Comments Add Comment

यसरी उठाउनुहोस् मनसुनको मज्जा

कसरी रहने स्वस्थ्य, कसरी जोगाउने सौन्दर्य ?

झरी, धेरैको प्रीय सिजन । कोहि झरीमा बेपर्वाह भिज्न रुचाउँछन्, कोहि पानीको थोपा जमिनमा बज्रदा पैदा हुने आवाजमा सोचमग्न हुन रुचाउँछन् । यद्यपी यस सिजनमा स्वास्थ्य र सौन्दर्य सम्बन्धी अनेकन समस्याहरु देखापर्छ । प्रतिरक्षा क्षमता कमजोर हुने भएकाले खानेकुरा पच्दैन, छालामा संक्रमण देखिन्छ, रुँघा, ज्वरोले सताउँछ ।

खानपान र जीवनशैलीमा सर्तकता अपनाउने हो भने, झरीको आनन्द उठाउन सकिन्छ । यसका निम्ति केहि तयारी भने गर्नैपर्छ ।

मनसुनमा के खाने ?

– यो सिजनमा भिटामिन, मिनरल तथा पानी भएका खानेकुरा उपयुक्त हुन्छ ।

– दाल, सब्जी, कम बोसोयुक्त आहार सेवन गरौ, जसमा क्यालोरीको मात्रा सामन्य होस् ।

– प्रोटिनका साथै भिटामिन सि, ई, आइरन आदि खानामा सामेल हुनुपर्छ ।

– यस मौसममा प्याज र अदुवाको सेवन धेरै गर्नुपर्छ । भोजनमा रेसादार फल पनि लाभदायक हुन्छ ।

– कागतिबाट भिटामिन सि मिल्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

– यो सिजनमा पुदिनाको सेवन पनि लाभयदायक हुन्छ । यसले पाचन यन्त्र बलियो बनाउँछ ।

– सधै उमालेर सेलाएको पानी पिउनुपर्छ ।

मनसुन स्किन केयर

– छालामा टोनरको प्रयोग आवश्य गरौ । यसले छालाको पिएच सन्तुलन सहि हुन्छ र छाला चम्किलो हुन्छ ।

– मुख सफा गर्दा राम्रो मोश्चराइजरको प्रयोग गरौ ।

– यदि तपाईको छाला तैलिया छ भने वाटर बेस्ड मोश्चराइजर लाभदायक हुन्छ ।

– छालामा मृत्त कोशिकाको कारण  छालामा इन्फेक्सनको खतरा बढ्छ । त्यसैले हप्तामा दुई पटक एक्सफोलिएट जरुर गराउनुपर्छ ।

– मनसुनमा कृतिम गरगहनाको प्रयोग नगरौ, खासगरी तपाईको छाला संवेदनसिल छ भने । हावामा रहेको मोश्चराइजरले तपाईका छालामा संक्रमण हुनसक्छ ।

– तातो पानीले नुहाउनु हुन्न । तातो पानीले नुहाउँदा छाला कमजोर र ड्यामेज हुनसक्छ ।

मनसुन हेल्थ टिप्स

– मनसुनमा रोगको संक्रमण चाडै फैलने भएकाले खानपान, सरसफाईमा ध्यान दिनुपर्छ ।

– वासी, सडेगलेको, घरवाहिरको तथा फुटपाथमा राखिएको खानेकुरा सेवन गर्नु हुदैन ।

– खानेकुरा मात्र होइन, खाने भाँडा समेत सफा हुनुपर्छ ।

– चम्चा, चक्कु, चप वोर्ड आदि पनि सफा हुनुपर्छ ।

मनसुन फुट केयर

– झरीमा जुत्ता जोगाउन सकिएन भने छिटै फाट्ने, गन्हाउने समस्या हुन्छ । त्यसैले यसवेला जुत्ताको विशेष ख्याल राख्नुपर्छ ।

– झरीमा प्लाष्टिकको जुक्ता बढी उपयोगी हुन्छ । यसमा पानी नसोस्ने भएकाले खुट्टा सुरक्षित रहन्छ ।

– प्लाष्टिक जुत्ता प्रयोग गरिएको छ भने घर पुगेपछि सफा गरेर सुकाउनु पर्छ । नभए यो दुर्गन्धित हुन्छ ।

– यदि कपडा वा छालाको जुत्ता भिज्यो भने घर पुग्नसाथ लेस निकालेर राम्ररी सुक्ने गरी घोप्टो पारेर राख्नुपर्छ ।

– छालाको जुत्ता लगाउन परे वाक्स पोलिस गर्नुपर्छ ।

मनसुनमा नगरौ यी पाँच गल्ती

१. मौसमको लागि तयार नहुनु
जुनसुकै समयमा आकस्मिक पानी पर्न सक्छ । यसका लागि तयारी नहुनु ठूलो भूल हो । सधै छाता वा रेनकोट तयारी अवस्थामा राख्नुपर्छ । पानीमा भिज्दा चिसो वा रुँघा लाग्न सक्छ । यसले तपाईको निन्द्रा र दिनचर्या खल्बलिन सक्छ ।

२ तारेको भुटेको खानेकुरा
यस मौसममा त्यसै त पाचन प्रणाली कमजोर हुन्छ । त्यसमाथि चिल्लो, तारेको, भुटेको, मसेलदार खानेकुरा सेवन गर्नुभयो भने पचाउन गाह्रो हुन्छ । यसले तपाईलाई बिमारी पार्न सक्छ । त्यसैले सुपाच्य खानेकुरा सेवन गरौ ।

३. व्यायाम गर्न छाड्नु
पानी परेको बेला बाहिर हिँडडुल गर्न जाँगर चल्दैन । त्यसैले मर्निङ वाक जाने, व्यायाम गर्ने काम पनि यसले प्रभावित बनाउँछ । यद्यपी पानीकै कारण व्यायाम गर्न नछाडौं । घरमै भएपनि नियमित रुपमा व्यायाम गरौ ।

४. पर्याप्त पानी नपिउने
यस सिजनमा पर्याप्त पानी पिउनुपर्छ । यद्यपी हामी खासै पानी पिउन जाँगर चलाउँदैनौ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । दैनिक आठ गिलास पानी पिउनुहोस् ।

५. आवश्यक्ताभन्दा बढी सुत्नु
पानी परेको बेला सुत्नुको छुटै मज्जा हुन्छ । झरीमा ओछ्यान प्यारो लाग्छ । तर, निश्चित समयभन्दा बढी ओछ्यानमै पल्टिनु वा सुत्नु राम्रो होइन । यस किसिमको दिनचर्याले अपच, थकानसाथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ ।

रेन फ्याक्ट

वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको गुरुत्वाकर्षण बलको कारण अकाशवाट पानी थोपाको रुपमा जमिनमा खस्ने प्रक्रिया हो । जल चक्रमा वर्षाको प्रमूख भूमिका हुन्छ । वर्षाको परिमाण नाप्न वर्षाको मापक प्रयोग गरिन्छ ।

यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराईको आधारमा नापिन्छ । आकासवाट झरेको पानीको थोपा लगभग पूर्ण गोलाकार हुन्छ । ठूलो थोपा चेप्टो बन्दै जान्छ । सालाखाला वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ । पृथ्वीकै सवैभदा ठूलो थोपाहरु ब्राजिल र मार्सल टापुहरुमा अभिलेख गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment