Comments Add Comment

कैलाश मानसरोवर यात्रा, हेर्नुस् १९ तस्वीर

प्रकृतिको काखमा शान्ति महसुस गर्न सकिने गन्तव्य प्रशस्त छन् । त्यसैमध्येमा पर्छ माउन्ट कैलाश पर्वत तथा मानसरोवर ।

पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भए पनि मानसरोवरको खास चिनारी धार्मिक तीर्थस्थलको हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ ।

त्यसो त तीर्थयात्रीहरु वर्षैभरि मानसरोवरको यात्रामा निस्किने गर्छन् । तर, त्यसमा पनि मानसरोवर जाने मुख्य सिजन जेठ-असार महिना हो ।

तिब्बती भूभागमा पर्ने मानसरोवर चीनबाट सहजै पुग्न सकिन्छ । नेपाल भएर जान भने पछिल्लो समय हुम्लाको सिमीकोट एकमात्र प्रवेशद्वार रहेको छ । ०७२ को भूकम्पअघि नेपालका अन्य नाकाबाट पनि मानसरोवर जाने गरिन्थ्यो । सिमीकोटमा वर्षैपिच्छे तीर्थयात्रुको घुइँचो बढ्दो छ ।

गत वर्ष करिब ९ हजार तीर्थयात्री मानसरोवर गएकोमा यसपाली यो संख्या दोब्बरभन्दा पनि नाघिसकेको छ । तीर्थयात्रीको चाप बढेपछि हुम्लामा हवाईजहाज तथा हेलिकोप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको छ ।

सिमीकोट नागरिक उड्डयन कार्यालयका अनुसार, यो वर्ष सिमीकोटमा अहिलेसम्मकै सबैभन्दा बढी फ्लाइट -१३५ उडान र १३३ अवतरण) भएको छ ।
मानसरोवर जाने तीर्थयात्रीको संख्यासँगै हवाईजहाज तथा हेलिकोप्टरहरुको चाप बढेपछि हुम्लाको सिमीकोट एयरपोर्टमा बेलाबेला पार्किङकोे समेत समस्या हुने गरेको छ । त्यो समस्या समाधान गर्न सिमीकोट विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढाइसकेको उड्डयन कार्यालयका वरिष्ठ अधिकृत लीलाप्रसाद श्रेष्ठले जानकारी दिए ।

कसरी पुग्ने ?

मानसरोवरमा नेपाल भएर जान विगत वर्षमा तीर्थयात्रीले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका प्रयोग गर्ने गरेका थिए । तर, दुई वर्षअघिको भूकम्पले दुवै नाका बन्द भएपछि हुम्लाको सिमीकोट नै मानसरोवरको प्रवेशद्वार बनेको छ ।

नेपालगञ्जदेखि सिमीकोटसम्मको हवाई यात्रासँगै सुरु हुन्छ, मानसरोवर अर्थात् कैलाश यात्रा । सिमीकोटदेखी तीन दिनको पैदलयात्रापछि कैलाश पर्वतको धार्मिक स्थल पुगिन्छ । तर, अहिले सिमीकोटबाट नेपाल र चीनको हिल्सा नाकासम्म हेलिकोप्टरमा जान सकिन्छ । हिल्सा नाकादेखि कैलाशसम्म जिप तथा बसबाट जाने सुविधा छ ।

तर, कैलाश यात्राको लागि भीसा लगाउन समस्या हुने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । यस्तो समस्या हुँदा नेपाल र तिब्बतको सिमाना हुम्लाको लाप्चा नाकाबाट कैलाशको दर्शन गराउन सके नेपालको पर्यटन प्रवर्द्धन हुने उनीहरुको भनाइ छ ।

सिमीकोटको विमानस्थलमा अहिले नेपालगञ्जबाट तारा एयर, गोमा एयर, सीमि्रक एयर र सीता एयरले उडान गरिरहेका छन् । सिमीकोटदेखि हिल्सा नाकासम्म माउन्टेन एयर, मनाङ एयर, सीमि्रक एयर, श्री एयर लगायत हेलिकोप्टरले यात्रु लैजाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment