँमा विद्यालयहरु महिना दिनसम्म बन्द हुन्छन् । स्थानीयहरु यार्सा टिप्न गएपछि यतिबेला डोल्पाका साथै रुकुम, जाजरकोटका केही गाउँ सुनसान छन् ।

जेठ र असार यो दुई महिनो शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतका हिमाली फाँटमा यार्सा संकलनकर्ताहरुको मेला नै लाग्छ । यार्सा संकलनका लागि निकुञ्जले कतै जेठको पहिलो साता त कतै तेस्रो सातादेखि फाँटहरु खुला गरेको छ ।

यार्सा टिप्न निस्किएकाहरु एक महिनासम्म भुइँ खोस्रँदै यो हिमाली जडिबुटी बटुल्न व्यस्त हुनेछन् । यार्सा टिप्नका लागि अक्कर भिरमा ज्यानकै जोखिम मोल्नेहरुको कमी हुँदैन भने कतिपयलाई लेक लाग्ने गर्छ । यार्सा टिपिसकेपछि पनि राम्रो मूल्य नपाउने, चोरी तथा डकैती हुने समस्या पनि स्थानीयले खेप्ने गरेका छन् ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष फूर्वा लामाले यार्सा टिप्नका लागि मध्यवर्ती क्षेत्रका मानिससँग ५ सय, डोल्पा जिल्लावासीसँग २ हजार र अन्य जिल्लाकासँग ३ हजार रुपैयाँ शुल्क लिने गरेको बताए ।

थाङ्बोचे पुग्न डोल्पाको सदरमुकाम दुनैदेखि ५ दिनको पैदल यात्रा गर्नुपर्छ । नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती हो तराप बाट ५ घण्टा हिँडेपछि थाङबोचे आइपुग्छ ।

यस क्षेत्रको यार्सा अन्यत्रको भन्दा राम्रो हुने भएकाले मूल्य पनि बढी हुने गरेको छ । एउटा यार्साको मूल्य ५ सय रुपैयाँभन्दा बढी पर्ने संकलनकर्ताहरु बताउँछन् ।

गाउँ नै उल्टिएर जाने प्रवृत्तिले यार्सा पाइन छाड्यो
जितेन्द्र झाँक्री, यार्सा व्यापारी

विगत वर्षमा यार्सा संकलन गरेर मान्छेहरुले मनग्गे कमाइ गर्थे । पछिल्ला वर्षहरुमा भने धेरै जना ऋणमा डुब्ने गरेका छन् । यसो हुनुको कारण हो, पहिले जसरी यार्सा संकलन गर्न नसक्नु ।

तर, यसको अर्थ पहिले जस्तो आजकाल यार्सा पाइँदैन भन्ने होइन । पहिले यार्सा टिप्न थोरै मान्छे जान्थे । पछिल्ला वर्षमा भने गाउँ नै उल्टिएर जाने गरेको छ । यार्साभन्दा यार्सा टिप्नेहरु बढी ओइरिएपछि कसरी सबैले पाउनु ? विगतमा जस्तै यार्सा संकलन हुने आशले स्थानीयले अचेल ऋणपान गरेर भए पनि जाने गरेका छन् । तर, यार्सा नपाएपछि ऋणको भारी बोक्नुपर्ने अवस्था आउँछ ।

यार्सा संकलनमा जाने क्रममा सरकारले हामीसँग करवापत निश्चित शुल्क लिने गर्छ । तर, त्यो शुल्क उठाएर सरकारले केमा खर्च गर्ने गरेको छ, केही पत्तो छैन । संकलित रकम सदुपयोग भए जस्तो लाग्दैन ।

डोल्पाको यार्सा अन्य ठाउँको भन्दा राम्रो मानिन्छ । यहाँको यार्सा ठूलो र सुनौलो रङको हुने भएकाले बढी मूल्यमा बिक्री हुन्छ ।

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?