+
+
Shares

टोमोथेरापी मेसिन भित्र्याउँदै वीर अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते १२:०२


काठमाडौं । दुई वर्ष लामो प्रयासपछि वीर अस्पतालले अत्याधुनिक प्रविधियुक्त टोमोथेरापी मेसिन भित्र्याउने भएको छ ।

वीर अस्पतालमा २० वर्ष पहिले सञ्चालनमा ल्याइएको कोबाल्ट मेसिन विग्रिएको छ । त्यसबाट विकिरण फैलन सक्ने जोखिम भएकाले अमेरिकन प्रविधियुक्त टोमोथेरापी मेसिन सञ्चालनमा ल्याउन लागिएको हो ।

अबको तीन महिनाभित्र मेसिन सञ्चालनमा ल्याउने गरी एक्युनी नामक अमेरिकन कम्पनीलाई आशय पत्र पठाइसकेको छ ।

मेसिन सञ्चालनमा आउनासाथ विरामीलाई विहान र बेलुकी गरी दुई सिफ्टमा सेवा दिने अस्पतालले जनाएको छ । ‘अबको तीन महिनामा सञ्चालनमा आउने गरी चौथो पटकको अथक प्रयासमा हामीले अत्याधुनिक प्रविधियुक्त टामाटोथेरापी मेसिन सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।

त्यसका लागि अमेरिकन कम्पनीलाई आशय पत्र समेत पठाइसकेका छौं’ वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले भने, ‘यो मेसिन सञ्चालनमा आएमा नेपालीहरुले दश हजार रुपैयाँ वा सो भन्दा न्युनतम शुल्कमा गुणस्तरीय सेवा पाउन सक्नेछन् ।’

करिब ४० करोड बराबरको मेसिन सञ्चालनमा आए वीर अस्पतालमा दैनिक ६० देखि ७० जना विरामीले गुणस्तरीय उपचार सेवा पाउने छन् । विपन्न नागरिकको हकमा भने अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्नेछ ।

हाल मेसिन अभावकै अभावमा वीर अस्पताल आउने विरामीहरुले अन्य अस्पतालमा जानु पर्ने बाध्य छ ।

क्यान्सर रोगहरुको उपचारमा प्रयोग गरिने टोमोथेरापी मेसिन संसरमै गुणस्तरीय तथा नयाँ प्रविधियुक्त मानिन्छ । टोमोथेरापीले क्यान्सररहित कोषिकालाई कुनै हानी नपुर्‍याइ नै प्रभावकारी रुपमा क्यान्सरको उपचार गर्न सक्छ ।

विचौलियाको अवरोध कायमै

टोमोथेरापी मेसिन खरिदका लागि अस्पतालले यसअघि नै टेण्डर प्रक्रिया अघि बढाएको थियो । तर व्यापारी, निजी अस्पताल तथा अस्पतालकै कर्मचारी लगायतका विचौलियाको सक्रियतामा मेसिन खरिदमा कठिनाई उत्पन्न भएको अस्पतालले जनाएको छ ।

‘नयाँ प्रविधियुक्त मेसिन अस्पतालमा ल्याउँदा कमिसन जाने डरका कारण विचौलियाहरुले रोक्न खोजेका छन्’ अस्पताल स्रोतले भन्यो ।

स्रोतका अनुसार अस्पतालमा मेसिन उपलब्ध गराउँदै आएको भेरियान्ट कम्पनीकै सक्रियतामा टोमोथेरापी मेसिन किन्नमा अवरोध सिर्जना भएको हो । भेरियन्ट कम्पनीले उपलब्ध गराउने भनेको लिन्याक मेसिनभन्दा टोमोथेरापी मेसिन उच्च गरणस्तरीय को भएको पाइएपछि अस्पतालले टोमोथेरापीमा जोड दिएको थियो ।

तर, भेरियन्ट कम्पनीको अर्को मेसिन टोमोथेरापी अमेरिकामा जाँचपासकै क्रममा रहेको र उक्त जाचपास पनि हुने नहुनेमा अन्यौल रहेको पाइएपछि अस्पतालले एक्युरी नामक अमेरिकन कम्पनीसित मेसिनको सम्झौता गरेको थियो ।

‘भेरियन्टले उनीहरुकै मेसिन किन्न दबाव दिएकोमा त्यो मेसिन पनि अर्को वर्ष मात्र नेपाल आउने भन्ने बुझिएपछि अस्पतालले एक्युरीमार्फत किन्न लागेको रहेछ’ , स्रोतले भन्यो, ‘त्यसैमा चित्त नबुझेपछि यो विवाद सिर्जना भएको देखिएको छ ।’

अस्पताललाई पायो ४० करोड बजेट

मेसिन खरिदकै लागि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट झण्डै ४० करोड रुपैया बजेट प्राप्त गरेको बताएको छ । तत्कालिन स्वास्थ्यमन्त्री गगन कुमार थापाकै सक्रियतामा अस्पतालले ४० करोड बजेट प्राप्त गरेको अस्पतालको भनाइ छ ।

‘दुईदुई पटक टेण्डर गर्दा समेत रकम फ्रिज भएपछि अर्थले रकम दिन मानेकै थिएन । तर, स्वास्थ्य मन्त्री थापाको स्वयं सक्रियतामा अर्थले यो बजट विनियोजन गरेको छ ।

त्यसैले यसपटक जसरी भएपनि मेसिन खरीद गर्नैपर्छ’ वीरका निर्देशक डा. बस्नेतले भने, ‘यसपटक पनि मेसिन खरीद गर्न सकिएन भने अब कहिल्यै सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?