Comments Add Comment

५९ घन्टापछि सुरु भयो धरानको मतगणना

२२ असार, धरान । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।

बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएपछि मतगणना सञ्चालन हुने पक्का भएको हो । अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ ।

मतगणकका रुपमा रहेका दुई कर्मचारीले गरेको नियोजित गल्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलको आग्रहमा ती कर्मचारीहरु हाललाई निलम्बित भएको बताइएको छ भने अरू बाँकी ती कर्मचारीले कस्तो सजाय पाउने हुन् भन्ने यकिन भइसकेको छैन । गणना भइसकेको वडाको नतिजाअनुसार वडा नं १ र २ मा नेपाली काँग्रेसले सबै पद जितेको छ भने ३, ४, ५, ६, ७ र ८ वडामा नेकपा ९एमाले०ले जित निकालेको छ ।

धरान उपमहागनरको कुल ८० हजार मतदातामध्ये ५३ हजार ८१२ जना मतदाताले मात्र मतदानमा सहभागिता जनाएर मत हालेका छन् ।

धरानमा विसं २०६८ को जनगणना अनुसारका कुल मतदातामध्ये २६ हजार १८८ मतदाता मतदानमा सहभागी भएका छैनन् । ती सहभागी नभएका मतदातामध्ये अधिकांश वैदेशिक रोजगार वा शिक्षा आर्जनका लागि विदेशमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment